२० वर्षमा नभएको काम दुई वर्षमा गर्न सकियो : शंकरबहादुर राई


१४ जेष्ठ २०७६, मंगलवार
shakar bahadur rai jantedunga ghaupalika शंकरबहादुर राई

नेपालमा अहिले संघ, प्रदेश र स्थानीय गरी तीन तहको संरचनामा छ । यो संरचनामा नेपालको अभ्यास शुरुवाती र नयाँ नै छ । प्रदेश र स्थानीय तहले नयाँ अभ्यास अनुसार काम गरिरहेका छन् । स्थानीय तह सञ्चालनका लागि अझै धेरै कानूनहरु बन्न बाँकी नै छन् । तर, पनि स्थानीय जनप्रतिनिधिहरुले काम गरिरहेका छन् । स्थानीय तहको चुनाव भएको पनि दुई वर्ष पुग्न लागेको छ । अहिलेको सरकारसँग नागरिकको अपेक्षा धेरै छ । तर, नागरिकको अपेक्षा अनुसार काम हुन नसकिरहेको गुनासोहरु पनि सुन्न पाइन्छ । स्थानीय तहहरुले चुस्त रुपमा काम गर्न नसकिरहेको गुनासो नागरिकमा छ भने स्थानीय तहको पनि आफ्नै अप्ठ्याराहरु छन् । कतिपय स्थानीय तहमा काम गर्नका लागि कानूनको अभाव टड्कारो रुपमा रहेको छ । जसका कारण स्थानीय जनप्रतिनिधिहरुले चाहेर पनि नागरिकले चाहे अनुसारको सेवा सुविधा दिन असमर्थ रहनु परेको बताइरहेका छन् । कानून अभावमा अगाडि समस्याहरुलाई झेल्दै अगाडि बढिरहेको स्थानीय तहका जनप्रतिनिधिको दुई वर्षे कार्यकालको अनुभव कस्तो होला, अनि कसरी विकास निर्माणको कामलाई अगाडि बढाइरहेका होलान् ? यो सबैको चासोको विषय हो । यसै सन्दर्भमा नयाँपेजका रविन राईले खोटाङ जिल्लाको जन्तेढुङ्गा गाउँपालिका अध्यक्ष शंकरबहादुर राईसँग गरेको कुराकानी :

१. स्थानीय तहको अभ्यास कस्तो भइरहेको छ ?
यो संरचना आइसके पनि अझै संक्रमणकालीन अवस्थामै छौँ । संघीय संरचना अनुसार काम गर्न अझै पनि केहि नीतिगत समस्या र चुनौती छन् । हाम्रो गाउँपालिकामा १९ जनाको कर्मचारी दरबन्दी भए पनि दुई जना कर्मचारीले चलाई राख्नु परेको अवस्था छ । ६ वटा वडा रहेको गाउँपालिका एउटै वडामा पनि सचिवहरु छैन् । तर पनि हामीले संर्घष गरेर उपलब्ध कर्मचारीको साथ सहयोगबाट हुनेसम्म र सक्नेसम्मको नागरिकलाई सेवा दिने प्रयास गरिरहेका छौं ।

गत साल पहिलो वर्ष भएकाले केही अप्ठ्यारो भयो । तर, सिक्ने, अनुभव बटुल्ने क्रममा उत्साहित भएर लागेका छौं । जसका कारण विस्तारै यो असहजता कम हुँदै गईरहेको छ । परामर्श, समन्वयका आधारमा विकास निर्माणका कामहरु अगाडि बढाइरहेका छौं । जसका कारण यो सालको ९५ प्रतिशत बजेट खर्च भएको छ । हाम्रो पहिलो वर्षको प्राथमिकता सडक थियो । अहिले सबै टोल–टोलमा सडक पुर्‍याएका छौँ । जनताहरु खुशी हुनुहुन्छ । त्यसपछि हाम्रो प्राथमिकता स्वास्थ्य, शिक्षा, खानेपानी विद्युत राखेका छौँ ।

shakar bahadur rai शंकरबहादुर राई जन्तेढुङ्गा गाउँपालिका

हामीले विकासको पहिलो पूर्वाधारका रुपमा सडकलाई नै ठान्यौं, वास्तवमा यो यहाँको आवश्यकता पनि हो । सडक सबै ठाउँमा पुगिसकेपछि विद्युत ल्याउन सहज भएको छ । यससँगै स्वास्थ्य र शिक्षाको क्षेत्रमा राम्रो काम गरेका छौँ ।

२. स्वास्थ्य क्षेत्रमा के–के काम भएका छन् ?

हामीले स्वास्थ्यको क्षेत्रमा विगतमा भन्दा राम्रो काम गरेको महसुस गरेका छौं । स्थानीय नागरिकलाई राम्रो गुणस्तरयुक्त औषधि र उपचार दिने उपलब्ध हुने वातावरण सिर्जना गरेका छौँ । गाउँपालिकामा स्वास्थ्यकर्मीहरुको पनि अभाव थियो । गाउँपालिकाले कार्यविधि र ऐन बनाएर विज्ञापन गरेर कर्मचारी नियुक्त गर्न सफल भएका छौं । स्वास्थ्य कार्यालयहरुमा कर्मचारी नै नभएको अवस्था थियो । अहिले सबै वडाको स्वास्थ्य चौकीहरुमा स्वास्थ्यकर्मीहरुको अभाव छैन । जसका कारण सामान्य रोगको उपचारका लागि जिल्ला बाहिर धाउनु पर्ने अवस्थाको अन्त्य गरेको छ ।

३. शिक्षाको क्षेत्रमा चाँहि अहिले के काम भइरहेको छ ?

बालबालिकाहरुलाई स्कुल नजिक होस् भनेर प्रस्तावित माध्यमिक विद्यालयहरु चलाएका छौँ । दरबन्दी नभएका ठाउँहरुमा गाउँपालिकाले दरबन्दी दिएर सहयोग गरेका छौं । यसैगरी बालबालिकाहरुलाई उत्कृष्ट र समयसापेक्ष शिक्षा दिनका लागि तल्लो तहबाटै सुधार गर्नुपर्छ भन्ने महसुसका साथ आवश्यक रणनीति बनाएर काम अगाडि बढाएका छौं । हामीले प्रत्येक विद्यालयमा बाल शिक्षक नियुक्त गरेका छौँ । ३६ वटा विद्यालयमा सरकारले बाल शिक्षा नीति निर्माण गरी १८ विद्यालयमा शिक्षक दिएका छौं । संविाधानमा लेखिएको छ, ‘बाल शिक्षादेखि कक्षा १२ सम्म गाउँपालिकाले हेर्ने’ भन्ने बुंदालाई पालना गर्दै शिक्षा ऐन कार्यविधि बनाएर बाल शिक्षामा देखिएको शिक्षक अभाव पुर्ति गरेका छौं ।

२०७५ चैत्र ८ गते बसेको हिउँदे अधिवेधन अर्थात दोस्रो गाउँसभाले शिक्षा, स्वास्थ्यलगायतका ऐनहरु पारित गरेको छ । अब राजपत्रमा सार्वजनिक गर्ने तयारी भइरहेको छ । यसलाई हामीले हाम्रो ठूलो उपलब्धी मानेका छौं । अझै धेरै कामहरु गर्न बाँकी नै छन्, विस्तारै आवश्यकताका आधारमा अगाडि बढ्दै जाने हो ।

४. गाउँपालिकाहरुमा ऐन, कानूनको अभावमा धेरै कामहरु गर्न कठिनाइ परेको समाचारहरु आइरहेका छन्, तपाईहरुकोमा चाँहि के छ ? कति ऐनहरु बनाई सक्नु भयो त ?

हामीले दुई वर्षको अवधिमा ३१ वट ऐनहरु बनाइसकेका छौं । अब राजपत्रमा प्रकाशित गर्ने तयारीमा छौं । यो व्यवहारिक रुपमा कार्यान्वयनमा आइसकेपछि अहिलेसम्म गर्न नसकिएका अन्य धेरै कामहरु गर्ने बाटो खुल्ला हुन्छ । त्यसपछि नागरिकले अपेक्षा गरेका कतिपय कामहरु अगाडि बढ्छन् अनि गुनासोहरु सम्वोधन हुँदै जान्छन् ।

५. न्याय प्रणालीको अवस्था कस्तो छ ?

हामीले न्यायिक समितिको पनि विधेयक पास गरेका छौँ । आएका समस्याहरु सहजरुपमै समाधान गर्दै आएका छौँ । यहाँ त्यस्तो ठूला मुद्दाहरु आएका छैनन् । हामीले हेर्न मिल्नेसम्मका विवादका घटनाहरुलाई मध्यस्थता गरेका छौं, अहिलेसम्मको हाम्रो काममा सबै नागरिकको चासो, सहयोग र समर्थन छ ।

६. कार्यालय व्यवस्थापनको अवस्था कस्तो छ ?
हामीले कार्यालय बनाउन जग्गा खोजी गर्दा नपाएपछि पहिलो वर्ष गाउँपालिकाको स्थायी कार्यालय बनाउन सकेका छैनौं । गाउँपालिकाका लागि आवश्यक र उपयुक्त जग्गा खोजीको प्रयास अहिले पनि जारी छ । अब यो वर्ष जग्गाको खोजी भईसकेपछि भवन निर्माणतिर लाग्छौँ ।

७. तपाईहरु जनप्रतिनिधि भएर आइ सकेपछि यहाँका जनताको साथ सहयोग कस्तो छ, नागरिकले जनप्रतिनिधि पाएपछि के महसुस गरेको पाउनु भयो ?

संघीय संरचनामा आइसकेपछि यहाँका जनताले चाँडै विकास निर्माण कामहरु अगाडि बढ्यो भन्ने नै प्रतिक्रिया दिइरहेका छन् । जनताहरु हाम्रो कामबाट सन्तुष्ट नै हुनुहुन्छ । संघीय संरचना नभएको भए यति विकास हुन २० वर्ष लाग्थ्यो भन्ने नागरिकको बुझाई छ । संघीय संरचनामा देश चाँडै विकास र समृद्धि हुने रहेछ भन्ने नागकिले महसुस गरेको पाएका छौं ।

८. जनताको जीवनस्तर सुधार गर्न के–के एउटा जनप्रतिनिधिको हैसियतले के–के कामहरु गर्नु भएको छ ?

यस गाउँपालिकाका अधिकांश नागरिक कृषिमा निर्भर हुनुहुन्छ । कृषिमा लगानी गरेर आत्मनिर्भर बनाउन टोल–टोलको माटो परीक्षण गर्दैछौँ । त्यही अनुसार किसानहरुलाई तालिम दिदैछौँ । रासायनिक मललाई निरुत्साहित गरी कम्पोष्ट मल प्रयोगमा किसानलाई आकर्षित गराउन कम्पोष्ट मल बनाउने सीप सिकाउन विभिन्न तालिमहरु आयोजना भइरहेका छन् । हामी सिङ्गो गाउँपालिकालाई अर्गानिक गाउँपालिका बनाउनेतिर लागेको छौँ । ५ वर्षभित्र यो कार्यमा सफल हुने अठोट लिएका छौं ।

अहिले स्वीस सरकारको ४५ लाख र गाउँपालिकाको ७० लाखको बजेटमा कृषि विकास समिति गठन गरी काम गरिरहेका छौँ । यस अन्तर्गत कृषि समूहहरु गठन गरेका छौँ । यसमार्फत अब ५ वर्षभित्र कृषिबाटै आत्मनिर्भर बन्ने खालको गुरुयोजना तयार गर्ने गरी कामहरु अगाडि बढाएका छौं ।

९. यहाँको जनताको साथ समर्थन चाँहि कस्तो पाइरहनु भएको छ ?
यो दुई वर्षमा जनस्तरबाट राम्रो साथ सहयोग पाइरहेका छौं । कुनै अप्ठ्यारो महसुस भएको छैन । सबैले गाउँपालिकामा राम्रो विकास भएको छ । राम्रो विकास अवधारण ल्याउनु भएको छ । राम्रो गर्नु भएको छ भनेर प्रसंशा नै गरिरहनु भएको छ । हाम्रो गाउँपालिकाको टिम पनि राम्रो छ । हाम्रो सोंचमा कर्मचारीको पनि साथ सहयोग राम्रो छ ।

१०. गाउँपालिकामा समस्याहरु चाँहि के–के छन् ?

सबै भन्दा ठूलो त कर्मचारी समस्या छ । दुई–तीन जना कर्मचारीले यत्रो गाउँपालिका चलाउनु परेको छ । कुनै पनि वडामा सचिवहरु छैनन् । अर्को कार्यालय भवनको समस्या छ । अरु सानातिना समस्याहरु त हामी आफैले समाधान गर्दैछौं । मुख्य समस्या चाँहि यिनै हुन् ।

११. अबको योजनाहरु के कस्ता छन् त ?

यो गाउँपालिका तराईबाट एकदमै नजिक छ । ४२ किलोमिटरमा तराईको भू–भागमा पुगिन्छ । तीन वर्षभित्र हिँउद–वर्षा मोटर चल्ने सडक बनाउने योजना बनाएका छौँ । विद्युत विस्तार गर्ने बनाएका छौँ । कृषिमा स्थानीयलाई आत्मनिर्भर बनाउने छौँ । स्वास्थ्यमा चिसापानीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैंयाको अस्पताल बनाउने योजना छ ।

यहाँका जनताले छोराछोरीलाई तराईलगायतका अन्य क्षेत्रमा शिक्षाका लागि लगिरहनु पर्ने अवस्था छ । शिक्षाको क्षेत्रमा यसै गाउँपालिका उत्कृष्ट शिक्षा दिने तयारी गरेका छौँ । त्यसका लागि नमुना शिक्षाका लागि योजना तयारी गरेका छौँ । नागरिकको साथ सहयोग यस्तै रहे हामी लक्ष्यमा पुग्न सफल हुनेछौं ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७