प्रधानमन्त्रीबाट मोदीको राजीनामा


११ जेष्ठ २०७६, शनिबार
modi 4

काठमाडौं, ११ जेठ । लोकसभा चुनावमा शानदार विजयसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिएका छन् ।

भारतीय लोकसभा निर्वाचनको मत परिणाम अनुसार कुल ५४२ सिट क्षेत्रमा भएको चुनावमा भारतीय जनता पार्टी (भाजपा) ले ३०३ सिट जितेको छ । यो नतिजासँगै वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी फेरि पाँच वर्षका लागि प्रधानमन्त्री बन्ने भएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार आउँदो साता उनको शपथ ग्रहण कार्यक्रम छ । पुनः प्रधानमन्त्री बन्न उनले शुक्रबार नै आफ्नो पदबाट राजीनामा दिएका हुन् । प्रधानमन्त्री मोदीले राष्ट्रपति रामनाथ कोविन्द समक्ष राजीनामा बुझाएका हुन् । राष्ट्रपति कोविन्दले मोदीको राजीनामा स्वीकृत गरेका भारतीय राष्ट्रपति कार्यालयले जनाएको छ ।

केही दिनपछि मोदीकै नेतृत्वमा नयाँ सरकार गठन हुनेछ । नयाँ सरकार नबनेसम्म मोदी नेतृत्वको सरकारले ‘कामचलाउ सरकार’ का रुपमा काम गर्नेछ । शपथ अगाडि मोदी आफ्नो निर्वाचन क्षेत्र वाराणासी जाने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै उनी आफ्नी आमालाई भेट्न जाने पनि बताइएको छ ।

पाँच वर्षअघि भाजपाले २८२ सिट जितेको थियो । यसपालि भाजपाको मत बढेसँगै उसको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनको सिट पनि पहिलाभन्दा बढेको छ । पाँच वर्षअघि एनडिएले ३३६ सिट पाएको थियो । यसपालि १४ सिट बढाएर ३५० पुगेको छ ।

प्रमुख प्रतिपक्षी भारतीय कंग्रेसले पनि पहिलाभन्दा केही सिट बढाएको छ । पाँच वर्षअघि ४४ सिटमा खुम्चिएको कंग्रेस यसपालि छ सिट बढाएर ५२ पु¥याएको छ भने उसको गठबन्धन युपिएले ८५ सिट जितेको छ । सन् २०१४ मा युपिए गठबन्धनको ६० सिट मात्र थियो । लोकसभामा अरू क्षेत्रीय दल र साना पार्टीले १०७ सिटमा जित हात पारेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७