टुँडिखेलमा साकेला उभौली रौनक (फोटोफिचर)


११ जेष्ठ २०७६, शनिबार
Sakela ubhauli 2076

काठमाडौं, ११ जेठ । किरातीहरुको महान चाड उभौली सुरु भएको छ । बैशाख पुर्णिमादेखि सुरु भएको उभौली चाड शनिबार किरात राई यायोख्खा जिल्ला कार्यसमिती काठमाडौंको आयोजनामा टुँडिखेलमा भब्यताका साथ मनाईएको छ ।


देशका विभिन्न जिल्लाबाट काठमाडौं आएर बसिरहेका किराती राई तथा सुनुवारहरुले टुडिखेलमा ‘साकेला शिली’ नाच्दै शुभकामना आदान प्रदान गर्दे शनिबार भव्यताका साथ मनाएको हो । कार्यक्रम किरात राई यायोख्खाको अध्यक्ष दिवस राईले उद्धघाटन गरेका थिए । भने सगरमाथा आरोही देउराली चाम्लिङ राई सम्मान गरे ।

sakela ubhaulii chad 2076 2


साकेला पर्वको अवसरमा परम्परागत वेशभूषामा सजिएका दाजुभाइ ,दिदीबहिनी, बुबाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला नाच नाच्ने गरिन्छ । साकेला थानमा भूमिको पूजाआजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला सिली नाचिन्छ ।


टुडिखेलमा युवा युवतीसँगै अधिकांश उपस्थित समुदायले परम्परागत पहिरनमा सजिएर आएका थिए । किरात राईहरुको ऐतिहासिक थलो मानिएको ठाउँमा पूजाआजा गरिएसँगै महिना दिनसम्म साकेला पर्व मनाइने प्रचलन छ । साकेला प्रदेश नं. १ का सबै जिल्लामा, काठमाडौं उपत्यकाका तीन जिल्ला र किराती समुदाय स्थायी र अस्थायी रुपमा बसोवास गरिरहेका अन्य प्रदेश तथा विदेशमा भव्य रुपमा मनाइन्छ ।

sakela ubhaulii chad 2076 21
sakela ubhaulii chad 2076 8



उभौली – पैयूँ फूलेको समयमा चरा र खोलाका माछाहरु दक्षिणतिर लाग्ने बेला अन्नबाली भित्र्याउने याम मानेर नयाँ अन्नबाली प्रकृति र पूर्खालाई चढाएर सुःख समृद्धिको कामना गर्दै उधौली पर्व मनाउने चलन रहेको छ ।


त्यस्तै गुराँस वा आरु फूलेको याम, जुनबेला चरा तथा खोलाका माछाहरु उत्तरतिर लागेको बेला बाली लगाउने याम मानेर अन्नबाली सप्रयोस्, सहकाल होस् भन्ने कामना गर्दै उभौली पर्व मनाइने गरेको अर्जुन जम्नेली राईले जानकारी दिनुभयो । मान्छेलाई खेती गर्ने ठाउँ दिने प्रकृति र खेती गर्न सिकाउने पूर्वजको सम्मानस्वरुप यो पर्वमा भूमिपूजा गरिन्छ । त्यस्तै, अन्न राख्ने भकारीमा पूजा गर्नु, चूल्होमा कुखुराको बलि दिनु र ढोलझ्याम्टाको तालमा चरा, दुम्सीजस्ता पशुपंक्षीको अनुकरण गर्दै नाच्नु पनि यो पर्वको अर्को विशेषता रहेको प्राध्यापक कमलजंग राईले बताए।

sakela ubhaulii chad 2076 14

प्रकृतिलाई खुसी राख्नका लागि किराँत राई समुदाय बाली लगाउने समय पारेर वैशाख पूर्णिमामा उभौली र अन्न बाली घरमा भित्र्याएपछि मंसिरे पूर्णिमामा उधौली पर्व मनाउने गर्छन् । उधौली पर्वमा किराँत राईहरु आफ्नो पूर्खाहरुले कन्दमुल खाएर जीविका गरेको स्मृतिमा कन्दमुल खाने, काँचो वनतरुलको टिका लगाउने, बिहान काँचो वनतरुल चपाएपछि मात्र अन्य उसिनेका वा भुटेर तारेका कन्दमुल भोजनका रुपमा ग्रहण गर्ने गर्दछन् । प्रकृति पूजामा विश्वास गर्ने किराँतीले ढोल बजाउँदै र गीत गाउँदै समूहमा नृत्य गरे ।

प्रकृतिका पूजारी किरात राई समुदायले प्रकृतिलाई खुसी पार्न साकेला उभौली नाच नाच्ने परम्परा प्राचीन कालबाटै चल्दै आएको हो । खेतबारीमा नयाँ अन्नबाली लगाउने बेलामा सिमेभूमि, खोलानाला, हावापानी जस्ता प्रकृतिको पूजा आराधना गरी कुनै प्राकृतिक प्रकोप नभई खेतबारीमा लगाएको अन्नबाली सप्रियोस् र सबै प्राणीमा सुख शान्ति छाओस् भन्ने कामनासहित उभौली पर्व मनाउने सांकृतिक परम्परा छ ।

साकेला किरात राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य पर्व मान्ने गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७