रेड कार्पेटमा उभिएको फोटोले प्रियंका आफै ‘लज्जित’


१२ जेष्ठ २०७६, आईतवार
priyankakarki123

काठमाडौं, १२ जेठ । विश्वका चर्चित सेलिब्रिटीहरु उपस्थित हुने चर्चित महोत्सव हो, ‘कान्स फिल्म फेस्टिभल’ । कान्सको ७२ औं संस्करणमा नायिका प्रियंका कार्कीले सहभागिता जनाउने कुराले नेपाली मिडियामा निकै तहल्का मच्चियो । कान्समा नेपाली चलचित्रको प्रतिनिधित्व गर्नु ऐतिहासिक नै थियो ।

प्रियंकाले आफूलाई कान्सबाट नै निमन्त्रणा आएको बताएकी थिइन् । उनले कान्समा जाँदै गर्दा भनेकी थिइन्, ‘मलाई कान्सको टिमबाट नै निमन्त्रणा आएको हो । त्यहाँ आफै प्रवेश गर्न पाइँदैन । कान्सका सदस्य नै मलाई भेट्न आउनुभएको थियो ।’

उनले यो आफ्नो लागि मात्र नभएर नेपालको लागि पनि महत्वपूर्ण भएको समेत बताएकी थिइन् । ‘त्यहाँ म कुनै नेपाली चलचित्रको शोमा मात्र उपस्थित हुन लागेकी होइनँ । म मे २० देखि मे २४ सम्म हुने विभिन्न कार्यक्रममा सहभागीता जनाउनेछु ।’

निकै उत्साहित भएर गएकी प्रियकाको कान्समा सहभागिता कस्तो हुने हो भनेर नेपाली प्रशंसकहरु जिज्ञांशु थिए । सबैभन्दा ठूलो प्रतिक्षा भने उनको ‘रेड कार्पेट इन्ट्री’ मा थियो । मिडियासँगको कुराकानीमा प्रियंकाले आफू गएको दिन नै रेड कार्पेटमा हिड्ने बताएकी थिइन् ।

बलिउडका नायिकाहरुको कपी गरेर लगाएको पहिरन भाइरल बन्यो । बेलुका ‘वल्र्ड पिस नाइट’ कार्यक्रममा सहभागिता जनाइन् । त्यहाँ उपस्थित भएका केही विदेशी सेलिब्रेटीहरुसँग उनले सेल्फी खिचिन् । खिचिएको सेल्फी सामाजिक संजालमा पोष्ट गर्दै लेखिन् ‘कान्समा सेलिब्रेटीसँग ।’

त्यसपछि प्रियंकाले लगातार केही तस्वीरहरु त हालिन् तर रेड कार्पेट इन्ट्री त टाढाको कुरा, ती कुनैमा पनि कान्स महोत्सवको माहोलै देखिएन । प्राय तस्वीरमा उनको पृष्ठभूमिका खाली भित्ता हुन्थे, कि जंगल । ‘एट कान्स’ भन्दै कतिपय क्लोज अप फोटो पनि उनले राखिन् ।

रेड कार्पेटमा हिडेको तस्विर कुरेका दर्शक निराश भए । सामाजिक सञ्जालमा टिप्पणी हुन थाल्यो । अन्ततः प्रियंकाले रेड कार्पेटमा यसो उभिएर एउटा फोटो खिचाएर पोष्ट गरिन् । तर, त्यो तस्वीरले उनको लाज ढाक्न सकेन । धेरैले यसलाई खिल्ली उडाए ।

कान्समा सहभागी हुँदा प्रियंकाको ड्रेसअप पनि आलोचनामुक्त हुन सकेन । उनले लगाएको एउटा गाउन यसअघि नम्रता श्रेष्ठले एक कार्यक्रममा लगाएकोसँग मिल्दोजुल्दो थियो । मेकअप, ड्रेस र फोटोग्राफीमा बलिउड नायिका प्रियंका चोपडा र दिपिका पादुकोणको नक्कल गरेको आरोप लाग्यो ।

नायिका कार्की कान्स फिल्म फेस्टिभलमा कुनै एक इभेन्टको आयोजकको निमन्त्रणामा पुगेको वुझिएको छ । तर, उनले कान्सको आयोजकले नै बोलाएको र हलिउड र बलिउडका सेलिब्रिटी जस्तै आफू पनि रेड कार्पेटमा हिड्ने भनेर नेपाली मिडियामा गफ गरिन् ।

प्रियंका कान्ससम्म पुग्ने कुरालाई सुखद मान्न सकिन्छ । तर, आफ्नो जुन प्रकारको उपस्थिति हुन लागेको हो त्यही अनुसारको कुरा नेपालमा गरिदिएको भए उनको आलोचना कम हुन्थ्यो । यस पटकको उत्साहले उनलाई नै धोका दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७