विप्लव बन्दको पूर्व सन्ध्यामा बम आतंक, बम बनाउनेहरुकै गयो ज्यान

३ को मृत्यु, ६ घाइते, कोटेश्वरबाट कुकर बमसहित सात विप्लव कार्यकर्ता पक्राउ


१२ जेष्ठ २०७६, आईतवार

काठमाडौं, १२ जेठ । राजधानीको सुकेधारा र घट्टेकुलोमा बम विष्फोट हुँदा आइतबार दिउँसो तीन जनाको ज्यान गएको छ । घटनामा ६ जना घाइते भएका छन् ।

सुकेघारास्थित एक शैलुनमा र घट्टेकुलोस्थित एक घरको कोठामा बिष्फोट भएको थियो । दुबै घटनामा प्रतिबन्धित पार्टी नेकपा विप्लव समूहको संलग्नता भेटिएको छ ।

sukedhara blast 7 1

प्रारम्भिक अनुसन्धानका क्रममा बम बनाउने क्रममा विष्फोट भएको पाइएको प्रहरीले जनाएको छ । सुकेधारा विष्फोटमा घाइते भई ओम अस्पतालमा उपचाररतमध्ये नेवाः मुक्ति मोर्चाका अध्यक्ष सुरेन्द्र महर्जनले प्रहरीलाई त्यही बयान दिएका छन् ।

‘महर्जनले बम बनाउने क्रममा विष्फोट भएको बयान दिएका छन्’, महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले भने ।

सुकेधारा बिष्फोटमा एक जनाको घटनास्थलमै र दुई जनाको ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन । पक्राउ परेका सुरेन्द्रले प्रहरीलाई बताए अनुसार सुकेधारामा उनीसहित ६ जनाको समूह थियो ।

उनीसँगै हरि खड्का, शिव र लडाकू महावीर थिए । दुई जना भने नयाँ रहेको सुरेन्द्रले प्रहरीलाई वयान दिएका छन् । शैलुन सञ्चालक जीवकुमार ठाकुर पनि घाइते भएका छन् । मृतक को–को हुन् भन्ने खुलेको छैन ।

विद्यार्थीको डेरामा बिष्फोट
सुकेधारामा बिष्फोट भएकै समयमा घट्टेकुलोमा पनि विष्फोट भएको हो । विष्फोटमा प्रज्वल शाहीको मृत्यु भएको छ भने रविन केसी घाइते भएका छन् । केसी विप्लव समूह सम्वद्ध विद्यार्थी संगठनको त्रिचन्द्र कलेजका इकाई अध्यक्ष भएको खुलेको छ ।

sukedhara blast 5

विप्लव समूहले सोमबार नेपाल बन्द आह्वान गरेको छ । त्यही क्रममा विभिन्न स्थानमा बम राख्न बनाइएको र त्यही क्रममा विष्फोट भएको पाइएको छ । टाइम र रिमोर्ट समेत नभेटिएकाले बम बनाउने क्रममै विष्फोट भएको प्रहरीको विश्लेषण छ ।
कोटेश्वरबाट ३ वटा कुकरसहित ७ जना विप्लव कार्यकर्ता पक्राउ
कोटेश्वर नरेफाँटबाट प्रहरीले ७ जना विप्लव समूहका कार्यकर्तालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेको नाम खुलाइएको छैन । स्रोतका अनुसार महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले ४ वटा कुकरसहित उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट एक बोरा पुल्ठो र ३ झोला पार्टीको पर्चा पनि बरामद भएको छ । आइतबार दिउँसो राजधानीको सुकेधारा, अनामनगर, लगनखेल र चन्द्रागिरी नगरपालिकामा बम विष्फोट भएको छ । विष्फोटमा ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७