गणतन्त्र दिवसमा ‘मानव साङ्लो’ बनाएर एकताको सन्देश


१५ जेष्ठ २०७६, बुधबार
janaki mandir

जनकपुर, १५ जेठ । गणतन्त्र दिवसको अवसरमा प्रदेश नं २ सरकारको अगुवाइमा आज बिहान प्रभातफेरी आयोजना गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका कार्यालयको अगाडिबाट शुरु भएको प्रभातफेरी नगरका विभिन्न चोक परिक्रमा गरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा आएर समापन भएको थियो ।

सो अवसरमा मुख्यमन्त्री लालबाबु राउतले गणतन्त्रका लागि आफ्नो ज्यानको आहुति दिएका शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल लोकतन्त्रकै उत्कृष्ट नमूना रहेको बताए । तीन तहको सरकार बनिसकेकाले अब विकास निर्माणको जिम्मा हामी सबैको रहेको उल्लेख गर्दै उनले बताउँदै सबैले आ–आफ्नो जिम्मेवारी पूरा गरेर मुलुकलाई समृद्ध बनाउनुपर्ने धारणा राखे ।

प्रभातफेरीमा मुख्यमन्त्री राउतसहित प्रदेश सरकारका मन्त्री, सुरक्षा निकायका प्रमुख, जनकपुर उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, कर्मचारीलगायतको सहभागिता रहेको थियो ।

त्यसैगरी गणतन्त्र दिवसका अवसरमा आज जनकपुरधामको जानकी मन्दिर परिसरमा विभिन्न शैक्षिक प्रतिष्ठानका शिक्षार्थीद्वारा मानव साङ्लो बनाइएको छ । एकताको सन्देशका लागि जनकपुरधामका विभिन्न शैक्षिक प्रतिष्ठानद्वारा मानव साङ्लो बनाएको बताइएको छ ।

प्रदेश नं २ को मुख्यमन्त्री कार्यालयमा हिजो बसेको सर्वपक्षीय बैठकले दुई दिनसम्म विशेष कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने गरेको निर्णयअनुसार आज यहाँ मानव साङ्लो निर्माण गरिएको हो । सोही अवसरमा भोलि बिहीबार चियापान समारोह गरिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७