हरिप उपेन्द्र, सरिफ उपेन्द्र


राजन मुकारुङ
प्रकाशित मिति : January 3, 2020

म त लेखिदिन्छु
जाँठो जिन्दगी
के के नमिलेको
के के नपुगेको…

राजन मुकारुङ र उपेन्द्र सुब्बा

पहिलो कविता कृति ‘डाँडामाथिको घामजून र गडतीरका राँकेभूतहरू’ प्रकाशित भएपछि माथिको पङ्क्तिले नेपाली साहित्यमा ठूलै तरङ्ग ल्याएको थियो । खासगरी ‘जाँठो’ शब्दलाई लिएर । कसैले गाली भन्ठानेर ललकारेका थिए, कसैले साँस्कृतिक मूल्यका अर्थमा स्विकार गरेका थिए । आलोचना र समर्थन दुवै भएको थियो कविको । तर, त्यही कृतिमा कविले ‘शत्रुको बगैँचामा फुलेको फूल भयो जिन्दगी…’ भनेर सबैलाई शान्त हुन बाध्य पारेका थिए । तिनै कवि हुन् उपेन्द्र सुब्बा ।

उपेन्द्र सुब्बाबारे लेख्नु मेरा लागि जति सहज छ अरूका लागि गुणौँ कठीन छ । फेरि अरूका लागि जति कठीन छ मेरा लागि त्योभन्दा चुनौतीपूर्ण र खतरनाक दुवै छ । मेरा लागि सहज यसकारण छ कि मसँग उनी औधी सहज छन् । चुनौतीपूर्ण यसकारण छ कि मैले उनको सम्पूर्णता लेख्न कन्जुस्याइँ गर्ने हुँ कि ? र, झनै खतरनाक यसकारण छ कि आवेगमा आएर कतिपय कुरालाई अलि बढी ‘हाइपोथेटिक’ पो बनाइदिने हुँ कि ? जस्तो कि मैले उनको ‘खोलाको गीत’ कविता कृतिको लोकार्पण समारोहमा उनीबारे जे बोलेको थिएँ, त्यसको ‘बुमेराङ’मा उनले भनेका थिए, ‘राजनजीले भनेजस्तो त म हुँदै होइन । म कति हरिप छु भन्ने त मलाई पो थाहा छ त ।’ यहाँ यी ‘हरिप’ उपेन्द्रबारे उनीसँगको मेरो बसउठलाई लेख्न बसेको छु म ।

 

किम्चीमा भेटिएका
हाङयुग अज्ञात र म सिर्जनशील अराजकताका बारे घोत्लिँदा थियौँ । केही नयाँ त गर्नै पर्छ भन्ने लागिरहन्थ्यो । सिर्जनशील अराजकताको अभियानबाट के के भन्ने ? कसरी भन्ने ? छलफल भइरहन्थ्यो । न्यु प्लाजामा अवस्थित किम्ची रेस्टुरेण्ट हाम्रो भेटघाटको थलो थियो ।
हाम्रा सुरुवाती दिनहरू थिए । केही ‘गुटे कवि गोष्ठी’हरू मात्रै हाम्रा लागि कविता भन्ने ‘स्पेस’ थिए । तिनैलाई हामीले आफ्नो रचना सुनाउने थलो बनाएका थियौँ तर यस्ता गोष्ठीहरू पनि विरलै हुन्थे । अरू गोष्ठीहरूमा पत्याइएका थिएनौँ हामी । कवितामा पनि सीमान्तीकृत् थियौँ हामी भनूँ न । हामीले पनि शैलेन्द्र साकार, युयुत्सु आरडी शर्माहरूसित मिलेर ‘किम्ची कविता अभियान’ थालेका थियौँ । यसै मेसोमा मिसिएका थिए उपेन्द्र तर कविता सुनाउन होइन; सुन्न मात्रै ।


अहिले झट्ट देखिँदा बब मार्लीजस्ता देखिन्छन्, रङ्गकर्मी सुनील पोखरेल र म उनलाई उपेन्द्र मार्ली भनेर पनि गिज्याउँछौ तर घृणाले कदाचित् होइन, साँच्चीकै सम्मान र प्रेमले । मझौला कद, गोलाकार अनुहार, चिम्सा आँखा, हल्का थेप्चो नाक, थोरै बोल्ने, मन खुस गरेर हाँस्दा निदाएझैँ देखिने, ‘हेहेहे’ गर्दा आउने आवाजमा मधुर घोर्लेपना, खाँट्टी लिम्बू पहिचानधारी, त्यसबेला तासफोटोजस्तै ‘क्लिन’ गीतकार मात्रै थिए उपेन्द्र सुब्बा । उनी रेडियो नेपालले गर्ने आधुनिक गीत प्रतियोगितामा पुरस्कृत भइसकेका थिए । गीतकै ‘एल्बम’ निकाल्न काठमाण्डू आएका हुन् भन्नेसम्म थाहा थियो हामीलाई । कविता वाचनको कार्यक्रम सकिएपछि जाँडपानी चलिहाल्थ्यो । अनि हुन्थ्यो ‘सिर्जनशील अराजकता’बारे विमर्श । उनी चासोले सुन्थे हाम्रा कुरा । के के नमिलेर ‘किम्ची कविता अभियान’ पनि त्यतिकै थला प¥यो । अनि हामी तीनजनाको (हाङ्युग, उपेन्द्र र मेरो) मात्रै भेट हुने थलो बन्यो किम्ची ।  एक साँझ हाङ्युग आएनन् । उपेन्द्रले थोरै लजाउँदै भने, ‘सर, म पनि कैलेकहीँ यस्सो कविता लेखिटोपल्छु । खै के भाको ? मेरो त कविता नै हुँदैहुँदैन ।’
मैले उत्साहित नहुने कुरै थिएन । कर गरिहालेँ, ‘अरे सर, सुनिहालौँ न !’

उनले लजाउँदै लजाउँदै ‘समानान्तर’ शीर्षकको कविता सुनाए । अहो ! म पो लाजले भुतुक्कै भएँ । लाग्यो, खास कविचाहिँ उपेन्द्र रहेछन्, हाङ्युग र म त त्यतिकै फाइँफुट्टी लगाइरहेका रहेछौँ । त्यसैदिनदेखि हाम्रो सम्बन्ध अझ नजिकको भयो । हाम्रै करमा त्यही साल उनको पहिलो कविता सङ्ग्रह प्रकाशित भयो । त्यसपछि त सबैले उनलाई ‘कवि’ नठानी धरै भएन ।

काव्यिक दर्शन
कविताको सन्दर्भमा उपेन्द्र सुब्बा सबैका लागि प्रिय र आत्मीय नाम हो । झर्रा कुराहरू, झर्रा दर्शनहरू र झर्रा चिन्तनहरू पनि भनूम्, ठेट बिम्ब र प्रतीकहरूले संयोजित सरल र सपाट कविता लेख्न माहिर, मुन्धुमि लय र तानसहित लोरी सुन्दासुन्दै जसरी शालीन बनिसकेर बालक निदाउँछ, ठीक त्यसरी नै भद्र बन्न बाध्य पार्छन् उपेन्द्रका कविताले । कतिपनि उग्रता पाइँदैनन् उनका कविताहरूमा, न त शास्त्रीय जडताहरू नै जबरजस्त घुस्छन् । पाठकको दिमागलाई ‘ड्यामेज’ गरिदिने दुस्साहस पनि गर्दैनन् उनका कविताहरूले । बरु, पाठकहरू सहज पठन गर्छन्, एकै पटकमा पढिसक्छन्, ‘रि–फ्रेस’ हुन्छन् । किताबका पानाहरू बन्द गरेर उनकै कविताका पङ्क्तिहरू भन्न थाल्छन्ः
बाउले नपढेर दुःख पाए
मैले पढेर दुःख पाएँ

बाउ गाउँमा हलो जोतिरा’छन्
म सहरमा टाउको जोतिरा’छु

गरिखानलाई बाउसँग संसार छ
भोकभोकै मर्न मसँग अहंकार छ

बाउले नपढेर दुःख पाए
मैले पढेर दुःख पाएँ

‘समानान्तर’ दुःखको यो फिलिङ्गोले छोरा पुस्ता अर्थात् हाम्रो आजको पुस्तालाई गम्भीर व्यङ्ग्य गर्छ । सरल भाषा र शैलीमा भन्छ र त हामी ‘हो नि’ भन्न बाध्य हुन्छौँ । हाम्रा आदर्शहरू, तीव्र प्राप्तिका सपनाहरू वा गोलमटोल महत्वकाङ्क्षाहरू ती सबै छरपस्ट छन् । हामी निर्दिस्ट छैनौँ । बेचैनीका कारण हाम्रो लक्ष्य बिटुलिएको छ । ‘सहर’ अर्थात् हाम्रो ‘समय’ले हामीलाई यतिबिघ्न जर्जर बनाइसक्यो कि हामी आफ्नै रहस्यहरूको गहिरोमा फसिसक्यौँ । हाम्रो चिन्तनको ‘लय’ वा ‘तन्मयता’ भङ्ग भइसकेको छ । हामी ‘क्षणभङ्गुरतावादी’ संस्कृतिको फेरोमा लट्किएका छौँ । ‘क्षणभर’ बाँच्नुको अर्थबोधमा हामीले जीवनलाई खामबन्दी गरिदियौँ । त्यसले हामीलाई आडम्बर मात्रैको सुख दिएको छ । तर, आम मान्छेहरू ठूल्ठूला सपनाहरू देखेर कहाँ बाँच्छन् र ? सामान्य जीवन–गुजाराको सपना मात्रै हुन्छ खासमा उनीहरूको । समयको झोक्काले ‘देखासिकी’मा बाँधिदिएर मात्रै हामी आडम्बरी बाँच्न खोज्छौँ, त्यसैले हामीलाई रसातलमा भसाएको छ । उपेन्द्रको काव्यिक दर्शन यही हो । उनी त्यो रसातलबाट बाहिर निस्कने उपाय सुझाउँछन् कलात्मक पाराले ।

गुपचुप गुपचुप
‘खोलाको गीत’ कविता सङ्ग्रह प्रकाशित भएपछि मैले उपेन्द्रलाई भनेँ, ‘होउ सर, तपाईंलाई कला अनुरागीले खोजिरहेको छ ।’
‘कला भन्ने बैनी त को पो सर ?’ उपेन्द्रको प्रश्न थियो ।
‘हत्तेरी सर, अस्ति भेटेको होइन ? बैनी होइन, नयाँ पत्रिकाको पत्रकार भाइ हो ।’ मैले भनेँ ।
‘थेत् म ! के भाको ? पत्रकार साथीहरूको नाम त ख्यालै पो राख्दिनँ ।’ उपेन्द्रले भने ।
उपेन्द्रको यो बानी समस्या होइन, उनी प्रायः गुपचुपमै रहन मन पराउँछन् । जोकोहीसँग संगतमा गइहाल्नु मान्दैनन् । उनको यो पहिल्यैदखिको स्वभाव हो । हालसम्म पनि उनका जति गीतहरू ‘रेकर्डेड’ छन् ती प्रायः संगीतकारद्वय शान्तिराम राई र पारस मुकारुङले मात्रै संगीत भरेका छन् । उनलाई म प्रायः भन्ने गर्छु, ‘होउ सर, अरू संगीतकारहरूलाई पनि तपाईंका गीतहरू संगीत गर्न दिऊँ न !’
उपेन्द्रको सिधा जवाफ हुने गर्छ, ‘हाउ सर, म अरू संगीतकार चिन्दिनँ । अरूले मलाई चिन्दैनन् । नचिनेको मान्छेलाई कसरी पत्याउनु ? चिनेको भनेको यै दुईजनालाई हो । यिनै मात्र पो संगीतकार हो भन्ने लाग्छ ।’
यसरी उपेन्द्र गुपचुप रुचाउँछन् । मिडियासँग त झनै पातलिन चाहन्छन् ।

 

खाँदैनन् माछामासु, छुँदैनन् जाँडरक्सी
माछामासु खाँदैनन्, जाँडरक्सी छुनै मान्दैनन् । ‘गेटअप’ उस्तै लट्टाधारी । लाग्छ उनी साधु–सन्यासी हुन् । घरि न घरि आध्यात्मिक कुरा पनि पो गरिहाल्छन् तर यो सत्य होइन । मासुका बारे उनको पहिल्यैको एउटा रमाइलो किस्सा छ । ‘हिट’ पनि छ साथीभाइमाझ ।
खाजा खानेबेला भएको थिएछ, संगीतकार पारस मुकारुङले सोधेछन्, ‘उपेन्द्रजी, खाजा के खाऊँ होला ?’
उपेन्द्रले जवाफ फर्काएछन्, ‘खै, सर मासुभातै मीठो हाउ ।’
मासुका यति पारखी उपेन्द्र अहिले भने खाँदैनन् । उनले तर आध्यात्मिक भएर भने यी सब छोडेका होइनन् । सक्दो रुपमा माछामासु र जाँडरक्सी पहिल्यै लिइसकेका हुन् । अहिले त ‘युरिक एसिड’ले चापेर छाड्न बाध्य पारेको हो ।

आध्यात्मिक पनि अलिअलि
काठमाण्डूबाट दिक्क भएर दमक बस्दा यिनले विरु स्वामि (वनेम लिम्बू)लगायतका ओशोका अनुयायी युवाहरू भेटे । उनले पनि ओशो पढे । त्यतिले मात्रै उनलाई पुगेन, साधु–सन्यासी आदिका बारे पनि बुझ्ने प्रयास गरे । आध्यात्मिक चिन्तनका किताबहरू खूब पढे । तिनले उनलाई आध्यात्मिक बन्न उत्प्रेरित ग¥यो । ‘धर्म’ नामको ‘अफिम लत’मा लठ्यायो पनि । त्यहीवेला उनले कपाल पाले, अहिले जट्टा पालेका छन्, आजको पुस्ताले ‘डेडलक’ भन्छन् । त्यही गरेका छन् । तर, उनी पूरै आध्यात्मिक होइनन्, अलिअलि मात्रै हुन् ।
उनले पछिल्लो अन्तर्वार्तामा भनेका छन्, ‘सुरुमा त सन्यासी नै हुम् कि भन्ने पनि लागेकै हो । तर, पछि यसो सोचेँ, मेरो घरपरिवार सबैलाई रुवाएर म मात्रै कसरी स्वर्ग जानु ? मनले मानेन अनि फर्किएँ आफ्नै यथार्थमा ।’
हो, उपेन्द्र आजका, हाम्रो समयका पूरा कवि हुन्, लेखक हुन् । भौतिकवादी चिन्तन र बचाइँले कँज्याएकै छ उनलाई पनि । उनको हातमा ‘स्क्रिन टच’ मोबाइलले ‘डाउनलोडेड ग्याम’हरू खेलाइरहेकै हुन्छ ।

जब्बर मान्छे
सरी उपेन्द्रजी, यो लेख्न पो नहुन्थ्यो कि ?
उपेन्द्र ‘विदेश जान्छु’ भनेर पनि काठमाण्डू आएका रहेछन् । यता कवि दरिने लहडमा अल्मलिएर सबै भुलिपठाएछन् । धरानमा हुनुहुन्थ्यो भाउजू, छोरी काजोललाई स्याँहार्दै । कवि भएर बूढोले सुख नदिने भएपछि भाउजूले चाहिँ विदेश जाने निर्णय गर्नुभएछ । थाहै नदिई जानुभएछ । तब पो उपेन्द्र छाँगाबाट खसेझैँ भए । अत्तालिएर धरान हान्निए । केही समयपछि छोरी लिएर काठमाण्डू आए । एक्ली छोरी, काजोल साह्रै पुल्पुलिएकी, जस्तो पाक्यो त्यस्तो नखाने, भात त झन् फिटिक्कै, हेर्नै नमान्ने । चाउचाउ, कुर्मुरे, क्याटबरीमा मात्रै मनखुस पार्ने । काठमाण्डूमा पैसाको उस्तै अभाव । उपेन्द्रले निकै कठीनसाथ छोरीका मागहरू पूरा गरे । थपमा कोरीबाटी, नुहाइधुवाइ सबैमा दख्खल दरिए । एक असल बाबु गनिए ।
भाउजूसँग सम्पर्क नहुनु । छोरीलाई कसरी राम्रो स्कूल पढाउने ? राम्रो शिक्षा दिलाउने उस्तै चिन्ता । यहीबेला उनलाई युरिक एसिडले झनै सतायो । करीब दुई वर्ष उनले गीत रचेनन्, कविता लेखेनन् । पूरै निर्दयी भए सिर्जनाप्रति । यद्यपि, त्योबेला पनि उनका आँखा कहिल्यै रसिला देखिएनन् । एक जब्बर लोग्नेमान्छे दरिए । भित्रभित्र अथाह रोए होलान् भन्ने त सहजै अनुमान गर्न सकिन्छ नै तर उनले हामी साथीभाइसामु जब्बरता कायम गरेरै छाडे । उपेन्द्रले जीवनको उपल्लो दुःख बाँचेको तिनै दुईवटा वर्षहरू हुन् । त्यसपछि भाउजू फर्कनुभयो । अनि रफ्तारमा छ उनको जीवन । रसिक र हँसिला भेटिन्छन् अचेल सबैसामु ।

अदेखा पीडा

उपेन्द्र रसिक छन्, हँसिला देखिन्छन् । साथीभाइसँगको भेटघाटमा उनले कहिल्यै ‘बोर’ गराउँदैनन् । तर, उनीभित्र एउटा कठोर पीडा छ, त्यो धेरैले बुझेका छैनन् । यहाँ जो भन्नैपर्ने हुन्छ, नत्र उनीमाथि न्याय हुँदैन ।
उपेन्द्रका बाबुका बाबु पनि एक्ला छोरा थिए जिजुका । उपेन्द्रका बाबु पनि एक्ला छोरा नै हुन् र उपेन्द्र स्वयं पनि एक्ला छोरा नै हुन उनका बाबुका । उपेन्द्रका भने अझैसम्म छोरो भएको छैन । दुई छोरीहरू छन् काजोल र लोजी । उनलाई अब ‘वंश बुट्टिने हो कि ?’ भन्ने डर छ । उनको यो डरमा चिन्ता मिसिएको छ र त्यही चिन्ता उनको अदेखा पीडा भएको छ । उनी छोरीहरूलाई असाध्यै माया गर्छन् तर छोरा नभएकोप्रति भने गुनासो छ जीवनको । ‘आजको जमानामा पनि छोराको कुरा ?’ प्रश्न उठाउन सकिन्छ, धेरैपल्ट उठाएको छु मैले पनि । तर, उनको आफ्नै जवाफ छ, खिपेर राखेको । ‘फन्नी’ पाराले जवाफ दिन्छन्, ‘माया त म मेरो छोरीलाई कति गर्छु कति तर पछि शत्रुको छोराले पनि फकाइलान्छ र पो त ।’ यो जवाफ ‘फन्नी’जस्तो अवश्य लाग्छ तर यो जवाफभित्र लुकेको पीडा धेरै उपेन्द्रहरूको साझा र अदेखा पीडा हो । सबैले दुख्नै पर्छ आखिर । भलै, उपेन्द्रजस्ता सरल मान्छेको पनि कोही शत्रु होला र ? यो प्रश्न भने देखा प्रश्न हो फेरि ।

र, किस्साका किसमिसहरू
मैले पनि हम जायगाका किस्साहरू (जोक्स) खूब सुनेको हुँ सानै छँदादेखि । त्यो मान्छे कस्तो होला ? भनेर चिन्ने उत्सुकता पनि खूबै थियो । जतिजति उपेन्द्रसँग हँसिमजाकहरू बढ्दै गयो, मेरो हम जायगाप्रतिको तृष्णा धुमिल हुँदै आयो । उनले हरेक भेटमा स–साना किस्साका किसमिसहरू सुनाउँछन् र प्रत्येक भेटलाई अर्थपूर्ण बनाइदिन्छन् । उनी यस्तरी किस्साहरू भन्छन् कि तिनले हँसाउँदैनन् मात्र, अन्तमा जीवनलाई बुझ्ने नयाँ सिरा पनि तयार गरिदिन्छन् । उनलाई नजिकबाट चिन्नेहरूले प्रायः एउटा ‘जोक’ भनिमाग्छन् । म पनि भन्छु, ‘सर, एउटा पिस जावोस् न !’
पहिले उनी ‘हेहेहे’ गरेर हाँस्छन् । अनि भन्छन्, ‘हाउ, पिस भन्नु त भन्ने कि अन्तिम लास्टमा पिस सुनिसकेपछि मान्छे हाँसेन भनेचैँ साह्रै लाज पो हुन्छ त ।’
उनले यति भन्दै हँसाइसकेका हुन्छन् । उनको कुरा गर्ने शैली नै एकप्रकारले किस्सायुक्त भइहाल्छ । एकपल्टको कुरा हो, त्यही किम्ची रेस्टुरेण्टमै हामी झण्डै एक दर्जन साथीभाइहरू गम्भीर छलफलमा थियौँ । थोरै मापसेको रङ्ग त थियो नै । उनले हामीलाई उनीतिर आकर्षित गरे, ‘हाओ सरहेरु, अन्तिम लास्टमा मैले फाइनल्ली कुरा बुुझेँ नि ।’
‘के पो सर ?’ हामी सबैले गम्भीर भएर उपेन्द्रका उत्तर पख्र्यौं ।
‘हाओ नाथे, जीवन भनेको त लाइफ पो रछ । हेहेहे ।’
हामी ¥यालसिंगान भएका थियौँ । त्यो किस्साले आज पनि मलाई समातिरहेको छ । जीवनको बारे सोच्दासोच्दै अलि बढी ‘क्रिटिकल’ हुन थाल्नासाथ म यो किस्सा सम्झन्छु र आफूलाई ‘रि–फ्रेस’ गराइहाल्छु ।
म उपेन्द्रको किस्साप्रति यति प्रभावित छु कि लेख्दालेख्दै अड्किएपछि, ‘बोर’ लागेपछि उनको नयाँ किस्सा नसुनी ‘फ्रेस’ नै हुन सक्दिनँ । न त केही लेख्नै सक्छु । मेरा ‘हेत्छाकुप्पा’ र ‘दमिनी भीर’ दुवै उपन्यासमा उनका किस्साहरू छपक्कै परेका छन् । तिनैलाई मेरा पाठकहरूले बढीभन्दा बढी मनपराइदिएका पनि छन् । जस्तो कि ‘दमिनी भीर’मा देउमानले पारुमालाई पाउन गरेको अभिनय उनैले सुनाएको किस्सा वा उपकथा हो, धेरै पाठकहरूले त्यही कथालाई खूबै प्रसंशा गछर्न् ।

मैले उपेन्द्रसँग अनुमति मागेरै उनका किस्साहरूलाई मेरो लेखनमा मिसाएको छु । म एक मिल्ने साथी, उनले नाइँ भन्दैनन् भन्ने मलाई थाहा छ । एककिसिम, मिल्ने साथी हुनाको संवेदनामा ‘ब्ल्याक मेल’ गरिहाल्छु म । यस अर्थमा उनका किस्साहरूको लुटेरा हुँ म । एक सिर्जनात्मक लुटेरा । मैले भन्नै पर्छ, त्यही लुटेरा भएरै मैले लेखक भइखाएको छु अहिलेसम्म ।

यदि उपेन्द्र ‘हरिप’ भएका भए उनले ती किस्साहरू मलाई सुनाउने थिएनन्, ‘सरिफ’ भएकैले सुनाए । अन्तमा, उनैलाई सोध्छु, ‘भन्नोस् उपेन्द्रजी, तपाईं हरिप कि म ?’

प्रतिक्रिया दिनुहोस्