मापदण्ड नपुगेका क्रसर उद्योग पूर्ण रुपमा बन्द गरिने


११ जेष्ठ २०७६, शनिबार
crosser

तनहुँ, ११ जेठ । मापदण्ड नपुगी सञ्चालन गरिएका जिल्लाका क्रसर उद्योग बन्द गरिने भएको छ । जिल्लास्तरीय अनुगमन तथा समन्वय समिति तनहुँको निर्णयअनुसार नियमानुसार मापदण्ड नपुर्‍याउने तथा नपुगेका उद्योग आगामी साउन १ गतेदेखि पूर्णरुपमा बन्द गर्न लागिएको हो ।

समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले जिल्लामा सञ्चालित क्रसर उद्योग घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयबाट अनुगमन गरी विवरण तयार गर्न र मापदण्ड नपुगेका उद्योगलाई पत्राचार गरी आगामी असार मसान्तसम्म मापदण्ड पूरा गर्न आग्रह गरिएको जानकारी दिए ।

मापदण्ड पूरा गर्नका लागि सम्बन्धित स्थानीय तहको सहमतिमा स्थानान्तरण गर्नका लागि पत्राचार गरिएको छ । उनले भने, ‘मापदण्ड पूरा गर्नका लागि असार मसान्तसम्मको समय दिएका छौँ, उक्त अवधिसम्म मापदण्ड पूरा नगरे पूर्णरुपमा बन्द गर्नेछौं ।’

गण्डकी प्रदेश सरकारबाट जारी भएको ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, सङ्कलन, क्रसिङ र बिक्री वितरण तथा क्रसर उद्योग स्थापना र सञ्चालनलाई व्यवस्थित गर्ने कार्यविधि २०७५ को सम्बन्धमा जिल्लाका क्रसर उद्योग व्यवसायीलाई अनुगमन समितिले २०७५ माघ २५ गते मापदण्ड पूरा गर्न आग्रह गरेको थियो ।

उक्त छलफलमा व्यवसायीले तीन महीनाभित्र मापदण्ड पालना गर्ने प्रतिबद्धता जनाएका थिए । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वैशाख ११ गतेको पत्रानुसार उद्योगको गुणस्तर कायम गर्दै विद्यमान कानूनी व्यवस्थाको परिपालना सम्बन्धमा प्रभावकारी रुपमा अनुगमन तथा नियमनको लागि निर्देशन भएको जिल्ला समन्वय समिति तनहुँका सूचना अधिकारी अनिल खनालले जानकारी दिए ।

खनालका अनुसार नियमानुसार उद्योग दर्ता नगरी तथा निर्धारित मापदण्ड पूरा नगरी सञ्चालन तयारी भएका वा हुन सक्ने क्रसर उद्योगलाई घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय र सम्बन्धित स्थानीय तहले सञ्चालनमा रोक लगाउन सबै पालिकालाई निर्देशन दिइएको छ ।

घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय दमौलीमा दर्ता भई ११ वटा क्रसर उद्योग जिल्लामा सञ्चालित छ तर जिल्ला समन्वय समितिमा भने १५ वटा क्रसर उद्योगले विवरण बुझाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७