निर्माण व्यवसायीद्वारा सरकारी बोलपत्र बहिष्कारको घोषणा


१६ जेष्ठ २०७६, बिहीबार
nirman 1

काठमाडौं, १६ जेठ । नेपाल निर्माण व्यवसायी महासङ्घले सार्वजनिक खरीद (छैठौं संशोधन) नियमावली, २०७५ का केही बुँदाको विरोधस्वरुप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

महासङ्घ कार्य समितिको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गरेको प्रवक्ता टङ्कप्रसाद चौलागाईले जानकारी दिए ।

व्यवसायीले नेपाल सरकारबाट आह्वान भएका तथा हुने सम्पूर्ण बोलपत्र बहिष्कार गर्दैै इजाजतपत्र समेत सरकारलाई बुझाउने भएका छन् । व्यवसायीले आ–आफ्नो इजाजतपत्र महासङ्घमार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई र सम्बन्धित जिल्ला सङ्घले प्रजिअमार्फत बुझाउने कार्यक्रम रहेको जनाइएको छ ।

यसैबीच महासङ्घले सार्वजनिक खरीद (छैठौं संशोधन) नियमावली, २०७५ का केही बुँदाको विरोधमा थप सङ्घर्षका कार्यक्रम तय गर्न जेठ २२ गते राष्ट्रिय भेला बोलाएको छ । प्रदेश महासङ्घ र जिल्ला सङ्घहरुबाट अध्यक्ष, महासचिवसहित तीन जनाको अनिवार्य उपस्थिति हुने गरी भेला कार्यक्रम तय गरिएको महासङ्घका प्रवक्ता चौलागाईले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७