नेकपा पोलिटव्यूरो गठनमा प्रचण्ड–बादलकै मिलेन मन, पोलिटव्यूरो गठनमा ढिलाइ


१० जेष्ठ २०७६, शुक्रबार
Prachanda badal

काठमाडौं, १० जेठ । नेपाल कम्युनिष्ट पार्टीको एकता प्रक्रिया चाँडै टुङ्गो नलाग्ने देखिएको छ । नेकपाको पोलिटव्यूरो गठनमा पछिल्लो समय पूर्व माओवादीतर्फ विवाद देखिएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र हाल गृहमन्त्री रहेका रामबहादुर थापा बादलबीच समझदारी बन्न नसक्दा पोलिटव्यूरो गठनको काम थप पछि थकेलिंदै गएको नेकपा स्रोतले जनाएको छ ।

पोलिटव्यूरो गठनकै काम अगाडि बढ्न नसक्दा नेताहरुलाई पार्टीको जिम्मेवारी दिने काम समेत अन्योलमा परेको छ । नेकपाभित्र पूर्व माओवादी केन्द्रले पाएको ६६ पोलिटब्युरो सदस्यको नाम टुंग्याउन नसक्दा एकता प्रक्रिया लम्बिएको स्रोतले जानकारी दिएको छ ।

पूर्व माओवादीतर्फको ६६ जनाको सूचीमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले आफ्ना धेरै मान्छे राखेको भन्दै प्रचण्डसँग असन्तुष्टि जनाउँदै आएका छन् । पार्टी अध्यक्ष प्रचण्ड पनि बादलले धेरै भाग खोजेपछि असन्तुष्ट रहेको स्रोतको दावी छ ।

प्रचण्ड र बादलबीच पोलिटव्यूरो गठनमा असमझदारी बढिरहेका बेला बजेछ घोषणाको दिन समेत नजिकंदै गइरहेको छ । सरकार बजेट निर्माणमा जुटिरहेका कारण पनि बजेट अगाडि पोलिटव्यूरो गठन नहुने निश्चित जस्तै छ । प्रधानमन्त्री केपी शर्मा ओली समेत बजेट निर्माणको काममा खट्नु परेका कारण पोलिटव्यूरो गठन बजेट अगाडि हुन नसक्ने नेताहरु बताउँछन् ।

‘गत वर्षको बजेट निर्माणमा पार्टी नेताहरूबीच नै छलफल नभएपछि सरकारको आलोचना भयो,’ नेकपाका एक नेता भन्छन्, ‘यसपटक प्रधानमन्त्रीले बजेट निर्माणमा छलफल गरिरहनु भएको छ । यो अवधिमा पोलिटव्यूरो गठन हुने सम्भावना छैन ।’

संविधान अनुसार जेठ १५ गते प्रतिनिधि सभामा बजेट प्रस्तुत हुँदैछ । बजेट एउटा कारण भए पनि मुख्यतस् पोलिटब्युरोको गठनको ‘लफडा’ कारण एकता ढिलाइ भएको ती नेताले बताए ।
‘पोलिटब्युरो सदस्यको नाम सार्वजनिक गर्न टाइप गरेर तयार पारिएको थियो,’ एक सचिवालय सदस्यले भने, ‘सूची हेरेपछि नारायणकाजी श्रेष्ठले असहमति जनाउनु भयो ।’ नारायणकाजीको असहमति बाहिर देखिए पनि नेकपाका अध्यक्ष प्रचण्ड समेत पोलिटब्युरो गठनमा सचिवालय सदस्य बादलले आफूखुशी गरेकोमा असन्तुष्ट छन् ।

‘बादलले कार्यदलमा बसेर आफ्ना मान्छे बढी घुसाएको भनेर अन्य नेताहरूले प्रचण्डलाई घेर्नुभयो,’ एक नेता भन्छन्, ‘पोलिटब्युरोमा बादलले १५ सदस्य आफ्नो पक्षका राख्नु भएछ ।’ साविकको एमाले र माओवादीले १४७ सदस्यीय पोलिटब्युरोमा ८१ र ६६ को भागबण्डा गरेका छन् ।

‘माओवादीको भागमा परेको ६ जनसंगठनमध्ये ४ जना बादलका मान्छे छन्,’ नेकपाका ती नेताले भने, ‘अहिले पूर्वमाओवादीभित्रको समस्याले पोलिटब्युरो गठनमा ढिलाई भईरहेको छ ।’ स्रोतका अनुसार बादलका कारण प्रचण्डले पोलिटब्युरो समेत गठन नगर्न प्रस्ताव सचिवालयमा राखेका छन् । उनी केन्द्रीय समितिको कार्य्विभाजन टुङ्ग्याएर एकता अगाडि बढाउन चाहन्छन् ।

‘प्रचण्डले गाँठो नफुकाएसम्म पोलिटब्युरो अगाडि बढ्ने देखिन्न,’ ती सचिवालय सदस्यले भने, ‘साविकको एमालेभित्र पनि केही नामको विषयमा विवाद छ । तर त्यो मिल्ने आधा घण्टाको छलफलमा मिल्ने अवस्थामा छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७