सानाले घुस लिए अब मन्त्रीसम्म तानिने


१२ जेष्ठ २०७६, आईतवार
aktiyar

काठमाडौं, १२ जेठ । अब साना कर्मचारीले घुस लिएको पाइएमा विषयगत मन्त्रालयका मन्त्री, सचिव, महानिर्देशकदेखि कार्यालय प्रमुखसम्म छानबिनको घेरामा पर्ने भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनै पनि कार्यालयका कर्मचारी घुस लिँदालिँदै पक्राउ परेमा सो कार्यालयका प्रमुख तथा उच्च अधिकारीमाथि समेत छानबिन गर्ने तयारी गरेको हो । अहिले अख्तियारको स्टिङ अप्रेसनमा प्रायः साना कर्मचारी मात्रै पर्ने गरेका छन् ।

कार्यालय प्रमुख तथा उच्च अधिकारीको संकेत पाएरै साना कर्मचारीले घुुस लिने र सो घुसको भागबन्डा माथिल्लो तहसम्मै पुग्न सक्ने विश्लेषण गर्दै अख्तियारले माथिल्लो तहका अधिकारीलाई समेत छानबिनको घेरामा ल्याउने भएको हो ।

अख्तियारले कार्यालय प्रमुखको निर्देशन तथा मिलेमतोबिना यस्तो काम सम्भव नहुने निष्कर्ष निकाल्दै उच्च तहका जिम्मेवार कर्मचारी समेतलाई छानबिन गर्ने भएको हो ।

यसरी आर्थिक लाभ लिने तथा अख्तियारको दुरुपयोग गरी कानुनविपरीतका गतिविधिमा संलग्न भएको पाइएमा संलग्न कर्मचारी तथा कार्यालयका प्रमुखसम्मको संलग्नता रहे–नरहेको बारे छानबिन गर्ने भएको हो ।

कुनै कार्यालयका कर्मचारीले घुस खाएमा कार्यालय प्रमुख, विभागका कर्मचारीले घुस खाएमा महानिर्देशक तथा मन्त्रालयका कर्मचारीले घुस खाएमा सचिव तथा मन्त्रीहरूमाथि नै छानबिन हुन सक्ने स्रोतको भनाइ छ । राजधानी दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७