उपत्यकामा विप्लव बन्दको आंशिक प्रभाव, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन

मोरङ, तनहुँ र बैतडीमा शंकास्पद वस्तु फेला


१३ जेष्ठ २०७६, सोमबार
banda 1

काठमाडौं, १३ जेठ । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आह्वान गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकामा आंशिक रुपमा परेको छ ।

आफ्ना कार्यकर्ता मारिएको विरोधमा विप्लव समूहले आह्वान गरेको बन्दको आंशिक प्रभाव परेको देखिएको छ । काठमाडौं उपत्यकामा सवारी साधन अघिपछिको तुलनामा केही कम चलेका छन् ।

मुख्य बजार बन्द छन् भने, भित्रि सडकका अधिकांश पसल खुलेका छन् । अधिकांश विद्यालय भने बन्द भएका छन् । बन्दको पूर्वसन्ध्या (आइतबार) गराइएको बम विष्फोटका कारण पनि सर्वसाधरणमा भय उत्पन्न भएको छ ।

काठमाडौं उपत्यका बाहिरका जिल्लामा भने बन्दको प्रभाव बढी देखिएको स्थानीयले बताएका छन् । अधिकांश जिल्लामा सवारी सञ्चालनमा आएका छैनन् भने उद्योग, कलकारखाना र शिक्षण संस्थान पनि ठप्प भएका छन् ।

भोजपुरमा आफ्ना कार्यकर्ता मारिएको विरोधमा विप्लव समूहले आज बन्द आह्वान गरेको हो । बन्दका क्रममा कुनै अप्रिय घटना नहोस् भनेर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

मोरङ, तनहुँ र बैतडीमा शंकास्पद वस्तु फेला
मोरङको सुन्दरहरैंचा ७ ढडियास्थित पूर्व–पश्चिम राजमार्गनजिक तारले बेरिएको प्रेसर कुकर भेटिएको छ । राजमार्ग छेउ बिजुलीको खम्बा नजिकै उक्त शंकास्पद वस्तु फेला परेको हो ।

bom 1
मोरङमा भेटिएको शंकास्द वस्तु

शंकास्पद वस्तु भेटिएको स्थानलाई सुरक्षाकर्मीले घेरा हालेका छन् । सेनाको डिस्पोजल टोली अध्ययनका लागि त्यसतर्फ परिचालन भएको मोरङ प्रशासनले जनाएको छ । रातो तारले कुकरलाई बेरेर राखएिको अवस्थामा फेला परेकाले भित्र विष्फोटक पदार्थ राखिएको हुन सक्ने अनुमान गरिएको छ ।

यसैगरी प्रदेश १ को राजधानी विराटनगर महानगरपालिका प्रवेश गर्ने ढाट चोकमा पनि शंकास्पद वस्तु भेटएिको छ । सुरक्षाकर्मीले उक्त स्थानलाई पनि घेरा हालेका छन् ।

तनहुँका दुई ठाउँमा शंकास्पद वस्तु
यता तनहुँमा दुई ठाउँमा शंकास्पद बस्तु सोमबार बिहान फेला परेको छ । पृथ्वीराजमार्गमा पर्ने बन्दीपुर १ नाहला र व्याँस नगरपालिकको मुसीखोलामा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

नाहला राखिएको शंकास्पद वस्तु भने सेनाको टोलीले डिस्पोजल पारिएको प्रहरी उपरीक्षक विनोद सिलवालले बताए । सेनाको टोलीले मुसीखोलामा राखिएको शंकास्पद वस्तु डिस्पोजलका गर्ने तयारी गरेको उनले बताए ।

विद्यालय नजिकै शंकास्पद वस्तु फेला
बैतडी–दोगडाकेदार गाउँपालिकामा सोमबार बिहानै शंकास्पद वस्तु फेला परेको छ । दोगडाकेदार– ३ को श्रीकोटस्थित सनातन धर्म मावि नजिकै महाकाली राजमार्गमा शंकास्पद वस्तु भेटिएको हो ।

प्लाष्टिकको दुई पोका तार जोडिएको र इनामेलका २ वडा डिब्वा रातो कपडाले बेरिएको अवस्थामा उक्त वस्तुहरु रहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए ।
खोचलेक प्रहरी चौकीको टोली घटनास्थल पुगिसकेको छ ।

शंकास्पद वस्तु बम हुनसक्ने प्रहरीले जनाएको छ । डिस्पोजलका लागि बैतडीस्थित हनुमानध्वज गुल्मबाट सेनाको टोली घटनास्थलतर्फ जान लागेको प्रहरी प्रवक्ता चन्दले बताए । नेत्रवित्रम चन्द समूहले सोमबार बन्द आव्हान गरेकाले उक्त समूहले नैशंकास्पद वस्तु राखेको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७