सगरमाथामा ‘ट्राफिक’ जाम, हालसम्म आठ जनाको मृत्यु

आरोहीको चापकै कारण मात्र ज्यान गएको होइन : पर्यटन विभाग


१२ जेष्ठ २०७६, आईतवार
Everest

काठमाडौं, १२ जेठ । पर्यटन विभागले सगरमाथामा आरोहण मार्गमा भएको चापका कारण आरोहीको ज्यान गएको भन्ने खबरको खण्डन गरेको छ ।

विभागका महानिर्देशक डुण्डुराज घिमिरेले आइतबार विज्ञप्ति जारी गर्दै मे २२ र २३ मा सगरमाथाको माथिल्लो मार्गमा आरोहीहरुको बाक्लो उपस्थिति रहेको भए पनि आरोहण मार्गमा भएको चापकै कारण ज्यान गएको भन्ने कुरा सत्य नभएको बताएका छन् ।

कतिपय पूराना भिडियो र फोटो प्रयोग गरेर सगरमाथाप्रति दुष्प्रचार गरेको भन्दै विज्ञप्तिमा हिमाल आरोहण आफैँमा साहसिक, जटिल र संवेदनशील हुने भएकोले दुःखद् घटना हुन सक्ने बताइएको छ । विज्ञप्तिमा आरोहीको मृत्युको कारण वैज्ञानिक पद्धतिबाट मात्र पहिचान गर्न सकिने विषय भएको भन्दै यस्ता गम्भीर विषयमा प्रचार गर्दा संवेदनशील हुन विभागले आग्रह गरेको छ ।

मे १४ मा सगरमाथाको शिखरसम्म बाटो बनाउने काम सकिएको भए पनि मौसम अनुकूल नहुँदा मे २२ र २३ मा आरोहीहरुको चाप बढेको हो । मे २१ मा मौसम सफा हुने आँकलन गरिएको भए पनि चौथो शिविरमा पुगेका आरोहीहरु मौसम अनुकुल नहुँदा दुई रात त्यही बस्नुपरेको पर्यटन विभागको भनाइ छ ।

यो सिजनको सगरमाथा आरोहणका क्रममा ज्यान गुमाउने र हराउनेको संख्या आठ पुगेको भन्दै पर्यटन विभागले सगरमाथाप्रति नकारात्मक भाव नफैलाउन सञ्चारमाध्यम र सामाजिक सञ्जालगायत सबैसँग आग्रह गरेको छ ।

यो वर्ष सगरमाथा आरोहणका लागि ४४ समूहका तीन सय ८१ जनाले अनुमति लिएका थिए । अनुमति लिएका आरोही र उनीहरुका सहयोगी समेत झण्डै छ सयले सगरमाथा चढेको प्रारम्भिक अनुमान गरिए पनि यकिन तथ्याङ्क आइनसकेको पर्यटन विभागले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७