कालोपत्रे गर्न बन्द गरिएको तम्घास-सिमलटारी सडक खुल्यो


८ जेष्ठ २०७६, बुधबार
kalopatre
फाइल फोटो

गुल्मी, ८ जेठ । गत शुक्रवारबाट बन्द भएको मदन भण्डारी राजमार्गको गुल्मीको तम्घास सिमलटारी सडकखण्ड सञ्चालनमा आएको छ ।

रेसुङ्गा नगरपालिका–४ स्थित छल्दी पनाह पुल नजिकै कालोपत्रे गर्न भन्दै जेठ ३ गतेबाट ६ दिनको लागि बन्द गरिएको सडक बुधवार साँझबाट सञ्चालन गरिएको मदन भण्डारी राजमार्ग कार्यालय गुल्मीले जनाएको छ ।

राजमार्गको तम्घास सिमलटारी प्यूठान सडकमा कालोपत्रे काम गर्न जेठ ८ गतेसम्मका लागि सम्पूर्ण ठूला, मझौला, साना सवारी साधानलाई पूर्णरुपमा बन्द गरिएको थियो । सडक बन्द भएपछि वैकल्पिक मार्गको रुपमा तम्घासबाट बाख्रेछेडा भाडगाउँ रातडाडा, अर्खले, डाँडाखर्क, स्याला, सेघा, सिमाघाट वस्तु हुलाके सडक प्रयोग गरेका थिए ।

राजमार्गको छल्दी पनाहको १७ सय मिटरमा सडक बन्द गरेर कालोपत्रेको काम गर्न लागिएको थियो । तम्घास सिमलटारी प्यूठान सडकको २९ किलोमिटर सडक कालोपत्रेको काम भइरहेको छ । ०७२ सालदेखि कालिका कन्ट्रक्सनले निर्माणको काम गर्दै आएको छ ।

यस वर्ष वैशाख सामान्तसम्म झण्डै ९ किलोमिटर गरी १६ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । सडकको साढे ५ मिटर चौडाई कालोपत्रे गर्ने काम गरिएको छ । राजमार्गको बिभिन्न चरणमा भएको ठेक्का सम्झौता अनुसार कुल ४६ करोड बढि लागतमा कालोपत्रे गर्ने काम भइरहेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७