मन्दिर लुट्न हात–हतियारसहित आएका आठ भारतीय डाका पक्राउ


९ जेष्ठ २०७६, बिहीबार
daka

धनुषा, ९ जेठ । मन्दिर लुट्ने योजनले बाइक चढेर हातहतियारसहित जनकपुर आएका आठ जना पेसेवर भारतीय डाकालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका–८ विहारकुण्डस्थित जानकी विहार कुटीमा बुधबार राति सवा ९ बजे सुन–चाँदीका गरगहना र नगद लुट्न आएका उनीहरुलाई प्रहरीले घेरा हालेर पक्राउ गर्न सफल भएको हो ।

पक्राउ गर्ने क्रममा प्रहरी र डाँका समूहबीच घम्साघम्सी भएको थियो । त्यस क्रममा गोली फायर गरी डाँकाहरु भाग्न खोज्दा जवाफमा प्रहरीले चलाएको गोली लागेर एक जना डाँका घाइते समेत भएको प्रहरीले जनाएको छ । घाइते हुने डाँका भारत विहार प्रदेश समस्तीपुर जिल्ला गोदुपुरका २० वर्षका छोरा रवि मल्लिक डुम रहेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिएका छन् ।

उनको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ । यस्तै पक्राउ पर्नेहरुमा विहार समस्तीपुर जिल्ला सिमरी ८ बस्ने २० वर्षका साहिल रजक, वडा नं. ३ बस्ने वर्ष २४ का अजितकुमार सिंह, भगवानपुर चकसीव वडा नं. ४ बस्ने २८ वर्षका सुजितकुमार राय, महोदीनगर वडा नं. ६ बस्ने ३० वर्षका अमिकुमार सिंह र त्यसै वडामा बस्ने २० वर्षका अमितकुमार यादव छन् ।

daka 1

यस्तै मधुवनी जिल्ला सहारघाट ५ बस्ने ३२ वर्षका रञ्जितकुमार भगत र वडा नंं ८ बस्ने वर्ष ३८ का पप्पु भन्ने सञ्जयकुमार सुमन छन् । सुमनलाई भने भाग्ने क्रममा मठिहानीबाट पक्राउ गर्न सफल भएको उपरीक्षक खनालले जानकारी दिए ।

उनीहरु बीआर ३२ एस ०८९५ र बीआर ३२ आर ८२१३ नम्बरको मोटरसाइकल र बीआर ०७ एजी १५८१ नम्बरको स्कुटर लिएर लुट्न जनकपुर पसेका थिए । डाकाहरुले लुट्न प्रयोग गरेका मेड इन यूएसए लेखेको पेस्तोल एक थान, त्यसमा प्रयोग हुने म्याग्जिन एक र गोली दुई थान, कटुवा पेस्तोल एक थान र त्यसको गोली एक थान, खुकुरी एक थान, मोबाइल तीन थान लगायत बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका डाकाहरुलाई बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । उनीहरु कुट्टीमा लुटपाट गर्न पसेको पूर्व सूचनाको आधारमा प्रदेश प्रहरी, संघीय प्रहरी र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले घेरा हालेर उनीहरुलाई पक्राउ गर्न सफल भएको उपरीक्षक खनालले बताएका छन् ।

पक्राउ परेकाहरु भारतमा पेसेवर डाका रहेको खुलेको उपरीक्षक खनालले बताएका छन् । उपरीक्षक खनालका अनुसार उनीहरुमाथि लुटपाट तथा खरखजाना ऐन कसुरमा कारबाही प्रक्रिया अघि बढाएको र थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७