१० महिनामै ठडियो दरबार हाइस्कुलको भवन


१० जेष्ठ २०७६, शुक्रबार
durbar high school4442 1

काठमाडौं, १० जेठ । वैशाख २०७२ को विनाशकारी भूकम्पले भत्किएको ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) को मुख्य भवन १० महिनामै तयार भएको छ । चिनियाँ कप्पनीले ठेक्का पाएको १० महिनामै स्कुलको भवन निर्माण सम्पन्न गरेको छ ।

१२८ वर्षे इतिहास बोकेको दरबार हाइस्कुल चीनको आर्थिक तथा प्राविधिक सहयोगमा पुननिर्माण गरिएको हो । शुरुमा रेट्रोफिटिङको पुनर्निर्माण गर्ने भन्ने विवादका कारण काम भएको थिएन । तर, पुनर्निर्माण गर्ने निर्णयसँगै चीनले जिम्मा पाएको १० महिनाभित्रै भवन तयार भएको छ । अब फिनिसिङको काम मात्र बाँकी छ । शुक्रबार चिनियाँ राजदूत हउ यान्छी, नेपाली अधिकारी र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवालीले स्कुल पुनर्निर्माणको अवलोकन गरेका छन् । चिनियाँ राजदूत हउले कोठा–कोठा घुम्दै पुनर्निर्माणको प्रगति अवलोकन गरेकी थिइन् ।

चार तले नयाँ भवनमा ४६ कोठा छन् । कक्षा कोठा मात्रै २२ वटा रहेको विद्यालयका प्रधानाध्यापक हेमचन्द्र महतोले जानकारी दिए । नयाँ भवनमा आगामी मंसिरबाट पढाइ शुरु गर्ने लक्ष्य रहेको महतोले जानकारी दिए । हाल उक्त विद्यालयका विद्यार्थीहरुलाई अस्थायी रुपमा बाल्मीकि क्याम्पस परिसरमा बनाइएका टहरोभित्र पढाउने गरिएको छ ।

२०७५ साल साउन १८ गतेबाट दरबार हाइस्कुलको निर्माण कार्य शुरु भएको थियो । तोकिएको समयभन्दा अघि नै मुख्य भवन निर्माण कार्य सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक महतोले बताए । फिनिसिङको बाँकी काम ४ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्राधिकरणका अधिकारीहरु दरबार हाइस्कुल निर्माण भूकम्पपछिको पुनर्निर्माणकै रोलमोडल परियोजना भएको बताउँछन् । किनकी धेरै परियोजनाको काम समयमा हुँदैन । तर, दरबार हाइस्कुल, वीर अस्पताल र प्रसुती गृहको भवन निर्माण तोकिएको समय भन्दा छिटो भएको छ ।

तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले बेलायत भ्रमण गरेर फर्केपछि आफ्ना शाखा सन्तानलाई पढाउने उद्देश्यले विक्रम संवत् १९१० मा स्थापना गरेको विद्यालय नै अहिलेको दरबार हाइस्कुल हो । दरबार हाइस्कुलमा अंग्रेजी पढाउने शिक्षक राणा शासकहरुले बेलायतबाट झिकाउने गरेको इतिहासमा पढ्न पाइन्छ । शुरुमा यो स्कुल थापाथली दरबारको आँगनमा खोलिएको थियो । जंगबहादुरपछिका राणा शासकहरुले बिभिन्न स्थानमा यो विद्यालयलाई सारे ।

वि.सं.१९४२ मा रणोद्दीप सिंहको हत्यापछि वीरशमशेरले दरबार हाइस्कुललाई जमलमा सारेका थिए । राणा परिवारले मात्र पढ्न पाउने यो विद्यालयमा १९३३ वि.सं. १९३३ मा रणोद्दीप सिंहले राणाहरूका सेवामा खटिएका कामदारका छोराछोरीले पनि पढ्न पाउने व्यवस्था गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७