छोरी परीक्षार्थी, बाबु परीक्षा नियन्त्रक


१३ जेष्ठ २०७६, सोमबार
exam GIZrENHs3C

काठमाडौं, १३ जेठ । छोरी परीक्षार्थी रहेको परीक्षामा शिक्षामन्त्रीलाई ढाँटेर राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रकका रूपमा कृष्ण शर्मा सहभागी भएको पाइएको छ । उनी बदनियतपूर्ण तरिकाले परीक्षामा सहभागी भएको भेटिएको हो ।

स्रोतका अनुसार परीक्षाका दिन बिदा बसेका उनी प्रश्नपत्र बनाउन र उत्तरपुस्तिका परीक्षणमा भने संलग्न रहेको पुष्टि हुन्छ । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेल, सदस्यसचिव दुर्गाप्रसाद अर्याल र शर्माले मिलेमतो गरी शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई समेत यस विषयमा झुक्याउन सफल भए ।

शर्माकी छोरी ललितपुरको प्रसादी एकेडेमीबाट कक्षा १२ को परीक्षामा सहभागी हुँदै थिइन् । बुवा नियन्त्रक थिए । उनी प्रश्नपत्र छपाइमा संलग्न रहेको भन्दै बोर्डकै कर्मचारीहरूले असन्तुष्टि जनाएका थिए । उक्त कुरा सञ्चारमाध्यम हुँदै शिक्षामन्त्रीसम्म पुग्यो । मन्त्रीले चासो देखाए । परीक्षा सुरु हुनु २ दिनअघि शर्माले बिदा बस्ने निवेदन दर्ता गराए ।

शर्मालाई जिम्मेवारीबाट हटाउने निर्णय भयो । नियन्त्रक शर्मालाई परीक्षाबाट हटाइएको जानकारी मन्त्रीलाई दिइयो । तर शर्मा मन्त्रीलाई समेत झुक्याएर मर्यादा विपरीत परीक्षाका काममा पटकरपटक सहभागी हुँदै आएका छन् ।

परीक्षाको आचारसंहिता र मर्यादाअनुसार छोराछोरी वा नातागोताका कोही परीक्षामा सम्मिलित हुने भए जिम्मेवारीमा बस्न पाइँदैन । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७