सङ्ग्रौला सङ्ग्रह : एक फुटकर संस्मरण


प्रकाशित मिति : September 27, 2017

निबन्ध

१. पिंढीमा सकरौला
मेरो थालमा खगेन्द्र सङ्ग्रौला त्यसरी आएनन्, जसरी पण्डितश्री देवकोटा वा कोइरालाश्री मोहन आए । कुनै प्राध्यापक–डाक्टरको उपाधियुक्त सरकारी पन्युँले पस्किएको खान्की थिएनन् उनी मेरा लागि । त्यस्तो किन थिएनन् ? किनभने यिनले बलभद्र कुँवरको ‘वीरगाथा’लाई सिलोकबन्दी पनि गरेनन्, ‘एकताका प्रतीक’को राजगाथामा पाइन पनि भरेनन् । यिनले त सार्कीहरूका श्रमकथा र नाङ्ले पसलेका सङ्घर्ष–कथा लेख्दै हिंडेका रहेछन् ।

जब म बच्चै थिएँ, मेरा लागि सत्ताले किताबका स्कुले पानामा चाँदनी शाहका गाजले आँखाहरू पठाएको थियो र भनेको थियो, ‘शान्तिको ध्वनि छर्दै जाऊ !’ संयोगहरूले मलाई स्कुलबाट धकेलेर क्याम्पससम्म पु¥याए । तर, त्यहाँ पनि किताबमा मविवि शाहको ‘भलाद्मी’ अनुहारसँगै ‘रारा कि अप्सरा’हरू टाँसिएका थिए । कविताका हरफहरूमा महेन्द्रीय भाषणलाई गीतिलयमा उतार्ने राजकविहरूको सुसेली चर्को सुनिन्थ्यो । कथा–निबन्धको गद्यबारीमा वर्णव्यवस्थाको नैतिकता धानिरहेका र ‘नेपाल’को खोक्रो महानतामा पम्फू भरिरहेकाहरू पंक्तिबद्ध उभिएका भेटिन्थे । घरमा एउटा सेकेन्ड ह्यान्ड रेडियो थियो, त्यसले प्रत्येक नयाँ दिनको सुरुवात ‘श्री ५ को महावाणी’ र ‘ओम् हर–महादेव’ बोलको भजनबाट गथ्र्यो । राति अबेरसम्म गीतका नाममा कि ‘वीर नेपाली’ धाराका स्वदेशगान बजिरहन्थे कि वियोगी प्रेमीका रुन्चे भावना दोहोरिइरहन्थे ।

लेखक

तैपनि सङ्ग्रौला मेरो पिंढीमै आइपुगे !
कसरी ? त्यसरी नै, जसरी आइपुग्छ बिना सूचना कुनै अपरिचित छापामार !
स्कुले उमेरमा थिएँ म । बर्खामासाको एक दिन दिदी र म पिंढीमा मकै भुत्लाउँदै थियौं । अगने मामा (अगने विश्वकर्मा)ले पहिलोपटक खकिन्रा सकरौलाबारे त्यहीं सुनाए । अगने मामा घन–सावेलका शिष्य हुन्, कुनै संस्कृत विद्यापिठ वा महेन्द्र क्याम्पसका उत्पादन होइनन् । अहिले पनि उनी पर्वतमा ढुङ्गामाटोसँगै खेलिरहेका छन् । तिनै मामाले करीब दुई दशकअघि हामीलाई बेलिबिस्तार लगाए, ‘खकिन्रा सकरौलाको नाम सुन्नु भइच बाबु ? वाँ ठूलो साहित्यकार हुनुन्च, किताब लेख्नुन्च । मान्छेको पुर्खा बाँदर हो भन्ने कथा हामीलाई सकरौला सरले नै सुनाउनु भको हो । मान्छे कसरी दलित बनाइयो भनेर पनि उहाँले नै हाम्लाई किलास दिनुन्च ।’
तिनताका गीतकार शरद पौडेलको आग्रहमा सङ्ग्रौला दलितहरूलाई जम्मा गर्दै किलास दिंदै हिंडेका रहेछन् । अलि पछि मलाई गाउँकै कृष्ण मामा (कृष्ण विश्वकर्मा)ले सङ्ग्रौलाका केही पुस्तक उपलब्ध गराउन थाले । पहिलोपटक गाउँमै मलाई ‘मूल्याङ्कन’ पत्रिका पढाएको कृष्ण मामाले नै हो । अब अगने मामाका सकरौला सर ‘मूल्याङ्कन’ र ‘नवयुवा’ पत्रिकामा लेख, कथा, बालसंस्मरण आदि वाहनमा चढेर आइरहन थाले । अझैपछि कुश्माका कृष्ण विक, बाजुङका कृष्ण विकसहितको सहयोग र कवि आहुतिको प्रयत्नमा कुश्मामै सङ्ग्रौलालाई साहित्यिक कार्यक्रमको मूलपाहुना हामीले नै बनायौं । मोदीमैदान सांस्कृतिक परिवारले धौलागिरिका कविहरूको सम्मेलन गरेर त्यस्तो बेलामा सङ्ग्रौलालाई निम्त्याएको थियो, जुनबेला काठमाडौं–पोखराजस्ता सहरमा नवघोषित ‘राष्ट्रकवि’को रथयात्रा चल्दै थियो ।
यसरी आएका थिए वैकल्पिक बाटो हुँदै सङ्ग्रौला मेरो घरमा, छिमेकमा र जिल्लामा मैले थाहा पाउने गरी ।

त्यसपछि म सङ्ग्रौलाको एक प्रकारको फ्यानमा फेरिँदै गएँ, गद्यलेखनमा उनकै सिको गर्न खोजें । उनी बेखबर नहोउन् भन्ने मनभित्र कतै हरदिन लाग्न थाल्यो । पत्रिकाका पाना खोज्दैखोज्दै म कहिले कुश्मा शिवालयचोक, कहिले पोखरा महेन्द्रपुल पुग्न थालें । जब चाँदनी शाहसमेत मारिएको दरबार हत्याकाण्डमा उनी सत्ताले सिकाएको अनुशासन नटेरेर आपैmले देखेको सत्यको राँको बालिरहे, जब कवि पूर्णविराम बेपत्ता पारिंदा वा इच्छुकको हत्या गरिंदा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा निर्भीकतापूर्वक उनले वकालत गरिरहे, तब हरेक बुधबारको कान्तिपुर दैनिकलाई चार रुपियाँ तिर्न मैले आमाको धराको गाँठो फुकाइरहें ।

जब दरबारले आफ्नै खोकिलाका कवि माधव घिमिरेलाई ‘राष्ट्रकवि’ उपाधिसहित आजीवन भत्ताको घोषणा गर्यो र दरबारपन्थीद्वारा राजकविको देशव्यापी रथयात्रा निकाल्न थालियो, त्यो विरूप दृश्यमाथि कुरीकुरीसहितको चर्को प्रतिवाद गर्ने कुन्साङ काका यिनै सङ्ग्रौला थिए । जब ज्ञानेन्द्र शाहले नयाँ सैनिक शासनको अभ्यास गर्न ‘माघ १९’पछि सञ्चारका सारा माध्यममा बन्दुकका आँखाले निगरानी बढाइरहेका थिए, त्यो सन्त्रासपूर्ण निर्देश नटेरेर कलमको चुच्चोबाट चिरबिराइरहने ज्याद्रो मान्छे सहरमा यिनै थिए । महिलालाई बजारको माल बेच्ने माध्यम बनाउने ‘सुन्दरी प्रतियोगिता’विरुद्ध ब्यानर बोकेर सडकमा नारा लगाउने र सुन्दरी प्रतियोगितालाई ‘चेलीबेटी बेचबिखन गर्ने थलो’ भन्ने अगुवा पनि यिनै थिए । आमाको मृत्युमा काजकिरिया नगरेर हिन्दू धार्मिक अन्धविश्वास र रुढीलाई चुनौती दिने लेखक पनि यिनै थिए ।
र, यिनै सङ्ग्रौला मेरा कमलो चेतनाका दह्रो आदर्श थिए, म यिनलाई खोज्दै हिंडेको थिएँ । यिनलाई पढ्दै, सुन्दै र मनमनै गुन्दै म आज पनि यिनकै छेउछाउ भएर आफ्नो बाटो नापिरहेको छु ।


२. काइँला ‘मुखिया’को दुखिया सङ
अगने मामाले मलाई त्यस्तो बेलामा सङ्ग्रौला चिनाएका रहेछन्, जुनबेला उनी अखबारी लेखनको उत्कर्षमा पुग्दै थिए । त्यसयताका उनका उकाला–ओराला मैले नियालिरहेकै छु तर सङ्ग्रौला नामको गाडीले म जन्मनुअघि नै निकै लामो दूरी पार गरिसकेको रहेछ । साढे चार दशकअघि नै निर्मल लामाले भनेका रहेछन्, ‘उनको कलमलाई म्वाइ खान मन लाग्छ ।’ पूर्वी पहाडको ब्राह्मण ठिटो काठमाडौंको पढाइ छाडेर पश्चिम पहाडमा मास्टरी गर्न हिंडेपछि उपन्यासको मूलपात्र पनि गुरुङसेनी देख्न थाल्यो, जीवनको मूलसाथी पनि गुरुङसेनी रोज्यो । ‘आमाको छटपटी’ उपन्यास पढेपछि ०३२ सालमा निर्मल लामाले निनु चापागाईंलाई लेखेको चिठीमा प्रश्न गर्छन्, ‘अहिलेसम्म बाहुन, क्षेत्री, नेवार अथवा पढेलेखेका जान्नेसुन्ने परिवारबाट पात्र लिने परम्परालाई लत्याएर सङ्ग्रौलाले गुरुङ, मगर, तामाङ, कामी, दमाईबाट पनि सबल पात्र लिन सकिने मात्र होइन, नेपाली जीवनलाई यिनीहरूले मात्र प्रस्टाउन सक्छन् भन्ने कुरो स्पष्ट गरेनन् र ?’
पश्चिमका गुरुङ वा दमाइ–कामीको सङमा पुगेका सङ्ग्रौला जन्मनलाई ‘प्रतिष्ठित’ र खानदानी परिवारको नाति भएर जन्मेका थिए । राणाकालका पाँचथरे चल्तापूर्जा मुखिया थिए उनका हजुरबाउ । देशमा राणाशासन रहिरहेको भए, साहित्य क्षेत्रले आजको सङ्ग्रौला पक्कै पाउने थिएन । यिनले पनि पुर्खाको मुखियागिरीकै विरासत धान्ने थिए र काइँलो भाइ भएर जन्मेका सङ्ग्रौलाले सायद ‘काइँला मुखिया’ भएरै सुभाङ हल्लाउन सक्थे । तर, राणाढलानको तरङ्ग यसरी फैलियो, सङ्ग्रौला मुखियाको घरभित्र पहिले पूर्वका उत्पीडित राई–लिम्बुहरू ‘आतङ्क’ बनेर पसे, पछि बिस्तारै मुखियाशान भत्काउन शक्तिहीनता र आर्थिक सङ्कट प्रवेश ग¥यो । सातसालपछि उनका घरमा ‘ठेकी’ बुझाइन छाड्यो, बाउको ‘घोडा’ बेचियो । ‘इज्जत–प्रतिष्ठा’ निल्नलाई सातसालको प्रजातन्त्र सङ्ग्रौलाकै शब्दमा ‘विपद्काल’ बनेर आयो । र, एउटा कठोर तर सुखद् यथार्थले अहिलेका सङ्ग्रौलालाई काइँला मुखिया हुनबाट जोगाइदियो ।
पत्रकार मित्र बसन्त बस्नेत ठट्टैठट्टामा सुनाउँछन्– लिम्बुवानतिर वैरागी काइँलापछि थुप्रै नाम–उपनामका काइँलाहरू आएका छन् । उनीहरू सबै आफूलाई वैरागी काइँलाको सिर्जनशीलतासँग जोड्न चाहन्छन् रे ! सङ्ग्रौला पनि जन्मक्रममा पाँचमध्येका चौथो भाइ नै थिए तर उनले आफ्नो नामका सट्टा काइँला लेखेनन् र विचारमा पनि उनी काइँलापन्थी भएनन् । पाँचथरबाटै भारततिर पढ्न पसेर निस्केका कवि वैरागी काइँला छन्, जो विचारमा आयामेली वा प्रयोगवादी भएर उभिए र व्यवहारमा राजतन्त्रकालदेखि नै सरकारी एकेडेमीका जागिरे हुँदै गणतन्त्रमा त्यसका मूलहाकिम भए । पाँचथरमै जन्मेर काठमाडौं हुँदै पश्चिम नेपालतिर पढाउन पसेका आख्यानकार ‘काइँला’ भने विचारमा गरिब, दलित र दुखियाका साथी बनेर निस्के, अनि पञ्चायतकालभरि प्रशासनबाट लखेटिए, बहुदलकालमा पनि सत्ताद्वारा सताइए र गणतन्त्रकालमा पनि सडकमै पेटीपेटी हिंडिरहेका छन् ।
सङ्ग्रौला यसरी निस्के मुखिया–घरबाट दुखिया–देशतिर वैरागी होइन, वागी काइँला बनेर ! न यी शिक्षामन्त्री वा सांसद भए, न कुलपति वा प्राज्ञ, न प्रशासक न पोलिट्ब्युरो । यिनी नेता वा अभिनेता बन्न हिंडेका रहेनछन्, लेखक हुन हिंडे, लेखकै भएर उभिए ।
म कल्पना गर्छु कहिलेकाहीं– चीनको सांस्कृतिक क्रान्तिको राप सङ्ग्रौलासम्म नआएको होस्, भारतको नक्सलवादी आन्दोलनको ताप छिमेकमा नफैलिएको होस्, या नेपालभित्रैको वामपन्थी आन्दोलनसँगको वैचारिक सङ उनलाई नजुटेको होस् । उनको आदर्श वा प्रेरणा बनेर बाहिरबाट किताबको बुइ चढी माक्र्स, लेनिन वा माओ नआएका होउन् वा देशभित्र निर्मल लामा, स्वनाम साथी, पारिजातको सत्सङ नजुरेको होस् । स्वनाम साथीलाई ‘कमान्डर इन चिफ’ मान्दै यिनी ‘मास्टरी फिल्ड’मा नखटिएका होउन् वा निर्मल लामाको अनुरोध पछ्याउँदै दरभङ्गा प्लेनममा कम्युनिस्ट पार्टीको पर्यवेक्षक भएर नपुगेका होउन्, अथवा निरञ्जनगोविन्द वैद्यको आग्रहमा रुसी र चिनियाँ साहित्य अनुवादको मेसो नमिलेको होस् ः के आज साहित्यको रुखमा सङ्ग्रौला नामको फल फल्न सम्भव थियो ?
पिता लक्ष्मीप्रसाद सङ्ग्रौलाले आफ्ना पुत्रलाई ६ वर्ष पुग्दानपुग्दै रुद्री, चण्डी, गीताजस्ता धार्मिक ग्रन्थ घोकाएकै थिए । यस्तो पनि कल्पना गरौं– त्यसपछि सङ्ग्रौलाले वाल्मिकीदेखि भानुभक्तसम्म, देवकोटादेखि समसम्म वा लेखनाथदेखि माधव घिमिरेसम्म मात्रै पढ्ने अवसर पाए । गोर्की, लुसुन, चेखव वा गालिआनोका किताबको सट्टा यिनका सामु ‘रामायण’, ‘दिव्योपदेश’, ‘महेन्द्रमाला’ वा ‘राष्ट्रनिर्माता’ मात्रै आइलागे । मानौं देशभित्र सात साल आएन, छत्तीस साल जन्मेन, बाउन्न–त्रिपन्न वा बैसट्ठी–त्रिसट्ठीको परिदृश्य अदृश्यमा रह्यो अर्थात् जनजागरण गतिशील देखिएन । तीस वर्ष पहिले ‘वेदना’मा निर्मल लामाले उनको ‘कमजोरी’ औंल्याउन नखोजेका भए या जनयुद्धकालमा कमरेड चैतन्यले ‘प्रचण्डपथीय’ थ्यौरीको सिस्नुपानी नहानेका भए ः सङ्ग्रौलाको वागीपनको वेग कुन रूपको हुँदो हो ?
कल्पनाबाट ओर्लेर म यस्तो अनुमानमा पुग्छु– राणातन्त्रको अन्त्यसँगै बाउबाजेको मुखियापनले ‘हावा’ खाएपछि उनको जीवन पछ्याउन जब दुखियापन आइलाग्यो, त्यसपछि सङ्ग्रौलाका लागि वामपन्थको आकाशमुन्तिर स्वाभिमानपूर्वक हिंड्ने परिस्थिति तयार हुँदै गयो, उनी विद्रोहचेतसहित आत्मसङ्घर्षमा होमिए । कम्युनिस्ट पार्टीसँग यिनी कहिले निकटता र आत्मीयताको मैदानमा सँगसँगै खेले, कहिले वैमनस्य र कटुताका साँघुरो गल्लीमा झोक फेर्दै र कुहिनो ठोक्दै हिंडे । स्तम्भ लेखन र सामयिक टिप्पणीमा कम्युनिस्ट पार्टीभित्रका विकृत पात्र र प्रवृत्तिबारे सबैभन्दा बढी छेड हान्ने व्यङ्ग्यकार पनि सङ्ग्रौलै हुन्, अनि कम्युनिस्ट आदर्शका विशाल फलकमा निरन्तर सिर्जनशील भइरहन सक्ने र आलोचनात्मक चेत जोगाइरहने अग्रणी वामलेखक पनि सायद उनै हुन् । पछिल्लो समय स्वतन्त्र लेखनबाटै चिया–चुरोट र घरायसी गर्जो टार्न सक्ने हैसियत बनाएका पूर्णकालीन लेखक पनि यिनै हुन् ।
यिनले लेखनधारामा मजदुर, किसान, दलितका विषय रोजे अनि दैनन्दिनमा मजदुरी–लेखन गरिरहे । हिजो ‘भास्सा झेलजनोभा’, ‘अजम्मरी गाउँ’, ‘येगोर बुलिचोभ र अरुहरू’ र ‘युवाहरूको गीत’ आदि अनुवाद गराएर निरञ्जनगोविन्द वैद्य वा प्रगतिशील पुस्तक भण्डारहरूले उनको श्रम किन्थे, आज ‘माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म’ र ‘एक पिताका सम्झनाहरू’जस्ता अनुवाद र ‘सम्झनाका कुइनेटाहरू’ वा ‘आफ्नै आँखाको लयमा’जस्ता निबन्ध बेचेर नयाँ प्रकाशकहरूले ‘अतिरिक्त मूल्य’ कमाइरहेका छन् । सामयिक लेख माग्ने ठूला अखबारहरू होउन् वा अनुवाद गरिमाग्ने एनजिओहरू, सबैले सङ्ग्रौलालाई ‘उत्पादक श्रमिक’ बनाइराखेका छन् । माक्र्स बूढाले उहिल्यै भनेका थिए, ‘विचारको उत्पादन गर्ने भएकाले लेखक उत्पादक श्रमिक होइन, बरु आफ्ना पुस्तक छाप्ने प्रकाशकलाई धनी बनाउने भएकाले ऊ उत्पादक श्रमिक हो ।’
सङ्ग्रौला बजारकेन्द्री आजको दुनियाँका एक प्रतिनिधि मजदुर लेखक हुन्, उत्पादक श्रमिक हुन् ।
३. विसङ्घटन कि सङ्गठन ?
साहुजीहरूको सत्तामा मजदुर उत्पीडनमा हुन्छ, मिहिनेती भएर पनि ज्यालामा ऊ ठगिएकै हुन्छ । श्रमिकलाई ठग्न साहुजीहरूले अनेकवली तरिका जानेका हुन्छन् । नियमकानुन उनीहरूकै अनुकूल हुन्छन्, लोभलालचका हतियार उनीहरूसँगै हुन्छन्, धाकधम्की गर्न सक्ने शक्ति उनीहरूसँगै हुन्छ । सङ्ग्रौला वागी विचार बोक्थे र हिजो राजसत्ताले बारम्बार त्रस्त पाथ्र्यो, सङ्ग्रौला आलोचनात्मक आँखाले हेर्छन् र लालसत्ताले पनि बेलाबेला उनको भत्र्सना गर्र्छ, सङ्ग्रौला मजदुरी–हकका पक्षमा उभिन्छन् र बजारसत्ताले पनि पेलानमा पारिरहन खोज्छ । तैपनि उनी निराश, थकित वा पराजित मानसिकतामा हुन्नन् । वैचारिक सान्त्वनाका लागि उनीसँग माक्र्सेली दर्शनसुत्र छ– ‘संसारका मजदुरहरू एक हांै !’ र, व्यवहारिक उत्प्रेरणाका लागि सङ्गठित प्रतिरोध आन्दोलनहरूका उनी ऐतिहासिक भोक्ता र साक्षी हुन् ।
सङ्ग्रौलालाई सङ्गठित आन्दोलन वा प्रतिबद्ध लेखनको ‘विरोधी’का रूपमा चित्रित गरिन्छ र बेलाबेलाका उनका अभिव्यक्तिले यस्तै चित्रणलाई सघाइरहेका हुन्छन् । तर, व्यवहारमा शिक्षक आन्दोलनको आफ्नो समयका अगुवा यिनै हुन्, प्रगतिशील लेखक संघको सदस्य, सचिव हुँदै महासचिवसम्मको नेतृत्व यिनैले गरे । ०६२÷६३ मा राजनीतिक आन्दोलन पत्यारिलो भइनसक्दा नागरिक अगुवाले थालेको सडक–सङ्घर्षमा पनि यिनी सामेलै थिए । प्यालेस्टाइनी जनतामाथि अमेरिका–पोषित इजरायली अत्याचारको विरोधमा ऐक्यबद्धताको मुठ्ठी कसेर डबलीमा निस्कने बौद्धिक पनि यिनै थिए । यस्ता अनेक उदाहरण छन्, जहाँ सङ्ग्रौला सामूहिक र साङ्गठानिक अभ्यासमा सहभागी छन् । उनी पार्टीसम्बद्ध अनुशासनको घेराभित्र मात्रै नबसेका हुन्, विचारमा अप्रतिबद्ध होइनन्, न सङ्गठित प्रतिरोधका विरोधी नै हुन् । दमनकारी सत्ता सङ्गठित छ, उसका अतिचारका माध्यम सबै सङ्गठित र व्यवस्थित छन् । त्यसको प्रतिरोध पनि आखिर सङ्गठित नै हुन्छ । विसङ्घटन उत्तरआधुनिकतावादीहरूको जिम्मामा छ, माक्र्सवादीहरूको दर्शन सङ्गठन नै हो ।
तर, वाम–सांस्कृतिक सङ्गठनभित्र प्राज्ञिक–वैचारिक विषयलाई प्रशासनिक विधिले फस्र्यौट गर्न खोज्ने कर्मकाण्डीय चलनबाट परिचित सङ्ग्रौला बेलाबेला त्यस्ता संस्थाका पद्धति वा अधिकारीप्रति कटाक्ष गर्छन्, बेलाबेला माक्र्सवादी परम्पराका पूर्वरेखाहरू ‘क्रस’ गरिरहन्छन् । अधिकांश वामलेखकहरू सङ्गठित हुने नाममा दैनिक प्रशासन धान्ने कर्मचारीजस्तो वा संस्था सञ्चालन गर्ने ‘म्यानेजर’ जस्तो मात्रै भइरहेका छन् । लेखक लेखक नै हुने हो भने उसको दैनिकीको मूलपक्ष लेखपढ हुनुपर्ने होइन ? वामलेखकहरूले प्रशासनिक पदको ‘बढुवा’का लागि दगुरिरहने र माथिल्लो पदमा पुगेपछि ‘वरिष्ठ लेखक’ कहलिने परम्परालाई कहिलेसम्म धानिरहने ? पार्टीबद्धता अनालोचनात्मक हुँदै गयो भने केशरजंगहरूको दरबारगमनसँगै भूपिहरूको वैचारिक हालत खराब हुँदोरहेछ भन्ने हामीलाई इतिहासले सिकाइसकेको छ ।
सङ्ग्रौलाका रचना श्रीपेचयुक्त लालमोहरबाट प्रमाणित थिएनन् नै, कुनै खास लालपार्टीको सांस्कृतिक विभागको परिपत्रबाट मान्यताप्राप्त पनि छैनन् । कसरी छिटोछिटो उपल्लो समितिमा पुग्ने र ‘सिनियर’ लेखक हुने भन्ने ध्याउन्नामा लाग्ने सङ्गठनबद्ध लेखक नभएकाले खास कम्युनिस्ट पार्टी वा वामपन्थी सांस्कृतिक मोर्चाले उनको सम्पूर्ण स्वामित्व लिन सकिरहेको छैन । सङ्ग्रौला न कहिल्यै दरबार पस्यो, न कहिल्यै प्राज्ञ वा सभासद् पाउने आशामा दल–बदल ग¥यो । उसका लागि ‘प्रतिगमन आधा’ पनि सच्चिएन, उसको भागमा गणतान्त्रिक एकेडेमी पनि परेन । जनपक्षीय लेखनमा जिन्दगी बिताइसक्दा पनि आधिकारिक र संस्थागत रूपमा सङ्ग्रौलालाई कसैले ‘आफ्नो’ लेखक नमान्नु नेपाली कम्युनिस्ट आन्दोलनको दुर्भाग्य हो । दैनिक कामधन्दावाला पार्टीबद्धतामा नलाग्नु र निरन्तर आलोचनात्मक भइरहनु उनको विशेषता हो । यही कारण पार्टी नेतृत्वको मति बिग्रेसँगै लेखक पनि त्यसैको शिकार हुनु पर्ने नियति उनले झेल्नु परेको छैन ।
सङ्ग्रौला वामपन्थी धाराका शास्त्रीय सुर होइनन्, लोकलयमा आधारित पपसङ हुन् । सुत्रबद्ध राग सुन्न अभ्यस्त पण्डितहरूका लागि उनी सुर–भञ्जक लाग्छन् तर सिर्जनाका क्षेत्रमा उनी निरन्तर रुचाइएका र माग भइआएका गायक हुन् । उनको गायकी एक समय हाइहाइ र अर्को समय गुमनाम हुने सेलिब्रिटीको जस्तो छैन, बरु निरन्तर श्रमशील मजदुरको जस्तो छ– जो सानाचोट थाक्दैन ।

४. सत्तरीसम्म सडक–सत्ता
मजदुर हुनु र मजदुरी गर्नु पुँजीवादी दुनियाँमा स्वाभाविक प्रक्रिया मानिन्छ तर मजदुर चेतनासहित आन्दोलनकारी लेखक भइरहनु कठिन प्रक्रिया झेलिरहनु हो, हरक्षण सङ्घर्षको परीक्षा दिइरहनु हो । वैंशमा स्याल पनि घोर्ले हुन्छ भनेजस्तो उमेरमा खरो आलोचक हुने लेखक थुप्रै हुँदारहेछन् । युवा झोकमा क्रान्तिकारी जोश देखाउने कतिपय तर्कालुहरू चालिसे लागेपछि नयाँ विचारसँग तर्सेर भागेको देखिन्छ । नेपालमा जनयुद्धको राप सहरभरि फैलिरहेका बेला रोमान्टिक आवेग भरेर सत्ताविरोधी ताता लेख लेख्ने केही स्तम्भकारहरू आन्दोलनको विघटनसँगै चिसा मूढामा परिणत हुँदैछन् । सङ्ग्रौलालाई ‘सर ! सर !’ भनेर लेखनमा उनको सिको गर्न खोज्ने कतिपय युवा टिप्पणीकार आफै ‘सरहजुर !’ मा फेरिएर घरधनी, गाडीधनी वा सेयरधनीको हैसियतमा सफल आरोहण गर्दैछन् । पञ्चायतभरि गणतन्त्रवादी र भौतिकवादी दर्शनका अग्निबीज छर्ने लेखकहरू नै गणतन्त्रपछि राजगाथा र अध्यात्मचिन्तनमा फर्केको कुरूप दृश्य सहरमा स्वाभाविक मान्न थालिएको छ । तर, सङ्ग्रौला झण्डै सत्तरी वर्षको उकालो चढिरहेका बेलामा पनि थाकेका, हारेका वा चिसिएका छैनन् । अहिले पनि मन नपरेको थिति वा व्यक्तिलाई ‘गाली’ गर्न सक्ने हैसियत उनले जोगाएरै हिंडेका छन् । यो नै उनको शक्ति र सम्पत्ति हो ।

भनिन्छ– आन्दोलन उभारमा भएका बेला लफङ्गाहरू पनि क्रान्तिकारी हुन्छन् तर क्रान्तिकारीको वास्तविक शक्ति आन्दोलन सेलाएको वा पछि हटेको बेलामा पनि ऊ मैदानमा खडा भइरहन्छ कि रहन्न भनेर जाँचिन्छ । बोक्सीका नाममा महिलाहरू अहिले पनि जिउँदै जलाइएका छन्, कुवामा पानी भरेको निहुँमा दलितहरू मारिएका र लखेटिएका समाचार ‘स्वाभाविक’ लाग्न थाले, मधेसलाई परदेश देख्ने र टिस्टा वा काँगडामा नेपाल खोज्ने दृष्टिले अहिले पनि सत्ताकब्जा गरिरहेको छ । सत्ताद्वारा जो भाषिक–सांस्कृतिक उत्पीडनमा पारिएको छ, उसैमाथि ‘साम्प्रदायिक’ वा ‘विखण्डनकारी’ ट्याग भिराउनेहरू मिडियामा हालीमुहाली गरिरहेछन् । हरेक दिन एयरपोर्टबाट नेपाली युवायुवतीका ज्यानहरू बाहिरिन्छन् र लासहरू भित्रिन्छन् । ग्याँसको हाहाकारले सहरका गरिखाने वर्ग महिनौंसम्म त्रस्त पारिन्छन् । अपमान र अतिचारका यस्ता घटनाको शृङ्खलै छ देशमा, फरक यत्ति हो– अहिले कुनै आन्दोलन सतहमा छैन । यस्तो बेला हिजोका सङ्ग्रौलाले मात्रै पुग्दैन, न आजका एक थान सङ्ग्रौलाले मात्रै यो युद्ध लड्न सम्भव छ । अठार–बिस वर्षदेखिका युवाहरू जुरुक्क उठ्ने र उठाउने जाग्रामको खाँचो तिनीहरूले नै बोध गर्नुपर्ने बेला आएको छ, जो लेखनका क्षेत्रमा वाम विरासतलाई निरन्तरता दिन चाहन्छन् वा सक्छन् । सडक सर्वाङ्ग खालि छ, सन्नाटामय छ ।

सन्नाटामय सडकले राक्षसी सङ्ग्रौलाको माग गरिरहेको छ । किन ? किनभने सडकमा एकातिर ‘देवता’हरूको चकचकी छ, अर्कोतिर राष्ट्रवादीहरूको जयगान घन्किरहेको छ । देवताहरूका आँखामा सङ्ग्रौला राक्षस हुन् । देवता हँुदा हुन् त भक्त–समालोचकहरू पूजाको थाली लिएर वरिपरि घुमिसक्थे । राक्षसको भत्र्सना गर्नु देवदूतहरूको कर्तव्य हो । आफूलाई देवता वा देवताका सन्तान ठान्नेहरू अहिले सङ्ग्रौलालाई रातदिन गाली गर्छन् र उनलाई उल्टै ‘गालीशिरोमणि’ भन्छन् । पञ्चायती सत्ताका परमानेन्ट लेखन्दासहरू उनलाई ‘म्यादी’ लेखक भन्दारहेछन् । किन ? किनभने उनी देशमा सीमान्त वर्गको दुःखमाथि व्यापार चलिरहेका बेला कुनै दीर्घकालीन र स्थायी महत्वको विषयमा घोत्लिन छाडेर तत्कालको मुद्दा लेख्ने ‘म्यादी’ काममा ओर्लन्छन् । उनी उत्पीडितहरूमाथिको अपमानको म्याद लम्बाइरहन चाहन्नन् ।
उनलाई विखण्डनकारी देख्नेहरूको पनि देशमा कमी छैन, किनभने उनी वैतनिक–अवैतनिक रूपमा महेन्द्रमालाको ‘गणतान्त्रिक’ अनुवाद गर्ने ‘बौद्धिक’का काइते तर्कहरूको अहिले चर्को खण्डन गरिरहेका छन् । पञ्चायतकालीन अखण्ड नेपालका समर्थकहरूले उनलाई विखण्डनकारी देख्नु कुनै नौलो कुरा होइन । दलितलाई आफ्नै पैतालामुनिको ‘शुद्र’ ठान्ने ब्रह्माजीहरू, मधेसीलाई ‘रावण’ देख्ने रामजीहरू र मनुस्मृतिलाई राष्ट्रिय गीत सम्झने राष्ट्रवादीहरूले यो देशको लोकतन्त्र चलाइहेका छन् । उनीहरू सङ्ग्रौलालाई ‘राक्षस’, ‘बाँदर’, ‘म्यादी’ किन देख्छन् भन्ने सजिलै अनुमान गर्न सकिन्छ । किनभने सङ्ग्रौलाले उनीहरूको सत्ता ताकेर अविराम शब्दास्त्र चलाइरहेका छन् ।

५. सङ्ग्रौला :  एक सङ्ग्रह
०२३ सालतिर कुनै क्याम्पसको मुखपत्रमा सङ्ग्रौलाको पहिलो कथा छापिँदा देशमा पञ्चायती राजतन्त्र जम्मा छ वर्षको ‘शिशु’ थियो । आज अनलाइनका बिजुली भित्तामा उनले राजनीतिक टिप्पणी गरिरहँदा गणतान्त्रिक व्यवस्थाले पनि छ वर्ष क्रस गरिसक्यो । उनको झण्डै आधा शतक आयु सत्ताविरोधी लेखनमै बितिसक्यो । यो बीचमा उनी शिक्षक सङ्गठनको नेता भएर झ्यालखानासम्म पुगे । लेखेकै कारण पक्राउ परे, थुनिए, लखेटिए । पुलिसका लाठा छेल्दै सुन्दरी प्रतियोगिताको विरोध गर्नेदेखि गणतन्त्रको नारा लगाउनसम्म सडकमा निस्किए । उपन्यास, कथा, निबन्ध, संस्मरणसहित दर्जनौं पुस्तक लेखे, अनुवादमा आफ्नो पहिचान बनाए, बालकथा, नाटक, कविता, गीत समेत लेखे । हल्लाखोर बजारमा कम चर्चा भएपनि दुई दशकअघि पारिजातको सम्झनामा लेखिएको ‘पारिजात अपराजिता’ गीत र ‘गरिमा’ पत्रिकामा प्रकाशित ‘किसानको खबर कानूनको राजमा’ कविता पनि सङ्ग्रौलाका शक्तिशाली रचना हुन् ।

सङग्रौला जिउँदो लेखक हुन्, शव होइनन् । तसर्थ अहिले र आजै उनको पोस्टमार्टम हुन सम्भव छैन । सङ्ग्रौलाका हकमा कम्तीमा मजस्तो फुटकरे पाठकबाट त्यसप्रकारको ‘राजनीतिक फैसला’ आउँदैन । मेरो बुझाइमा सङ्ग्रौला एउटा त्यस्तो कविता सङ्ग्रह हुन्, जहाँ घतलाग्दा कविताहरूकै बाहुल्य छ । फरक–फरक पाठकलाई फरक–फरक कविता टेसिलो लाग्न सक्छ । पाँच दशक लामो इतिहासलाई एक–डेढ हप्ताको अखबारी हतारोभित्र साङ्गोपाङ्गो अध्ययन गर्न, त्यसलाई ऐतिहासिक सन्दर्भहरूको कसीमा राख्न र तथ्यहरूको छ्यानब्यान गर्न सकिँदैन । सङ्ग्रौलाको यो पुगेन, त्यो पुगेन भन्दै रातो कलमले ठाडठाडै केरमेट गर्नेहरू मैले देखेको छु । तीसको दशकमा निर्मल लामाले ‘वेदना’मा पठाएको आलोचनापत्रदेखि पचासको दशकमा कमरेड चैतन्यले ‘कलम’मा छपाएको समालोचनापत्रसम्म मैले पढेको छु । नयाँ पुस्ताले सङ्ग्रौला–मिलबाट निस्केको सिर्जनशक्तिको तेलको प्रयोगमा जोड %

प्रतिक्रिया दिनुहोस्