स्मृति इरानी : नरेन्द्र मोदीविरोधी अनशनदेखि राहुल गान्धीको गढ कब्जासम्म


१० जेष्ठ २०७६, शुक्रबार
Smriti Irani 2

काठमाडौं, १० जेठ । भारतमा नरेन्द्र मोदी सरकारकी मन्त्री स्मृति इरानीले अमेठीको नेहरू–गान्धी परिवारको अभेद्य किल्लामा भारतीय जनता पार्टीको झन्डा गाडिदिएकी छन् ।

कङ्ग्रेस पार्टीको वर्चस्व रहँदै आएको सो निर्वाचन क्षेत्रमा उनले सो दलका अध्यक्ष राहुल गान्धीलाई पराजित गरिदिएकी छन्। राहुल गान्धी त्यहाँबाट तीन पटक सांसद बनेका थिए । त्योभन्दा पहिले सो क्षेत्रबाट उनकी आमा सोनिया गान्धीले जितेकी थिइन् ।

Smriti Irani
PTI2_27_2018_000054B

त्योभन्दा पनि पहिलादेखि नै उत्तर प्रदेशको यो निर्वाचन क्षेत्रमा गान्धी परिवारका हस्तीहरूले जित्दै आएका छन्। सञ्जय गान्धी र पूर्वप्रधानमन्त्री राजीव गान्धीले यो क्षेत्रलाई गान्धी परिवारको गढको रूपमा स्थापित गरेका थिए । राजीव गान्धी यहाँबाटै तीन पटक चुनिए । तर आफ्नो दोस्रो प्रयासमा स्मृति इरानीले गान्धी परिवारको यो गढ कब्जा गर्न सफल भइन् ।

निर्वाचन अभियान
निर्वाचनअघि स्मृति इरानीले अमेठीको एक ठाउँमा आगलागी भएको बेला त्यसलाई निभाउन कार्यकर्ताहरूलाई दिएको आदेश, पानीका लागि आफैँ धारा चलाइरहेको र अवधीभाषी वृद्धाहरूलाई सम्झाइरहेको दृश्य राष्ट्रिय टेलिभिजनहरूमा प्रसारित भएका थिए ।

Smriti Irani 4

त्यसबाट यसपालि उनले सन् २०१४ को तुलनामा अमेठीमा राम्रो प्रदर्शन गर्ने आकलन गरिएको थियो। तर उनले राहुल गान्धीलाई हराइदिन्छिन् भनेर चाहिँ कमैले ठानेका थिए । स्मृति इरानी सन् २०१४ मा बनेको नरेन्द्र मोदीको सरकारमा पहिले मानव संसाधनमन्त्री भएकी थिइन् । पछि उनी सूचना प्रसारणमन्त्री र त्यसपछि कपडामन्त्री भइन् ।

मानव संसाधनमन्त्री हुँदा आफ्नो शैक्षिक योग्यताबारे उनले गरेको टिप्पणी निकै विवादस्पद भयो । तर पनि उनी मोदी मन्त्रिमण्डलमा सुषमा स्वराज तथा निर्मला सीतारमणका साथ एक प्रभावशाली महिला मन्त्री बनिरहिन् ।

मोदीविरुद्ध अनशन प्रकरण के हो ?
चर्चित टेलिभिजन सिरियल ‘क्यो कि सास भी कभी बहु थी’ मार्फत् घरघरमा चिनिएकी उनले सन् २००३ मा भाजपामा सामेल भई सक्रिय राजनीति थालेकी थिइन् । तर कमै मानिसलाई थाहा होला कि उनले कुनै बेला नरेन्द्र मोदीविरुद्ध अनशन बस्न आह्वान गरेकी थिइन् ।

सन् २००४ मा उनी भरखरै भाजपामा प्रवेश गरेकी थिइन् र पार्टीको टिकटमा दिल्लीको चाँदनी चोक लोकसभा सीटको चुनावमा हारेकी थिइन् । त्यतिबेला उनले गुजरात दङ्गाको विषयमा तत्कालीन गुजरात मुख्यमन्त्री नरेन्द्र मोदीको राजीनामा माग गर्दै अनशन बस्ने चेतावनी दिइन् ।

तत्कालीन प्रधानमन्त्री अटल बिहारी बाजपेयीको नाम कैयौँ पटक लिँदै उनले नरेन्द्र मोदीले राजीनामा नगरेका कारण वाजपेयी हैरान भएको बताएकी थिइन् । तर पछि पार्टीको उच्च नेतृत्वले कारबाही गर्ने चेतावनी दिएपछि उनले आफ्नो भनाइ फिर्ता लिइन् ।

वाक्पटुताको प्रयोग
भाजपा राजनीतिका पुराना जानकारहरू भन्छन् कि स्मृति इरानीलाई राजनीतिमा ल्याउने श्रेय प्रमोद महाजनलाई जान्छ । सन् २००६ मा महाजनको हत्या भएपश्चात् स्मृतिको राजनीतिक यात्राको गति केही कम भयो। केही समयसम्म उनी पार्टीभित्र मौनतापूर्वक काम गरिरहिन् र सँगसँगै वाक्पटुताका कारण भिन्न परिचय बनाउँदै गइन् ।

Smriti Irani 3

सन् २०१० मा नितिन गडकरी भाजपाका राष्ट्रिय अध्यक्ष बनेपछि स्मृतिलाई पार्टीको महिला मोर्चाको जिम्मेवारी दिइयो । अर्को वर्ष उनी गुजरातबाट राज्यसभामा सांसद चुनिइन् र प्रदेशको राजनीतिमा सक्रिय भइन् ।

त्यतिबेलादेखि नै हो स्मृति तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदीको प्रशंसक बन्न थालेको। प्रखर रूपमा बोल्न सक्ने कौशलका कारण उनलाई पार्टीको राष्ट्रिय प्रवक्ता बनाइयो। टेलिभिजन च्यानलहरूमा बोल्न थालेपछि उनी फेरि चर्चित हुन थालिन् ।

अमेठीको लडाइँ
सन् २०१४ को संसदीय निर्वाचनमा भाजपाले उनलाई राहुल गान्धीविरुद्ध लड्न अमेठीबाट टिकट दियो । त्यतिखेर उक्त निर्वाचन क्षेत्रमा तत्कालीन आम आदमी पार्टीका नेता तथा कवि कुमार विश्वास पनि उठेका थिए ।

सन् २००९ को चुनावमा अमेठीबाट भाजपालाई केवल साढे ३७ हजार मत आएको थियो । त्यतिखेर स्मृतिले चुनाव प्रचार गर्दा गान्धी परिवारको क्षेत्र भए पनि त्यहाँ “१० वर्षदेखि केही नभएको” भन्ने गर्थिन् ।

स्थानीय महिलाका साथ निकै घुलमिल पनि भइन् । तीन लाखभन्दा धेरै भोट प्राप्त भए पनि उनी राहुल गान्धीसँग एक लाख जति भोटको अन्तरले पराजित भइन् ।

विवाद नै विवाद
निर्वाचनमा पराजित भए पनि उनलाई केन्द्र सरकारमा मन्त्री बनाइयो । त्यसलगत्तै उनको शैक्षिक योग्यताबारे विवाद भयो । निर्वाचनमा नामाङ्कन गर्दा दर्ता रेको पत्रमा मिथ्या जानकारी दिएको आरोप लाग्यो ।

अर्को विवाद तब भयो जब हैदरावादको विश्वविद्यालयका एक दलित विद्यार्थी रोहित वेमुलाले आत्महत्या गरे । उनको मन्त्रालयले अर्का एक मन्त्रीले आरएसएसको विद्यार्थी सङ्गठनका एक नेतालाई कुटपिट भएको भनी गरेको गुनासोपछि विश्वविद्यालयलाई कारबाही गर्न निर्देशन दियो ।
त्यसपछि विश्वविद्यालयले पाँच दलित विद्यार्थीलाई निष्कासन गरिदियो र तिनलाई छात्रावासबाट पनि निष्कासन गरिदियो। सो घटनापश्चात् रोहित वेमुलाले आत्महत्या गरे। सो घटनालाई लिएर विपक्षीले स्मृतिको निकै विरोध गरेका थिए ।

जब स्मृति इरानी सूचना प्रसारण मन्त्रीमा नियुक्त भइन् तब पनि विवादले उनको पिछा छाडेन । पद सम्हाले लगत्तै उनले मन्त्रालयका तीन दर्जनभन्दा धेरै अधिकारीहरूको सरुवा गरिन् । ती मध्ये केही त थोरै समयपश्चात् अवकाश पाउन लागेका समेत थिए । यो विवाद चर्किएपछि इरानीले गलत रिपोर्टिङ गर्ने पत्रकारलाई सजाय दिने गरि सर्कुलर जारी गर्दिन् । पत्रकारहरूले विरोध गरेपछि प्रधानमन्त्री कार्यालयको हस्तक्षेप गरेर सर्कुलर फिर्ता भयो ।

यति धेरै विवाद हुँदा पनि पनि स्मृति राजनीतिको मैदानमा डटिरहिन् । सम्भवतः उनलाई लागेको थियो कि राजनीतिमा अमेठी उनको निम्ति सफलताको बलियो खुड्किलो हुन सक्छ । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७