इतिहासकै सबैभन्दा बढी आरोहीले ‘चुमे’ सगरमाथाको चुचुरो

६६ वर्षको अवधिमा आठ हजारा बढी पर्वतारोही सगरमाथा शिखरमा


९ जेष्ठ २०७६, बिहीबार
Everest

काठमाडौं, ९ जेठ । सगरमाथा आरोहणको वसन्त ऋतुको याममा इतिहासकै सबैभन्दा बढी आरोहीले सगरमाथाको चुचुरो चुमेका छन् ।

पर्यटन विभागका अनुसार यस याममा जारी हिमाल आरोहणका क्रममा आजसम्म ३५० भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् ।

विभागको पर्वतारोहण शाखाका अनुसार यस याममा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका ३८१ ले आरोहण अनुमति लिएका छन् । सन् २०१८ मा ३८ आरोही समूहका ३४६ ले आरोहण अनुमति लिएका थिए । जसमा शेर्पा आरोहीसहित ७२१ ले सगरमाथा आरोहण गरेको विभागले जनाएको छ ।

यस्तै सन् २०१७ मा ४३ आरोही समूहका ३६६ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका थिए । यसअघि सन् २०१३ मा करीब पाँच सय र सन् २०१६ मा ४५१ जनाले सगरमाथा आरोहण गरेका थिए । सन् २०१४ मा हुदहुद आँधी र सन् २०१५ मा भूकम्पका कारण सगरमाथा आरोहण रोकिएको थियो ।

सगरमाथा आरोहण इतिहासमा यस पटक सबैभन्दा बढी आरोही सगरमाथा आरोहणमा गएका र हालसम्म ३५० भन्दा बढीले चुचुरो चुमेको विभागका निर्देशक मीरा आचार्यले जानकारी दिए । बिहीवार बिहान मात्रै ५० आरोहीले सगरमाथा आरोहण गरेको उनले जानकारी दिए ।

सगरमाथासहितका विभिन्न हिमाल आरोहण गर्न ९०० को हाराहारीमा स्वदेशी तथा विदेशी आरोहीले आरोहण अनुमति लिएका छन् । यस याममा कूल ११३ आरोही समूहका ८६८ आरोहीले आरोहण अनुमति लिएको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण गत वैशाख ३१ गते शुरु भएको थियो । तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन आठ हजार ८४८ मिटर अग्लो विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक पाइला टेकेका थिए ।

त्यसयता ६६ वर्षको अवधिमा आठ हजारभन्दा बढी पर्वतारोही शिखरमा पुगिसकेका छन् । आरोहणकै क्रममा अहिलेसम्म करीब २९० आरोहीले ज्यान गुमाएको तथ्यांक छ । आरोहण श्रृंखलामा नयाँ नयाँ कीर्तिमान पनि कायम भएका छन् ।

यसै याममा कामिरिताले बनाए नयाँ कीर्तिमान

सगरमाथा आरोहीको संख्याका साथै आरोहणमा नयाँ विश्व कीर्तिमान पनि कायम भएको छ । यस याममा कीर्तिमान आरोही कामिरिता शेर्पाले यही जेठ ७ गते २४ औं पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका हुन् ।

शेर्पाले यसअघिको आफ्नै २३ औं पटकको सगरमाथा आरोहणको कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएका हुन् । यसअघि आरोही शेर्पाले जेठ १ गते सगरमाथाको २३ औं पटक आरोहण गरेका थिए ।

उनले सात दिनको अवधिमै फेरि सगरमाथाको आरोहण गरेका हुन् । सोलुखुम्बुको थामेगाउँमा जन्मिएका ४९ वर्षीय कामिरिताले आगामी वर्ष २५ औं पटक सगरमाथा आरोहण गरेर सन्यास लिने पनि बताएका छन् । यसअघि आप्पा शेर्पा र फुर्वा टासी शेर्पाले २१ पटक सगरमाथा आरोहण गरी कीर्तिमान बनाएका थिए ।

सगरमाथाको आधार शिविरबाट सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले दिएको जानकारी अुनसार दुई दिनयता बाक्लो संख्यामा आरोहीले सगरमाथा आरोहण गरेका हुन् । केही आरोही फर्कदै छन् भने एक–दुई दिनमै सबै आरोही सगरमाथाको चुचुरो पुगिसक्ने उनले बताए ।

नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले यस वर्षको आरोहण उत्साहजनक भएको बताए । मौसमले साथ दिए अबको तीनदेखि चार दिनभित्र धेरै संख्यामा आरोहीले सगरमाथाको आरोहण सक्ने उनले बताए । आरोहणमा गएका सबै आरोही अहिले क्याम्प २ भन्दा माथि र केही समूह क्याम ४ मा पुगेका छन् ।

सगरमाथासहितका २८ हिमाल आरोहणका लागि नेपालसहित ४८ मुलुकका आरोही हिमाल आरोहणमा निक्लिएका थिए । यस याममा हिमाल आरोहणबाट करीब ५० करोड रुपैयाँ सलामी दस्तुर पनि जम्मा भएको छ । यसमा सबैभन्दा धेरै ४४ करोड ४२ लाख ४३ हजार रुपैयाँ सगरमाथाबाट मात्र छ । सगरमाथा आरोहणका लागि विदेशीलाई ११ हजार अमेरिकी डलर र नेपालीलाई ७५ हजार रुपैयाँ सलामी दस्तुर लाग्छ ।

नेपालमा हाल पाँच हजार ८०० मिटर अग्ला ४०३ वटा हिमाल आरोहणका लागि खुल्ला गरिएका छन् । भूगर्भ्विद डा. हर्क गुरुङको अध्ययन प्रतिवेदनअनुसार पाँच हजार ८०० मिटरभन्दा अग्ला १७ हजार हिमाल आरोहण योग्य छन् । एक हजार ३८९ हिमालको आरोहण खोल्न बाँकी छ । विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालमध्ये नेपालमा आठ वटा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७