सञ्चारमन्त्री बाँस्कोटा सुजनको गृहकार्य हेर्ने अभिभावक


१२ जेष्ठ २०७६, आईतवार
sujan

काभ्रेपलाञ्चोक, १२ जेठ । सूचना तथा सञ्चार, प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा एकाएक सुजनलाई आँगनदेखि नै डोर्‍याउँदै उनको कोठामा लगेर कापी–किताब मागे ।

सुजनले आफ्नो ब्यागमा भएको सबै किताब–कापी क्रमैसँग मन्त्री बाँस्कोटाको हातमा राखिदिए । पाँचखाल नगरपालिका–१२ बालुवास्थित सुजन दनुवारको घरमा शनिबार अपराह्न पुगेका मन्त्री बाँस्कोटाले सुजनलाई शुक्रबार दिइएको गृहकार्य सरासर हेर्दै कक्षा १ बाट हासिल गरेको स्थानबारे प्रश्न गरे ।

‘सेकेण्ड भएँ’ छ वर्षका सुजनले उत्तर फर्काइहाले । सुजनलाई बधाई भन्दै ‘स्कूलले के–के दियो त बाबु तिमीलाई ?’ मन्त्री बाँस्कोटाको थप प्रश्नलगत्तै सुजनले भने, ‘किताब, कापी, पेन्सिल, मोजा, के–के हो, के–के ।’

मन्त्री बाँस्कोटाले करीब २० मिनेटको समय कुराकानी गर्दै सुजनको तीन कापी तथा गणित र अङ्ग्रेजी विषयका दुई प्रयोगात्मक किताब हेरे र भने, ‘राम्रो छ, अझ प्रयास गर्नु, अब कक्षामा पहिलो हुनुपर्छ, म तिम्रो होमवर्क चेक गर्न बेला–बेलामा आउँछु नि !’, मन्त्री बाँस्कोटाको कुरा सुनेर सुजन उत्साहित देखिए ।

सुजनलाई मन्त्री बाँस्कोटाले आउँदो असारताका स्कूलको ‘वर्षे बिदा’ मा काठमाडौं आउन भने । सुजनले मधुर बोलीमा ‘हुन्छ’ मात्रै भने । उनका बाबुआमा भने कोठाको ढोकामा उभिएर मन्त्री बाँस्कोटा र सुजनबीचका कुराकानी सुनिरहे ।

मन्त्री बाँस्कोटाले सुजनलाई किताब–कापी झोलामा राख्न आग्रह गर्दै आफू भ्याएसम्म महिना दिनमा भेट्न आउने आश्वासन दिए । उनले भने, ‘यदि भ्याइनँ भने दुई महिनामा एकचोटी पक्का ।’ मन्त्री बाँस्कोटाले कक्षा १२ सम्मका लागि अभिभावकत्व ग्रहण गरेका सीमान्तकृत दनुवार समुदायका सुजन हाल स्थानीय आजाद माध्यमिक विद्यालयमा २ कक्षामा पढ्दै छन् ।

सुजनसँगको भेटघाटपछि मन्त्री बाँस्कोटाले भने, ‘सुजनले प्रगति गर्दैछ, यसमा म खुी छु, अन्य दुई बालबालिकाको अवस्था बुझ्न केही दिनपछि उनीहरुको घरमा जान्छु ।’ उनले सुजनको अभिभावकत्व ग्रहण गरेपछि काभ्रेपलाञ्चोकमा २०७५ सालको भर्ना अभियान शुरु गरिएको थियो ।
मन्त्री बाँस्कोटाले यस वर्ष पनि जिल्लाका थप दुई बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन् ।

उनले भर्ना अभियानअन्तर्गत गत वैशाखमा पाँचखाल नपा–१ का आमाबाबु नभएका प्रितम तामाङलाई स्थानीय ज्ञानेश्वरी मावि र पाँचखाल नपा–५ का बाबु नभएका निष्मा सुनारलाई स्थानीय जनउद्धार प्राविमा कक्षा १ मा भर्ना गरी अभिभाकत्व ग्रहण गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७