आठराईबासीसँग प्रधानमन्त्रीको जिज्ञासा : खमारेमा आँप र कटहर छन् कि छैनन् ?


१० जेष्ठ २०७६, शुक्रबार
pm oli 5

काठमाडौं, १० जेठ । प्रधानमन्त्रीलाई भेट्न आउजाउ गर्ने थुप्रै नेता, कार्यकर्ता, मतदाता, शुभचिन्तक हुन्छन् । बिहान सबेरैदेखि रातिसम्म दैनिक सयौं मानिसहरुसँग प्रधानमन्त्रीको भेटघाट र अन्तरक्रिया हुन्छ । तर बिहीबार बिहान प्रधानमन्त्री ओलीको करिब १५ मिनेटको भेटघाट भने बिल्कुल फरक रह्यो ।

सधैं राष्ट्रिय राजनीति र विकासका ठूला ठूला नीति र योजनाका बिषयमा छलफल हुने सो ठाउँमा प्रधानमन्त्रीले आफ्नो जन्मस्थानको चर्चा र बाल्यकालका साथीसंगीलाई सम्झना गरे । चुहानडाँडा विमानस्थलका लागि रकम माग गर्नका लागि आठराई गाउँपालिकाबाट एउटा समूह प्रधानमन्त्री निवासमा आएको थियो ।

त्यहाँ अधिकांश उतै आठराईमै बसोबास गरेकाहरु र केही झापा र राजधानीमा बसोबास गरिरहेका तर आठराईलाई माया गर्नेहरु थिए । आठराईमा विमानस्थलका लागि पैसा माग्न आएको समूहका बारेमा पूर्व जानकारी पाएका प्रधानमन्त्री ओली अनौपचारिक पोषाकमा नेकपाका महासचिब विष्णु पौडेल सहित बैठक कक्षमा प्रवेश गरे ।

‘के छ आठराईको खबर ?’ प्रधानमन्त्रीको जिज्ञासा थियो । आगन्तुक सबैले आठराई विमानस्थलका लागि रकम छुट्याउन माग गरे । ‘नीति कार्यक्रममा आइसकेको छ । बजेटका लागि चिन्ता नगर्नु’, प्रधानमन्त्री ओलीले भने ।

त्यसपछि प्रधानमन्त्री ओलीले आफूसँग भएको कलेजी रंगको डायरी पल्टाएर आठराईको एउटा सडकको योजना सनाए । सुकेपोखरी–छातेढुंगा–प्रणामी मावि इवा–भदौरे –बिजौरे आधारभूत विद्यालय हुवाकु–निगुरादिन–चोपुर हुँदै हाङपाङ स्कूल–शान्ति आधारभूत विद्यालय मिचिरिङ हुँदै दोभान–ठोट्ने हुँदै तेल्लाबुङसम्म सडकका लागि पनि यसपालि रकमको व्यवस्था हुन्छ ।
जन्मस्थान आठराई इवा छोडेको ५८ बर्षपछि पनि आठराईका चोकचोकमा नाम प्रधानमन्त्रीले फटाफट भनेको सुनेपछि आठराईबासीहरुले प्रधानमन्त्रीलाई अहिले पनि उही इवाकै छिमेकीकै रुपमा महसुस गरे ।

चुहानडाँडा विमानस्थलमा रकम माग गरिएको कागज लिएर प्रदेशसभा सांसद तेजमान कङ्दङ्वा प्रधानमन्त्री नजिक गए । तेजमानको हात समाएर प्रधानमन्त्री ओलीले महासचिव पौडेललाई चिनाउँदै भने ‘उ मेरो गाउँले भाइ हो । अहिले प्रदेश सभाको सांसद ।’ प्रधानमन्त्रीले फेरि सम्झिए, ‘अर्का तेजबहादुर कङदङ्वा पनि हुनुहुन्छ । वहाँ चाँही विर्तामोडमा हुनहुन्छ । तेजप्रसाद कङदङ्वा चाँही मेरै सामु हुनुहुन्छ ।’

प्रधानमन्त्री ओलीले बालसखा चन्द्र कन्दङवाको पनि सम्झना गरे । ‘मेरो बाल्यकालको साथी चन्द्र । म भन्दा सिनियर पनि हुन् तर पनि हामी साथी साथी थियौं । हामीले एकै दिन २०२६ साल फागुन १२ गते नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका । अर्का सूर्य कङदङवा त मेरा गुरु नै हुनुभो ।’ प्रधानमन्त्रीलाई आठराईबासीले भने, ‘हामीलाई पानीको चाँही सारै समस्या छ ।’

यति भनिसक्दा प्रधानमन्त्रीले आफूले बाल्यकालमा पानी खाने गरेको इवाकै चुच्चेधारो सम्झिए । ‘उ बेला चुच्चेधाराको पानी अञ्जंलीमा थापेर खान कम्ती मजा हुँदैन थियो’, प्रधानमन्त्रीले भने, ‘अहिले सुकेर तिर्र….मात्र पानी आउँदो रहेछ । ५ बर्षअघि आठराई गएको बेला चुच्चे धाराको रवाफ दिंदै श्रीमतीलाई पनि पानी खुवाउन लिएर गएको त पानी सुकिसकेछ । त्यसपछि आफै हिस्स परियो ।’

पानीको प्रसङ्गमा प्रधानमन्त्रीले संक्रान्तिको याकुम्बा गढी पनि स्मरण गरे । ‘गढी के भएछ त । त्यहाँबाट आरोलो लागेपछि त थुप्रै पानीका मुल थिए पहिला त’, उनले भने ।
प्रधानमन्त्रीको यो जिज्ञासा सुनेपछि आठराईबासीले नेपालका गाउँबस्तीमा पानीका मुल सुक्नाका केही गम्भिर कारणहरु एकपछि अर्को गर्दै प्रधानमन्त्री समक्ष राखे । पूर्व प्रधानअध्यापक आरसी थपलियाले शुरु गरे, ‘जतासुकै मोटरबाटो खनियो ।

यसले पानीको मुललाई धक्का दियो । मुलहरु अन्तै सरे ।’ भीष्म थपलियाले थपे, ‘भैंसी पाल्ने चलन हरायो । जसले गर्दा आहाल मासिए । आहाल नभएपछि पानी जम्मा हुन र रसाउन पाएन । पानीका मुल सुके ।’ टीका उप्रेतीले थपे, ‘पहिला जस्तो साउने झरी पर्न छाड्यो । त्यतिबेला साउने झरी हप्ता दिनसम्म बिस्तारै बर्सीरहन्थ्यो । त्यसले जमिनको भित्री भागसम्म पानी जान्थ्यो । अहिले दर्र…पानी पर्छ जमिनको सहतमै बगेर सकिन्छ ।’

भीम घिमिरेले अर्को कारण थपे, ‘अहिले सानो मुलकतै भेटिए मानिसले सुविधाका लागि पाइप घुसाएर घरमै पानी पु(याउँछन् । जसले गर्दा पानीको प्राकृतिक बहाव मासियो । अनि हामी काकाकुल भयौं ।’

प्रधानमन्त्री ओलीले आठराईमा एउटा फूटबल मैदानको प्रस्ताव गरे, ‘तपाईंहरुसँग छ भने जग्गा दिनुहोस् । हैन भने म जग्गा दिन्छु’, प्रधानमन्त्रीले सम्झिए, ‘छन् त चुहानडाँडामा उप्रेती टार, थपलिया टार ।’ त्यसपछि प्रधानमन्त्री इवाको भित्रिया र खमारेको बगैंचामा पुगे । भित्रिया र खमारेको बगैंचामा खाएका आँप र कटहरको चर्चा प्रधानमन्त्रीले गरे । ‘हरेक बर्ष असार २२ गते कटर टिप्ने दिन हुन्थ्यो’, प्रधानमन्त्री ओलीले भने, ‘मैले पनि धेरै पटक यहाँका आँप कटहर टिपेको छु । खाएको छु । अहिले छन् कि छैनन् भित्रिया र खमारेमा आँप कटहर ?’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७