३४ करोड जफत गर्दै हेटौडा-भरतपुर प्रशारण लाइनको ठेक्का तोडियो

कुलमान भन्छन्, ‘कम्पनीको काम शुरुबाटै सन्तोषजनक थिएन’


१३ जेष्ठ २०७६, सोमबार
transmission

काठमाडौं, १३ जेठ । नेपाल विद्युत प्राधिकरणले हेटौडा–भरतपुर–बर्दघाट २२० केभी प्रशारण लाइन आयोजना अन्तर्गत हेटौडा–भरतपुर खण्डको ठेक्का तोडेको छ ।

कामको प्रगति सन्तोषजक नभएपछि नेपाल विद्युत प्राधिकरणले हेटौडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत हेटौंडा–भरतपुर खण्डको ठेक्का तोडेको छ ।
भारतीय कम्पनी आईकम टेलले अपेक्षाअनुसार काम नगरेपछि उक्त कम्पनीसँगको ठेक्का केही दिनअघि तोडेको हो । कम्पनीले कार्यसम्पादन जमानत वापत राखेको ३० लाख ५७ हजार अमेरिकी डलर (करीब रु. ३४ करोड) पनि जफत गरिएको छ ।

यसैगरी प्राधिकरणले काम ढिला गरे वापत् करीब १६ लाख डलर विलम्व जरिवाना पनि लगाउने निर्णय गरेको छ । प्राधिकरणले यस अघि आयोजना अन्तर्गतको भरतपुर–बर्दघाट खण्डको सेन्ट्रल चाइना पावर ग्रिड (सीसीपीजी) सँगको ठेक्का पनि तोडेको थियो ।

प्राधिकरणको सिफारिसमा केही दिनअघि सार्वजनिक खरीद अनुगमन कार्यालयले नेपालको ठेक्कापट्टामा तीन वर्षसम्म भाग लिन नपाउने गरी सीसीपीजीलाई कालासूचीमा राख्ने निर्णय गरिसकेको छ ।

ठेक्का तोडेपछि कार्यकारी निर्देशक कुलमान घिसिङ, दातृ निकाय विश्व ब्याङ्कका नेपाल कार्यालयका देशीय प्रबन्धक फारिस हढाढ जर्भोससहितको टोलीले आइतबार र सोमबार मकवानपुरको हेटौडामा पर्ने आयोजना निर्माणस्थलको निरीक्षण गरेका छन् ।

घिसिङले कम्पनीले निर्माण कार्य ठप्प पारी ठेक्का सम्झौताको उल्लघंन गरेकाले ठेक्का तोडिएको जानकारी दिएका छन् । उनले, साइटमा नभए पनि ठेकेदार कम्पनीले अटेर गरी जिम्मेवारीपूर्वक काम नगरेको तथा पत्राचारको कुनै जवाफ नदिएका कारण सम्झौता उल्लघंन गरेको जानकारी दिएका छन् ।

‘कम्पनीको काम शुरुबाटै सन्तोषजनक थिएन, त्यसैले ठेक्का तोडिएको हो’, घिसिङले भने । उनले नयाँ ठेक्कापट्टको प्रक्रिया अन्तिम चरणमा भएकाले छिट्टै नयाँ टेण्डर आह्वान गरेर कामलाई अघि बढाइने समेत बताएका छन् ।

प्राधिकरण र कम्पनीबीच ७४ किलोमिटर हेटौंडा–भरतपुर २२० केभी डबल सर्किट प्रशारण लाइन निर्माणका लागि ०६५ को फागुनमा ९६ लाख ३६ हजार अमेरिकी डलर र १९ करोड ७३ लाख १५ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

यस खण्डमा पर्ने २२६ टावरमध्ये १६८ को जग हालिएको छ भने ११९ वटा खडा गरिएको छ । १२ किलोमिटर मात्रै तार तानिएको छ । आयोजना अन्तर्गतको भरतपुर–बर्दघाट निर्माणका लागि नयाँ टेण्डर गरी चिनियाँ कम्पनी हेङटन अप्टिक्स इलेक्ट्रिकसँग २०७५ साउनमा ५५ लाख ७५ हजार डलरमा ठेक्का सम्झौता भएको थियो ।

यो खण्डमा पर्ने २४६ टारमध्ये १३७ को जग हालिएको, १०१ खडा गरिएको छ । तार भने तानिएको छैन । निर्माण २०७६ को माघभित्रमा सक्ने लक्ष्य राखिएको छ । नेपालभित्रको प्रशारण लाइन सुदृढ तथा विश्वसनीय बनाउन र पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि हेटौडा–भरतपुर–बर्दघाट प्रशारण लाइनको निर्माण गर्न लागिएको हो । नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैकको सहुलितपूर्ण कर्जामा आयोजनाको निर्माण भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७