काठमाडौं बम विष्फोट : ज्यान गुमाउनेको संख्या ४ पुग्यो, सुरक्षा व्यवस्था कडा


१३ जेष्ठ २०७६, सोमबार
sukedhara blast 7 1

काठमाडौं, १३ जेठ । काठमाडौंमा आइतबार भएका विष्फोटमा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । अरु ७ जना घाइते भएका छन् ।

सुकेधाराको ढलाने पुल नजिकै सैलुनमा भएको विष्फोटमा घाइते भएका एक जनाको उपचारका क्रममा निधन भएपछि ज्यान गुमाउनेको संख्या ४ पुगेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । यसअघि सुकेधारामा भएको विष्फोटमा २ जना र अनामनगर नजिकै घट्टेकुलोको एउटा घरको कोठामा विस्फोट हुँदा एक जनाको ज्यान गएको थियो ।

मृतक चारै जना नेत्रविक्रम चन्द (विप्लव) का कार्यकर्ता भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बम बनाउने क्रममा विष्फोट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यस्तै चन्द्रगिरी नगरपालिका–३ इँटाभट्टा चोकमा बम विस्फोट भएको छ । प्रेसर कुकर बम बोकेर ल्याउँदै गर्दा भएको विष्फोटमा आकाश लामा घाइते भएका हुन् ।

यसैबीच घट्टेकुलोमा सिलिण्डर बम लिन गएका र त्यहाँ विष्फोट भएपछि भागेर कोठामा आएका सात जनालाई प्रहरीले कोटेश्वरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुको कोठाबाट विष्फोट गराउन तयारी अवस्थामा रहेको कुकर बम फेला परेको प्रहरीले जनाएको छ ।

यसैबीच गृहमन्त्री रामबहादुर थापाले काठमाडौं उपत्यकालगायत देशभरको सुरक्षा व्यवस्था थप मजबुत बनाउन सुरक्षा निकायका प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् ।

काठमाडौंमा आइतबार विष्फोटपछि आकस्मिक रुपमा गृह मन्त्रालयमा बसेको बैठकमा उनले घटनाबारे विस्तृत अनुसन्धान गर्न र सुरक्षा व्यवस्था थप मजबुत बनाउन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७