मोदीलाई विश्वभरको शुभकामना र वधाइ, कसले के भने ?


१० जेष्ठ २०७६, शुक्रबार
modi 1

काठमाडौं, १० जेठ । अत्यधिक बहुमतबाट विजयी भएकोमा भारतीय प्रधानमन्त्री मोदीलाई विभिन्न देशका प्रमुखले बधाई तथा शुभकामना दिएका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ट्विट गरेका छन्, ‘मेरा मित्र नरेन्द्र मोदी, प्रभावशाली चुनावी जितका लागि तपाईंलाई हार्दिक बधाई । यो परिणामले संसारको सबैभन्दा ठूलो लोकतन्त्रमा तपाईंको नेतृत्व प्रमाणित गर्छ । हामी मिलेर भारत र इजरायलको घनिष्ठ मित्रतालाई थप मजबुत बनाउनेछौं ।’

जापानी प्रधानमन्त्री सिन्जो आबेले फोन गरेर मोदीलाई सानदार जित हासिल गरेको भन्दै बधाई दिएका छन् । यसैगरी चिनियाँ राष्ट्रपति सी चिनफिङले प्रचण्ड बहुमत ल्याएको भन्दै बधाई दिएका छन् ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले लोकसभाको निर्वाचनमा सानदार विजयी भएकोमा बधाई दिएका छन् । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेले ट्विट गर्दै मोदीलाई बधाई दिएका छन् । उनले दुवै देशको प्रगतिका लागि मिलेर काम गर्ने विश्वास व्यक्त गरेका छन् ।

अफगान राष्ट्रपति अशरफ घानीले ट्विट गरी मोदीलाई बधाई दिएका छन् । उनले अफगानिस्तान र भारतबीच आपसी सद्भाव र सहयोग विस्तार गर्न तत्पर भएको बताएका छन् । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पनि मोदीलाई बधाई सन्देश पठाएकी छन् ।

अबुधाबीका युवराज शेख मोहम्मद बिन जायद अल नाहयानले पनि मोदीलाई बधाई दिएका छन् । यसैगरी भारतका लागि अमेरिकी राजदूत केन जस्टरले पनि बधाई दिँदै भारतसँग रणनीतिक साझेदार भएर काम गर्न तत्पर भएको बताएका छन् ।

२३ राज्यमा कांग्रेस शून्य
लोकसभा चुनावमा कांग्रेसको प्रदर्शन अत्यन्त खराब रह्यो । कांग्रेसले सन् २०१४ को निर्वाचनमा ४४ सिट जितेको थियो । आफ्नै सरकार भएका राज्य कर्नाटक, राजस्थान, मध्य प्रदेश र छत्तीसगढमा समेत कांग्रेसको लज्जास्पद हार भएको छ । उत्तर प्रदेशमा प्रियंका गान्धी र ज्योतिरादित्य सिन्धियालाई दिइएको जिम्मेवारीले पनि सफलता मिलेन ।

कंग्रेसले खाता खोल्न नसकेका राज्यमा जम्मुकास्मिर, अन्डमान निकोबार, आन्ध्र प्रदेश, सिक्किम, त्रिपुरा, गुजरात, हरियाणा, हिमाचल, उत्तराखण्ड, मिजोरम, मणिपुर, उडिसा, दिल्ली, चन्डिगढ, दादर एन्ड नागर हवेली, दमन द्वीप छन् । यसैगरी मध्य प्रदेश, बिहार, राजस्थान, महाराष्ट्र, उत्तर प्रदेश र पश्चिम बंगालका १–१ सिटमा कंग्रेस अगाडि छ ।
ओलीको बधाई मोदीलाई
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय लोकसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टीले सानदार जित हासिल गरेकोमा बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले मोदीलाई बिहीबार टेलिफोन गरी बधाई दिँदै आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप हार्दिकतापूर्ण हुने बताएका छन् ।

असल सम्बन्ध कायम हुने : इमरान
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ट्विट गरी प्रधानमन्त्री मोदीलाई बधाई दिएका छन् । उनले मोदीको दोस्रो कार्यकालमा दुवै देशबीच असल सम्बन्ध कायम हुने अपेक्षा गरेका छन् । उनले भारतसँग शान्तिवार्ता र कास्मिर विवाद समाधान हुने विश्वास व्यक्त गरेका छन् । विदेशी सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘भाजपा सत्तामा आए कास्मिर विवाद समाधान हुनसक्छ ।’ उनले दुई देशबीच कास्मिर प्रमुख समस्या भएको पनि चर्चा गरे ।

वार्ताका लागि पाकिस्तानले आवश्यक वातावरण पनि तयार गरेको उनले बताएका छन् । पाकिस्तानले जैश–ए–मोहम्मद लगायतका सबै आतंकवादी संगठनमाथि कारवाही गरेको उनले स्पष्ट पारे । उनले भने, ‘हामीले यस्ता गुटका धार्मिक स्कुल सरकारी नियन्त्रणमा लिएका छौं । सशस्त्र संगठनलाई पनि निःशस्त्र गराउने क्रममा छौं ।’ यी काम अरूको दबाबमा नभई पाकिस्तानको असल भविष्यका लागि गरेको उनले बताए ।

उनले ट्विट गर्दै लेखेका छन्, ‘म प्रधानमन्त्री नरेन्द्र मोदीको भाजपा र सहयोगी दललाई जितका लागि बधाई दिन्छु । दक्षिण एशियामा शान्ति, प्रगति र समृद्धिका लागि म मोदीसँग मिलेर काम गर्न आशावादी छु ।’ अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७