पर्सामा हावाहुरी कारण एक जनाको मृत्यु


९ जेष्ठ २०७६, बिहीबार
Aina pani Rautahat 1522422729

वीरगञ्ज, ९ जेठ । हावाहुरीका कारण पर्सामा एक जनाको मृत्यु भएको छ । लाखौंको धनमालमा क्षति पुगेको छ । हावाहुरी पर्साको पकाहा मैनपुर गाउँपालिका १ धोरेकी १५ बर्षकी श्रुति सहनीको मृत्यु भएको हो ।

घर नजिकै रहेको सिमलको रुखको हाँगा भाँच्चिएर लाग्दा उनी घाइते भएकी थिइन् । वीरगञ्ज हेल्थकेयरमा उपचारपछि थप उपचारको लागि नेशनल मेडिकल कलेज वीरगञ्ज लैजाने क्रममा हिजो राति नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी अनन्तराम शर्माले जानकारी दिए ।

हावाहुरीले जिराभवानी गाउँपालिका ४ को मोटरसाइकल ग्यारेज र खाजा घर ४ वटा घरको छाना समेत उडाएको छ । पर्साको धोवीनी–१ पिपरा बस्ने अफताव पटेलले सञ्चालन गरेको कुखुरा फर्म भत्किएको प्रहरीले जनाएको छ ।

फर्म भत्किँदा फर्ममा रहेका १ हजार ५ सय कुखुरा र दाना १६ बोरा समेत नष्ट भएको छ । हावाहुरीले पटेलको फर्ममा ४ लाख रुपैयाँको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । हावाहुरीले पोखरिया बजार चौकमा ३ वटा बिजुलीको पोल ढालेका कारण त्यस क्षेत्रको विद्युत सेवा अवरुद्ध छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले दिएको तथ्याङ्क अनुसार केही प्रहरी कार्यालयको छानो उडाउनुको साथै भवन भत्किएका पनि छन् । अस्थायी प्रहरी पोष्ट पोष्ट सुपौलीको भान्सा घरको छाना, सीमा प्रहरी चौकी भिश्वा बञ्जारीको भान्छा घरको छाना उडाएको र पर्खाल भत्काएको छ ।

प्रहरी चौकी अमरपट्टी महिला ब्यारेकको ढोका भत्काएको, प्रहरी चौकी आशवारीको मेस भवन भत्किएको, प्रहरी चौकी धोरेको भान्सा घरको छाना उडाएको र प्रहरी चौकी प्रसौनीभाठाको ब्यारेकको झ्याल बाङ्गिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख रेवती ढकालले अधिकांश मातहतका कार्यालयमा भौतिक संरचनाको समस्या देखिएको र निर्माणका लागि पहल भइरहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७