प्रहरीबाट वडाध्यक्ष कुटिएपछि पुनर्वासमा तनाव, स्थानीयद्वारा चौकी तोडफोड


१० जेष्ठ २०७६, शुक्रबार
punarbas

कञ्चनपुर, १० जेठ । कञ्चनपुरको पुनर्वासमा एक वडाध्यक्ष प्रहरीबाट कुटिएपछि तनाव बढेको छ । नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष तुलसी अर्याल प्रहरीबाट कुटिएको भन्दै बिरोधमा उत्रिएका स्थानीयले प्रहरी चौकीमा तोडफोड गर्दै टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

प्रहरी चौकी डोके बजारमा बिहीबार राति ११ बजे स्थानीयको बिवाद सुल्झाउन पुगेका वडाध्यक्ष अर्याललाई प्रहरीले कुटपिट गरेपछि रातिदेखि स्थानीयले बिरोध प्रदर्शन गरिरहेका छन् ।
बिरोधमा उत्रिएका स्थानीयले धनगढी बेलौरी हुलाकी मार्गमा आवागमन ठप्प पारेका छन् ।

प्रहरी निरीक्षक कर्णबहादुर बमको आदेशमा आफूमाथि हातपात भएको वडाध्यक्ष तुलसी अर्यालले बताएका छन् । डोकेबजार प्रहरी चौकीमा आएको वादविवाद मिलाउन गएका अध्यक्ष प्रहरीबाट कुटिएका हुन् ।

आफ्नो जनप्रतिनिधि प्रहरीबाट कुटिएको भन्दै आक्रोशित स्थानीयले प्रहरी चौकी घेराउ गर्नुका साथै चौकी अगाडि टायर बालेर दोषीलाई कार्बाहीको माग गरेका छन् । विवाद उग्र हुने देखिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बाक्लो संख्यामा परिचालन गरिएको छ ।

घटनाको ११ घण्टा बित्दा समेत विवाद समाधानका लागि प्रशासन तथा उच्च प्रहरी अधिकारी घटनास्थलमा नपुगेको स्थानीयले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७