मन्त्रालयको काम एकातिर, सचिवको ध्यान ठेक्कापट्टातिर


१३ जेष्ठ २०७६, सोमबार
ramesh sing

काठमाडौं, १३ जेठ । मन्त्रालयको नीति निर्माण गर्नुपर्ने सचिव आफैं विभागले गर्नुपर्ने टेण्डरको चलखेलमा लाग्ने गरेका छन् । आफ्नो कम्पनीलाई ठेक्का दिनका लागि ऐन कानुन विपरीतका क्रियाकलापमा स्वयं सचिव नै संलग्न हुने गरेका छन् ।

सहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहले आफू पर्दापछाडि बसेर विभिन्न ब्यक्तिका नाममा ५ वटा परामर्शदाता कम्पनी खोलेका छन् । आफू संलग्न तिनै कम्पनीलाई ठेक्का दिलाउनका लागि उनी मन्त्रालयका काममा भन्दा सहरी विकास विभागका टेण्डरमा मात्र केन्द्रित हुने गरेका छन् । सचिव सिंहका एनडीसी, रिब्स, ग्रिड लगायत ५ वटा कम्पनी छन् । यीमध्ये कहिले रिब्स त कहिले एनडीसी र ग्रिडलाई ठेक्का दिनका लागि पदको दुरुपयोग गर्दैआएका छन् ।

सहरी विकास विभागअन्तर्गतका बीसौं करोड रुपैयाँका परामर्शदाताको टेण्डरमा उनका कम्पनीलाई नियुक्त गर्नका लागि उनले कानुन विपरीतका हर्कत देखाउने गरेका छन् । आफ्ना कम्पनीलाई ठेक्का दिनका लागि उनले गोप्य राख्नुपर्ने टेण्डर इभ्यालुएसन क्राइटेरिया नै माग्ने गरेका छन् । इभ्यालुएसन क्राइटेरिया पहिले नै लिएर त्यही अनुसारको डकुमेन्ट तयार गर्ने र आफ्नो कम्पनीलाई ठेक्का दिने गरेका छन् । गोप्य इभ्यालुएसन क्राइटेरिया सचिवले मागेपछि सहरी विकास तथा भवन विभागका इन्जीनीयर र डीईले दिने गरेका छन् । जुन क्राइटेरिया पहिले नै पाइसकेपछि त्यसै अनुसार मिल्नेगरी डकुमेन्ट बनाएर पेश गर्ने सचिवका कम्पनीले ठेक्का नपाउने कुरै भएन । अरु कन्सलटेन्सीले गोप्य रहनुपर्ने इभ्यालुएसन क्राइटेरिया पाउने कुरा हुँदैन । सचिवका कम्पनीले पहिले नै इभ्यालुएसन क्राइटेरिया पाएपछि उनीहरुले ठेक्का नपाउने संभावना कम हुन्छ ।

यसरी गोप्य राख्नुपर्ने इभ्यालुएसन क्राइटेरिया पहिला नै दिनु भनेको परीक्षा अगावै प्रश्नपत्र आउट भएजस्तै हो । परीक्षा अगाडि नै प्रश्नपत्र आउट भएपछि को फेल हुन्छ ? त्यस्तै सहरी विकास विभागका टेण्डरमा पहिले नै इभ्यालुएसन क्राइटेरिया आउट गरिसकेपछि सचिवका कम्पनी ठेक्का पाउने कुरा पक्का हुने नै भयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहरी विकास विभागका ठेक्काको फाइल हेर्ने हो भने रिब्स, एनसीबी, ग्रिड जस्ता परामर्शदाता कम्पनीमा सचिव सिंहको संलग्नता खुल्नेछ, आजको साँघु साप्ताहिकमा समाचार छ ।

सचिव सिंह भवन विभागको इन्जीनीयर हुँदैदेखि उनी कन्सलटेन्सी दर्ता गरी ठेक्कापट्टामा संलग्न थिए । सहसचिव बढुवा भएपछि आफ्नो, श्रीमती र आफन्तको नाममा कम्पनी राख्न नैतिक रुपमा नमिल्ने भएपछि उनले त्रिचन्द्र क्याम्पसमा अध्यापन गर्ने कृष्ण तिमिल्सिनाको नाममा राखेका छन् ।

सचिव सिंहले आफ्ना कम्पनीबाहेकका कम्पनीलाई ठेक्का दिएमा ती कम्पनीका संचालकलाई मन्त्रालयमा बोलाउँदै घुस मागेर हैरान पार्ने गरेका छन् । सचिव सिंहले राम्रो काम गरी समयमै काम सकी रिपोर्ट बुझाएका कम्पनीहरुको भुक्तानीमा रोक लगाउने र दुःखमात्र होइन, सास्ती दिने गरेका छन् । विभागमा भनेर ती कम्पनीको रिपोर्ट नबुझ्न दबाब दिने गरेका छन् । सचिवले भनेको विभागका कर्मचारीले मान्नैपर्ने हुन्छ । विभागले अनुगमन गर्नुपर्ने काममा समेत उनले आफैंले मन्त्रालयमा बोलाएर के के काम भएको छ भन्दै छलफल गराउने गरेका छन् । विभागको कामको विभाग आफैंले अनुगमन गर्ने गर्दछ । तर सचिव सिंहले मन्त्रालयमा बोलाएर छलफल गर्ने निहुँ पारी घुस माग्ने गरेका छन् । विभागमा यस्तो हस्तक्षेप बढेको र सचिवले ठेकेदारलाई मन्त्रालयमा बोलाएको बिषय मन्त्रालयका कर्मचारीले नै रुचाउने गरेका छैनन् ।

ठेकेदारलाई मन्त्रालयमा लाइन लगाएको देखेका सहरी विकास मन्त्रालयका कर्मचारीहरु ठेक्कापट्टामै लाग्नुपर्ने नि किन निजामती सेवामा आएको होला भन्ने टिप्पणी सचिवको बिषयमा गर्न थालेका छन् ।

ठेकेदारहरुसँग घुस र जिन्सीका रुपमा स्कुटरसमेत माग्ने गरेको आरोप सचिव सिंहमाथि छ । सचिव सिंहले पदको दुरुपयोग गरी आफ्ना कम्पनीलाई ठेक्का दिएको बिषयमा सहरी विकास मन्त्री इस्तियाक राईलाई समेत गुमराहमा पार्दैआएका छन् ।

यो पनि पढ्नुहोस्ः

यी मन्त्रालयका सचिव हुन् कि ठेकेदार ?

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७