मत परिणामले सुधारेको देओल परिवारको सम्बन्ध


१२ जेष्ठ २०७६, आईतवार
Sunny india finall

मुम्बई, १२ जेठ । भारतीय लोकसभा निर्वाचन २०१९ को नतिजा सार्वजनिक भइसकेको छ । हिन्दी फिल्मको पर्दामा गदर मच्चाउने अभिनेता सनी देओलले यो निर्वाचनमा विजय हात पारिसकेका छन् ।

पन्जाबको गुरदासपुरबाट पहिलोपटक सांसदमा उठेका सनीले ‘डेब्यू’ उम्मेद्वारीमै सफलता पाइसकेका छन् । उनले कांग्रेसका प्रत्यासी सुनिल जाखडलाई पराजित गर्दै सांसद पद सुरक्षित गरेका हुन् ।

यस पटकको चुनावमा सनीसँगै उनकी सौतेनी आमा बलिउडकी ‘ड्रिम गर्ल’ हेमा मालिनीले पनि चुनाव जितेकी छन् । अघिल्लो पटक भारतीय जनता पार्टीको टिकटबाट मथुरामा चुनाव जितेर संसद पुगेकी हेमालाई दोस्रो पटक पनि मथुराका जनताले नै चुने । एकै परिवारका फिल्मकर्मी सदस्यले चुनाव जितेपछि देओल परिवारमा हर्षोल्लास त छँदैछ नै । यो परिणामले अभिनेता धर्मेन्द्रको परिवारका सदस्यबीच बिग्रदो सम्बन्धलाई सुधार्नेमा फिल्मकर्मी आशावादी छन् ।

खास गरी देओल परिवारमा सनीको हेमा र सौतेनी बहिनी इशा देओलसँगको सम्बन्ध सुमधुर छैन । तर चुनाव जितेलगत्तै बहिनी इशाले ट्वीटरमा सनीलाई बधाईको सन्देश लेखेपछि दाजुबहिनीको सम्बन्धमा सुधारको आशा गरिएको छ । ‘बधाई सनी देओल । मेरो शुभकामना जहिल्यै तपाईंसँग छ’, भन्दै ईशाले ट्वीटेकी छिन् ।

त्यसको जवाफमा सनीले ‘धन्यवाद ईशा देओल’ रिट्वीट गरेका छन् । दाजुबहिनीबीचको यो सौहार्दताले देओल परिवारमा मात्र खुशी छैनन् । उनीहरूका शुभचिन्तकले ट्वीटरमा प्रतिक्रिया दिँदै अझ बढी खुशी व्यक्त गरेका छन् ।

सनी र ईशो सम्बन्ध बिग्रनुको एउटा कारण पनि छ । सन् २०१२ मा ईशाले भतर तख्तानीसँग विवाह गर्दा उक्त विवाह समारोहमा सनी र उनका भाई बबी अनुपस्थित थिए । देओल दाजुभाइको अनुपस्थितिको विषयलाई मिडियाले राम्रो स्थान दिएको थियो । ईशाकी कान्छी बहिनी आहनाको विवाहमा पनि दुई भाइ अनुपस्थित थिए । तर भाइ अभय देओलको विवाहमा भने सनी र बबी उपस्थित थिए ।

ईशाले निर्वाचन आयोगकको प्रमाणपत्रका साथ हेमाको तस्बीर राख्दै ‘उहाँले दोस्रो पटक विजय हासिल गर्नुभएको छ । बधाई र दोस्रो राउण्डका लागि मेरो शुभकामना । भारतीय नागरिक भएको हिसाबले तपाईंले सानदार काम गरिरहनुभएको छ’ भन्दै बधाईको ट्वीट गरेकी छन् । इशाले आफ्नो दाई र आमालाई जितको बधाई दिए पनि सनी र हेमाले एकअर्कालाई बधाई कहिले दिन्छन् भन्ने चासो उनका शुभचिन्तकमाझ व्यग्र छ ।

सनी र हेमाबीचको सम्बन्ध राम्रो छैन । दुवैलाई कुनै पनि सार्वजनिक वा पारिवारिक समारोहमा सँगै आएको कसैले देखेका छैनन् । सनी धर्मेन्द्रको पहिलो श्रीमति प्रकाश कौरका छोरा हुन् । सन् २०१७ मा भएको एक कार्यक्रममा हेमाले सनीसँगको सम्बन्धलाई लिएर ‘जोकोही पनि हामीबीच कस्तो सम्बन्ध छ भनेर जान्न चाहन्छन् । तर यो सम्बन्ध निकै राम्रो र मधुर छ । उनी धर्मेन्द्रजीसँग बस्छन् । खासगरी मेरो दुर्घटना पछि सम्बन्ध सुमधुर छ’ जवाफ दिएकी थिइन् ।

सन् २०१५ मा राजस्थानको दौसाबाट फर्किइरहँदा हेमाको कार दुर्घटनामा परेको थियो । त्यो बेला सनी तुरुन्तै हेमाको स्वास्थ्यवस्था बुझ्न अस्पताल पुगेका थिए । हेमाका अनुसार देओल परिवारमा उनलाई भेट्न पहिला सनी नै पुगेका थिए । सनीले हेमालाई टाउकोमा टाँका लगाउने राम्रो डाक्टरको सिफारिस गरेका थिए । यसपटक संसदमा आमाछोरा सँगै उपस्थित हुँदैछन् । संसदमा पुगेपछि दुवै जनाले एकापसलाई कसरी ‘ट्रिट एन्ड ग्रिट’ गर्छन् भन्ने चासो सर्वत्र छ । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७