बालक हत्या प्रकरण : शक्तिशाली धामी बन्न बालकको बली


१६ जेष्ठ २०७६, बिहीबार
arrest

धनुषा, १६ जेठ । मिथिला नगरपालिका–६ मा अढाई वर्षीय बाललको हत्यामा धामीको संलग्नता रहेको पुष्टि भएको छ ।

गएको वैशाख २३ गते हराएका बालक आर्यनको वैशाख २४ गते बिहान स्थानीय कृष्णानन्दन महतोको बारीमा हत्या गरी फालिएको अवस्थामा शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय धनुषा, प्रदेश प्रहरी र संघीय प्रहरी इकाइले संयुक्त रुपमा ६५ जनालाई नियन्त्रणमा लिएर गरेको अनुसन्धानको क्रममा धामी सिक्दै गरेका छिमेकी ५५ वर्षका शत्रुधन महतोले बालक आर्यनको बली दिएको रहस्य खुलेको छ ।

धामी झाँक्रीमा आफू शक्तिशाली हुने अन्धविश्वासका कारण बालक आर्यनको बली दिएको अनुसन्धानबाट खुलेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिएका छन् । हत्यारा महतोलाई प्रहरीले पक्राउ गरी घटनाको झण्डै तीन सातापछि बिहीबार बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

वैशाख २३ गते साँझ बालककी आमा रेनुदेवी घाँस काट्न गएको बेला घरमा कोही नभएको मौकामा झाँक्री महतोले बालकलाई फकाएर अपहरण गरेका थिए । त्यसै राति महतोले बालकलाई लुकाएर राखेको र राति २ बजे सिद्धि हुने अन्धविश्वासमा आफ्नै आँगनमा धारिलो हतियार प्रहार गरी देवीदेउताको नाममा बालकको घाँटी रेटेर बली दिएका थिए ।

बली पश्चात बालकलाई कृष्णानन्दको बारीमा रहेको झाडीमा बालकको शव फालेका थिए । महतोका घरपरिवारका सदस्यहरु उपचार गराउन बाहिर गएको र घरमा कोही नभएको मौका छोपी बालकको बली दिएको अनुसन्धानबाट खुलेको उपरीक्षक खनालले बताएका छन् ।

बालक आर्यन बिरामी हुँदा समेत महतोले झारफुक गर्ने गरेका थिए । महतोको घर बालक आर्यनको घरबाट झण्डै एक सय मिटर टाढा रहेको छ । बालक आर्यनको बुवा वैदेशिक रोजगारमा छन् । बालकको हत्यामा प्रयोग गरेको घरेलु हतियार र लुगाकपडा समेत प्रहरीले बरामद गरेको छ ।

बालकका हजुरबुवा पिताम्बर साह हलुवाइको झाँक्री महतोमाथि बालकको अपहरण गरी बन्धक बनाएर हत्या गरेको किटानी जाहेरीका आधारमा कारबाही प्रक्रिया अघि बढाएको उपरीक्षक खनालले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७