मैले बोल्दा अप्ठ्यारो परिहाल्छ, तर, मिडिया विधेयक फिर्ता हुँदैन : प्रवक्ता बाँस्कोटा

‘सरकारले प्रेसको समृद्धि चाहेको हो, आरती खोजेको होइन’


९ जेष्ठ २०७६, बिहीबार
gokul baskota 1024x683 1

काठमाडौं, ९ जेठ । नेपाल पत्रकार महासंघको विरोध र नेपालका ठूला मिडियाका २१ सम्पादकहरुले मिडिया काउन्सिल विधेयक फिर्ता लिन सरकारलाई आग्रह गरिरहेका बेला सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सदनमा दर्ता भएको विधेयक फिर्ता नहुने अडान लिएका छन् ।

मन्त्रिपरिषदका निर्णय सुनाउन बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले विधेयकबारे संसदमा छलफल हुने तर फिर्ता नहुने दावी गरे । नेपाल पत्रकार महासंघलगायत संघसंस्थाले विधेयकमाथि दिएका सुझाव हेर्ने र बहस शुरू गर्ने उनले बताएका छन् । आफू धेरै बोल्यो कि अप्ठ्यारो परिहाल्ने बताउँदै उनले भने, ‘तर, विधेयक फिर्ता हुँदैन ।’

सरकारको चाहना प्रेस क्षेत्रको समृद्धि भए पनि सरकारले आरती भने नखोजेको बताए । सत्तारूढ नेकपाकै सचिवालय सदस्य वामदेव गौतम, नेता सुवास नेम्वाङ, पत्रकार महासंघ, सम्पादकहरूले विधेयक फिर्ता लिन माग गरे पनि बाँस्कोटाले फिर्ता नहुने दोहोर्‍याएका हुन् ।

सत्तारुढ नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले दुई दिनअघि मात्र पत्रकारहरुको ध्यानाकर्षणपत्र बुझ्दै विधेयक सच्चिने आश्वासन दिएका थिए । यता नेकपाका नेता भीम रावलले समेत विधेयक सच्याउनु पर्ने बताउँदै आएका छन् । नेकपाका शीर्ष नेताले नै सदनमा दर्ता भएको विधेयक पार्टीमा छलफल नै नभएको बताइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७