भारतमा आजदेखि लोकसभा निर्वाचनको मतगणना हुँदै


९ जेष्ठ २०७६, बिहीबार
win

काठमाडौं, ९ जेठ । भारतमा आजदेखि लोकसभा निर्वाचनको मतगणना शुरु हुँदैछ । ५४५ सदस्यीय लोकसभामध्ये ५४३ स्थानका लागि भएको निर्वाचनको मतगणता आजदेखि शुरु हुन लागेको हो ।

विद्युतीय मेशिनमार्फत मतगणना हुने भएकाले आज साँझसम्ममा अधिकांश स्थानको नतिजा आउने अपेक्षा गरिएको छ । मतगणना स्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ । भारतीय निर्वाचन आयोगले मतगणनाका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेको जनाएको छ ।

सात चरणमा सम्पन्न निर्वाचन गत अप्रिल ११ बाट शुरु भई यही मे १९ तारिखमा सकिएको थियो । चुनावमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धन नै विजयी हुने मत सर्वेक्षणहरुले ठहर गरेका छन् ।

भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) बहुमत स्थानमा जित हात पार्ने देखिएको हो । सर्वेक्षणहरुले एनडीएले २ सय ८० देखि ३ सय सिट जित्ने अनुमान गरेका छन् । लोकसभामा बहुमतका लागि २ सय ७२ सिट आवश्यक पर्छ । सर्वेक्षणहरुको नतिजालाई आधार मान्ने हो भने नरेन्द्र मोदी फेरि प्रधानमन्त्री बन्ने निश्चित जस्तै देखिएको छ ।

भारतीय राष्ट्रिय कंग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन (युपीए) ले करिब १४० सिट जित्ने मत सर्वेक्षणमा देखिएको छ । यता सर्वेक्षणहरूले देखाएका नतिजालाई विपक्षी नेताहरूले अस्वीकार गर्दै आएका छन् ५ वर्षअघिको चुनावमा भाजपाले एक्लै २ सय ७२ स्थानमा जीत हात पारेको थियो । विपक्षी कांग्रेस ४४ सिटमा सीमित भएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७