नाम मात्रको लोग्ने


१८ जेष्ठ २०७६, शनिबार
logne

हो सुलभ ! हाम्रो प्रेमको लागि यो कदम उठाउँदै छु । केही समयका लागि मेरो शरीर तिमीबाट टाढा भएता पनि मेरो मन सधैँ तिमीसँगै हुनेछ । हो, छोरी भएको नाताले मैले मेरा बाबुआमाको लागि भए पनि यो निर्णय लिनु नै पथ्र्याे । कारण हामी दुईबीचको चोखो प्रेमलाई यो समाजले स्विकार्दैन ।

हामीले हाम्रो प्रेमलाई के नाम दिएर समाजमा उभिन सक्थ्यौं र ? यो हाम्रो साँचो प्रेम भए पनि समाजले यसलाई पाप भन्छ । नौ वर्ष अगाडि विराटनगरको चोकमा तिमीलाई पहिलो पटक देखेकी थिएँ । अग्लो, मिलेको शरीर, चौडा छाती । सायद गेमबाट आएकाले पनि होला । कति सुहाएको थियो रेड कलरको टिसर्ट र ट्राउजर तिमीलाई ।

मेरो सपनाको हिरो जस्तै तिमी मेरो सामु उभिएका थियौ । तिम्रो त्यो नशालु आँखाले मलाई हेरिरहँदा म लाजले गलिसकेकी थिएँ । तिमी मेरै छेउबाटै जाँदा तिम्रो शरीरबाट निस्केर मेरो सोझै नाकमा ठोकिन आइपुगेका त्यो सुगन्ध, सायद मैले कहिल्यै भुल्ने छैन ।

हाम्रो पहिलो भेट मेरा लागि सबैभन्दा अविस्मरणीय दिन थियो । मेरो जन्मथलो विराटनगर, तिम्रो धरान । योभन्दा पहिला तिमीलाई देख्दै नदेखेको त होइन तर पनि आज जुन नजरले तिमीलाई देखें, त्यो सोझै मेरो मनलाई चोर्न सफल भएको थियो ।

त्यो रात म निदाउन सकिराखेकी थिइनँ । मेरो मनको नायक तिमीलाई भोलि पनि भेट हुन्छ कि हुँदैन भन्ने पीरले झन् छटपटिन थालेकी थिएँ । यो मेरो उमेरको दोष हो वा मेरो पहिलो प्रेम ? बाइस–तेइस वर्षको उमेरसम्ममा कुनै दिन यस्तो भएको थिएन । यस्तो छटपटी कहिल्यै महसुस गरिनँ ।

‘म सुलभ, तपाईं ?’ तिम्रो पहिलो वाक्य थियो ।
ओहो ! मान्छे जति सुन्दर थियौ तिम्रो बोल्ने शैली पनि त्यत्तिकै सुन्दर ।
‘म जिया ।’ कस्तो लाज लागेको थियो, आफ्नो नाम भन्न पनि मलाई !
हुन त म मान्छेहरूसँग खुलेर कुरा गर्नुपर्ने मान्छे । म खुला दिलको हँसीमजाक गर्नुपर्ने मान्छे हँु तर पनि थाहा छैन, तिम्रो अगाडि के भयो मलाई ।

साँच्ची सुलभ, जतिजति तिमीलाई जान्दै गइराखेको थिएँ । म झनझन तिम्रो नजिक हुँदै गइराखेको थिएँ । तिम्रा हरेक कुुराहरूले मलाई लट्ठ पार्दै गइराखेको थियो ।
सुलभ, दिनमा एक्लै बस्दा पनि तिम्रै नाम मात्र जपिराख्न मन लाग्न थालिसकेको थियो । कति नै भएको छ र हामी यति नजिक भएको पनि तर अब तिमी बिना बस्न नसक्ने पारिसकेका थियौ तिमीले । थाहा छैन, के जादु छ तिमीमा कि त्यसरी म तिमीप्रति यसरी आकर्षित हुँदै गइराखेको थिएँ ।

क्रमिक रूपमा हाम्रो भेटघाट अझ आधुनिक शब्दमा भन्दा डेटिङ बाक्लिँँदै गइराखेको थियो । तिम्रो उपस्थितिले म कति रोमाञ्चित हुन्थेँ । तिमीसँग बिताएका हरेक क्षण मेरा लागि कति बहुमूल्य थियो, त्यो मलाई मात्र थाहा छ ।

‘सुलभ, म अब तिमी बिना बाँच्न सक्दिनँ र सायद तिमी पनि म बिना । हाम्रो यो कञ्चन र पवित्र प्रेममा कसैको पनि आँखा नलागोस् । अब तिमी मेरो सबै थोक भइसक्यौ । मैले आज तिमीलाई आफ्नो शरीर पनि सुम्पिदिएको छु । अब यो शरीरको हक जमाउने तिमी मात्र हौ सुलभ ।’ म आफ्नो बेडमा छरिएका कपडाहरू टिपेर लगाउँदै उसको अनुहार हेर्छु ।

ऊ केही बोलिराखेको थिएन । ऊ सोफाको एक छेउमा टुसुक्क बस्यो । मायालाग्दो गरी । ‘तिमी सारै आकर्षक छौ मेरो प्रिय ।’ उसको चौडा छातीमा एउटा सानो रातो कोठी हेर्दै मैले भनेँ ।
‘तिम्रो नराम्रो भनेको केही छैन । तिमी जस्तो जीवनसाथी मैले पाउनु म आफूलाई भाग्यमानी सम्झन्छु र मेरा बाबुआमा पनि तिमी जस्तो ज्वाइँ पाउनु, भाग्यमानी ठान्छन् ।’

‘अझ हाम्रो विवाह भएको छैन । याद छ कि छैन ?’ ऊ होटेलको झ्याल छोपेर उभिएका रङ्गीन पर्दाहरू खोल्दै भन्छ । कोठामा उज्यालो थपिन्छ । धरानको गर्मी, त्यसमा टन्टलापुर घाम लागिरहेको छ बाहिर ।

‘भर्खरै चलेको ओछ्यानको न्यानोमै मात्र सीमित राख्ने भन्ने सोचेका छौ ?’ म जङ्गिन्छु ।
मेरो रूप देखेर ऊ नरम हुन्छ र कसेर मलाई अँगालोमा बाँध्छ । थाहा छैन, जबजब म उसको अँगालोमा हुन्छु । आफूले कहिल्यै नपाएको न्यानो माया पाउँछु । यसरी नै सधैँ उसको अँगालोमा बाँधिरहन पाए बरु भोकै बस्थेँ ।

‘सुलभ, मैले हाम्रा बच्चाहरूको पनि नाम राखिसकेँ । ‘स्निग्धा र सुभान’ हाम्रा हुने बालबच्चाहरूको नाम ।’
सुलभ मलाई एकोहोरो हेरिरहन्छ ।

जोगबनी, भेडेटार, धरान र विराटनगरमा हामीले बिताएका रमाइला पलहरू । मारवाडी बास्ना आएको मिठाई, होटल क्याल्रोनमा बिताएका क्षणहरू, मेलिना स्टुडियोमा हामी दुई सँगै बसेर खिचेका फोटोहरू, तिमीले मलाई कालो सारी लगाएको राम्रो देखिन्छ भनेर घरको कौसीमा तिमी र म भएर सँगै खिचेका फोटोहरूले आजीवन मलाई तिम्रो समीपमा राख्न मदत गरिरहन्छन् ।

‘जिया, तिम्रो त सुलभ अङ्कल हो । तिम्रो बुबाको सानीआमाको छोरा ।’ एक्कासी दिज्यूले दिनु भएको यो जानकारीले मुटुभित्रै पुगेको चिसो सुइरो भएर पोल्न थाल्छ । समालिन खोज्दाखोज्दै पनि अवाक बनाई दिन्छ यस परिस्थितिले । एउटा गहिरो निश्वास छाड्छु मानौँ बोल्नलाई केही शब्दहरू नै छैन जस्तो ।

एकैछिनमा सबै उथलपुथल भएको जस्तै । मानौँ हिरोसिमामा नभई मैकहाँ आएर पड्किएको जस्तो भइराखेको छ । किन आज नै दिज्यूसँग हाम्रो भेट हुनुपरेको होला । आँखाबाट आँशुका भेल थामिराखेको छैन । जसलाई मनबाटै मेरो सबै थोक मानिसकें । जसका लागि मङ्गलबारको व्रत बस्छु । तिमीबाट हजुर भइसकेको अवस्थामा किन र के हुन गयो आज ।

सुलभ, हजुरकै नामबाट टाउकोमा लुकेर सिन्दूर लगाउँथें र हातमा चुरा भने आज के भयो यस्तो ।
नजाने कुन साइतमा उसका ती भावुक र नशालु आँखासँग मेरो आँखाको मित्रता हुन पुगेथ्यो कुन्नि ? हरेक खाली समय उसलाई नियाल्दैमा बित्थे । मलाई देख्नासाथ आँखाले स्पर्श गरेर ओठमा काउकुती लगाउने मुस्कान छाड्न ऊ कहिल्यै बिर्संदैनथ्यो ।

यी सब हाम्रा प्रारम्भिक दिनदेखिका आजसम्मको सबै एकएक गरेर आँखाअगाडि घुम्न थालिराखेका छन् ।
सुलभ मेरो अङ्कल रे । बिहानसम्म ‘मेरो प्रिय’ भनेको मैले र ‘मेरो जानु’ भनेको सुलभले, के भोलिबाट पनि हामी यही सम्बोधनले एकअर्कालाई बोलाउन सक्छौँ होला त ?

‘प्रिय, प्रेममा सबै थोक जायज छ । प्रेम अन्धो हुन्छ, त्यसैले त भनेका हुन् नि ! बरु म आमाबाबु, इष्टमित्र केही भन्दिनँ । मलाई हजुर मात्र भए पुग्छ । मलाई यो समाजसँग केही लेनदेन छैन । कसलाई चाहिँ भन्न बाँकी राखेको छ र यो समाजले । म हजुरको लागि जे पनि गर्न तयार छु ।’ होटल क्यालरोनमा मैले यसो भन्दै गर्दा सुलभ टाउको झुकाएर बसिराखेको थियो ।
मलाई थाहा थियो, सुलभका लागि मेरो के महत्व थियो भन्ने ? मेरा लागि उसले उसकी आमालाई समेत छोड्न तयार हुन्छ भन्ने ।

‘दुई वर्ष अब सुलभ हामीकहाँ नै बसेर पढ्छ काठमाडौँमा ।’ मम्मीले भनिरहँदा मलाई यस्तो लाग्यो, म आकाशमा चरासँगै उडिराखेको छु जस्तो ।
मेरो राजा, मेरो सपनाका सन्तान स्निग्धा र सुभानका ड्याडी, मेरो सुलभ आउँदैछ । त्यो पनि काठमाडौँमा हाम्रै घरमा ।
सुलभ हजुरलाई के थाहा, मैले प्रत्येक सामानहरू आफैँले मिलाएर सजाएको छु, हजुर बस्ने रुमको ।

अब बिहान उठ्ने बित्तिकै हजुरलाई हेरेर दिनको शुरुवात गर्न पाउने र हजुरलाई माया गरेर गुडनाइट भन्न पाउने भएँ ।
हो, घर र समाजमा काका भतिजी भएता पनि हामी जे थियौँ त्यो हाम्रो लागि अरूभन्दा अलग थियो र हामी यसैमा खुशी थियौँ ।
मलाई कैले पनि यो चुट्की सिन्दूरको ढोङ, जन्ती र बाजाको विश्वास लागेन र अब त झन छँदै छैन ।

म जीवनलाई आधुनिक सभ्यतासँग एकाकार हुन चाहन्छु र म विवाह नगरीकन यसरी नै हजुरसँग बाँकी जीवन बिताउन चाहन्छु ।
म विवाह नगरी आमा बन्न पनि तयार छु । अरूले मलाई आधुनिकताको भूत चढेको भन्लान् तर यो भूत नभएर वास्तवमा नै म आधुनिक छु । यसैले म अब विवाह गर्न चाहँदिनँ ।
म विवाहपछिको घर, सासू–ससुरा, लोग्नेलाई मान्नुपर्ने, बिहान चाँडै उठेर पूजापाठ, सबैलाई मान्नुपर्ने आदिबाट म धेरै पर छु ।

मलाई ‘बुहारी’ भन्ने शब्द नै मन पर्दैन । म पढे लेखेको मान्छे, राम्रै ठाउँमा काम गर्छु भने किन म अरूको अन्डरमा बस्ने ?
अहिलेको एक्काइसौँ शताब्दीमा आएर चौधौँ शताब्दीको विचार राख्ने मान्छेप्रति मलाई घृणा लाग्छ । सबैभन्दा ठूलो म, आफू खुशी हुुनुपर्छ र त्यसका लागि म जे पनि गर्न सक्छु ।
मलाई थाहा छ, सुलभ अरूभन्दा भिन्दै छ र मेरो हरेक सपनाहरू पूरा गर्ने औकात हजुरमा छ भन्ने ।

राजा, हो म अरूभन्दा फरक छु । हजुरलाई मैले भनेकी थिएँ जो मैले सानोमा काठमाडौँ आएर आफ्ना मान्छेकहाँ बस्दा पाएकी दुःखहरू ।
मेरा बाबुआमाहरू काठमाडौँमा आएर सङ्घर्ष गर्दै थिए । म घरकी जेठी भएकीले गर्दा पनि मैले ती सब इच्छाहरू हुँदाहुँदै पनि कहिल्यै पाइनँ । अरूको घरमा बस्दाको पीडा त्यो मैले भोगेकी छु ।
सुलभ, अब म आफू कमाउनेछु र अब म सब कुरा गर्नेछु, जुन मैले सानैदेखि जवानी हुँदासम्म गर्न पाइनँ । भोलि के हुन्छ, कसले देखेको छ र ? त्यसैले म आजका लागि बाँच्ने मान्छे ।

म ती सब कुराहरूको अनुभव गर्न चाहन्छु जुन कुरा पहिले पाएकी थिइनँ । मलाई कसैले के भन्छन्, त्यो मतलब छैन । म जिया हुँ र जियाले जे पनि गर्न सक्छ राजा ।
जुन कुरा गर्नदेखि घृणा लागेर आउँछ, त्यही कुरा बारम्बार सुनिरहनुपर्दा वाक्क लाग्छ मलाई । कहिलेकाहीँ त भनिदिन मन लाग्छ सबैलाई, ‘तिम्रो हुनेवाला ज्वाइँ मैले आजभन्दा नौ वर्षअगाडि नै खोजिसकेकी छु’ भनेर, तर विवश छु ।

हुँदाहुँदा आज सुलभलाई नै गएर भन्नुभएछ मम्मीले ‘जियालाई बिहे गर्न मनाउनु प¥यो ।’ बिचरा सुलभ भनोस् पनि के ?
‘जिया, हेर त विदेश बस्ने केटाको कुरा आएको छ । काठमाडौँमा नै बस्ने परिवार पनि सानो । मलाई हेर्दा ठीकै लागेको छ । आज यस केटाकी आमालाई पनि भेटेर आयौँ । अब तेरो के छ विचार ? कि सधैँ बिहे नगरी बस्छु भनेर भन्नुप¥यो, होइन भने एउटा निर्णय लिनुप¥यो ।’ मम्मीले मेरो अगाडि तीनओटा फोटोहरू राखेर भित्र जानुभयो ।
अहिल्यै सलाई कोरेर ती सबै फोटोहरू जलाई दिऊँ जस्तो लागेको थियो ।

सुलभलाई धेरै पटक भनेको पनि छु, ‘अब हामीले एउटा निर्णय लिनुपर्छ । होइन भने हजुरकै अगाडि मलाई अर्कैको पल्ला भिडाई दिनेछन् । अनि हजुर लाटोले केरा हेरेको जस्तै हेर्दै बस्नू ।’
‘मलाई मात्र हजुरको साथ पाए म हजुरसँगै भाग्न पनि तयार छु’ भनेकी थिएँ । तर सधैँ सुलभ भाग्ने कुरामा हच्किन्थ्यो र सधैँ मैले पनि घरमा बिहेको कुरा पन्छाउन सक्दिनथेँ ।

यो बाजाका धुनले मेरो कान फुट्ला जस्तो भइराखेको छ । घरका सबैका अनुहारमा खुशी छाएको छ । तर म छैन, यो मेरो अगाडि उभिएको मान्छेलाई म लोग्ने कदापी मान्न तयार छैन ।
यो विवाह सुलभ र मेरो सपना साकार गर्नका लागि मात्र हामी दुईले बनाएका योजनाभित्रको पहिलो चरण थियो । जसरी चलचित्रमा नायिकाहरूले फिल्ममा गरेका बिहे जस्तै । यो पनि मेरा लागि त्यस्तै थियो ।

मेरो बिहे त आजभन्दा धेरै अगाडि भइसकेको थियो । मेरो मनको राजकुमारसँग ।
यो केटो विदेशबाट मसँग बिहे गर्छु भनेर आएको । कति भने यसलाई म तिमीसँग बिहे गर्दिनँ पनि भनेँ तर मान्दै मानेन ।

यसले मेरो सिउँदोमा सिन्दूर हाल्दा टाउकामा झुसिलकीरा हिँडेको जस्तो चिलाउन पो थाल्यो बा । अझ कत्ति न लोग्ने भएको फुर्ती झारेर फोटो खिच्नलाई मसँगै टाँसिन आउँछ पो । होइन, यो जस्तो नराम्रो मान्छे सायद मैले कोही देखेको छैन । के देखे होलान् मेरा बाबुआमाले पनि ।
झट्ट सुलभलाई सम्झेँ । बिचरा एउटा कुनामा गएर रुँदै होला मेरो राजा अहिले । सुलभको एक छेउमा पनि यसलाई राख्न सुहाउँदैन ।

बाबुआमा रुन थाले । ‘गर्दिनँ भन्दाभन्दै कर गरेर बिहे गरिदियौ । अहिले चाहिँ रुँदै नाटक’ मनमनै भनेँ । सुलभलाई सम्झेँ, हाम्रा स्निग्धा र सुभानलाई सम्झेँ । डाँको छोडेर रुन मन लाग्यो ।
मनमा विद्रोह जागिराखेको थियो । अझै पनि समय छ, छोड्दे सबैलाई । तेरो गन्तव्य यो होइन भनेर । तर पनि सकिनँ ।

मायामा हरेक कुरा जायज हुन्छ भन्दै अर्काे चरणतिर खुरुखुरु प्रवेश गरें ।
‘आफ्नो मनको अदालतमा परास्त मान्छे दुनियाँको कुनै पनि न्यायालयमा विजय प्राप्त गर्न सक्दैन ।’ त्यसैले म हार्न हुँदैन । यो त पहिलो चरण मात्र हो । यस्ता अझै धेरै चरणहरू पार गर्दै हामीले देखेको सपनाको चुचुरोमा झन्डा गाड्नै छ ।

जेजे गर भने त्यहीत्यही गर्दै गएँ । यो घर र यहाँका मान्छेहरू कुनै अर्कै ग्रहबाट आएका एलियन जस्तै लागिराखेको थियो ।
अब यो विदेशबाट आएको केटोसँग सिँगै रात बिताउनु छ भन्ने कुराले अहिल्यै डाहा पैदा भइसक्यो । रात आउँदै नआए पनि हुन्थ्यो जस्तो भइराखेको थियो ।

हुन त यसलाई विदेशमा नै प्रस्ट भनिसकेकी थिएँ, ‘जबसम्म मेरो मञ्जुरी हुँदैन तबसम्म मलाई छुन पाउँदैनौ ।’ हुन्छ त भनेको थियो तर हेर्दै डाँकु जस्तो छ के भर ।
यो केटा र म मात्र एउटै कोठामा थियौँ । सुङ्गुर बस्ने खोर जस्तो सानो कोठा ।

दाँत देखाउँदै कोठामा पस्दा, नीलोतुथो जस्तो भएको ओठ र सेतै दारीमा बूढो गाला, हाँस्दा पनि कस्तो नसुहाएको । म त्यो नीलोतुथो जस्तो ओठ, चिम्सा आँखा, टाउकाको कपाल लगभग छैन भन्दा पनि हुने टाउको, मुखभरि छ्याका नै छ्याका आएको, डल्लो सबै कुरा सानो लाग्ने तलदेखि माथिसम्म, शरीरलाई हेर्न नपरोस् भनेर मोबाइलतिर फर्किन्छु ।
‘आज हाम्रो सुहागरात ।’ भन्दै मेरो नजिक आएर थचक्क बस्छ ।

कुनै पशु मरेर सिनो गनाएझैँ सोझै मेरो नाकमा छिर्छ । दौडेर गएर बान्ता गरूँ जस्तो भइराखेको थियो । उसको शरीरबाट आएको गन्धले । जुरुक्क उठेर आफूसँग भएको अत्तरले त्यस वातावरणलाई केही हदसम्म भए पनि कम गर्न खोज्छु ।
आँखा एक्कासि घडीमा पुग्छ एघार बजिसकेछ । सुलभले मेरो फोन नै कुरिराखेको होला । बाहिर कौसीमा गएर फोन गर्न थाल्छु ।
कोठामा फर्कन्छु ।

अझै सुतेको छैन रहेछ यो । यसले मलाई चिनेकै छैन म के चीज हुँ भनेर ।
अब हाम्रो योजनाको दोस्रो चरणमा प्रवेश गर्ने बेला भयो ।
‘म कुमारी केटी होइन । मेरो अर्कै केटा छ । म अब चाँडै यो घरबाट जाँदैछु ।’ भनिदिएँ । मन हल्का हुन्छ ।

ऊ एकटकले मतिर हेरिरहन्छ । यसको हेराइ र अनुहारबाट सजिलै अनुमान लगाउन सक्छु, मेरो वाक्यले नराम्रोसँग यसको हृदयलाई घोचेको छ । विचित्रको उदासीले भरिएको यसको आँखा एक्कासी राता भए । काला र नीलोतुथो जस्तो ओठहरू थर्थराउन थाले । मलाई के मतलब उता पल्टिएर सुतिदिएँ ।

दिनभरिको थकान एकै पटक बिहान पूजाको घण्टी बजेको आवाजले निद्रा खुल्यो । यसो घडी हेरेँ बिहानको पाँच बजेको मात्र रहेछ । होइन, यो घरका मान्छेको कसैको काम त छैन तर पनि के छोप्नलाई यति चाँडो उठेका होलान् ।

‘जेसुकै होस्, मलाई किन नाटक गर्नलाई उठ्नु प-यो र नि यिनीहरूसँगै ?’ फेरि सुतिदिन्छु । ‘बिहान सात बजेसम्म सुतेर काम गर्ने दिदीले बेडमा दुई राउन्ड टी ल्याएपछि मात्र बेड छोड्ने म । हरेक दिन सके कल नै गरेर, होइन भने मेसेज नै भए पनि सुलभलाई गरेर मात्र दिनको सुरुवात गर्थें म ।’ ‘टिक्क राम्री भएर एरोबिक गर्न जान्थेँ म । त्यहाँ पनि एकसेएक केटाहरू हुन्थे । सबको नजर ममाथि हुन्थे तर पनि त्यस्ता झारेझुरेले कहाँ मलाई सक्थे नि ।’

अब ढिला भयो, बिहानको आठ नै बज्न लागिसकेछ । केही पो भन्ने हुन् कि ? तर मलाई के मतलब तेह्र, चौध दिनको लागि जे भने पनि सहिदिन्छु ।
कस्तो बैरागलाग्दो वातावरण । मेरो सुलभ राजा यतिखेर के गरिराख्सेको होला । मनमा र दिमागमा मात्र राजाको नै याद आइराखेको छ । फुत्त उठेर जान पनि नमिल्ने ।
कस्तो चलन हो यो घरको, कहीँ नभएको सबैको हातमा ढोग्नुपर्ने रे । सासूको त बिहान खुट्टै ढोग्नुपर्ने रे । होइन, यिनीहरू कुन शताब्दीका जन्तुहरू हुन् ।

राजा हजुरले त सबैभन्दा पहिला जे गरे तापनि मलाई नसोधी केही गरिबक्सिन्नथ्यो । तर यो त आमातिङ्ग्रे नै रहेछ भनेको । जतिखेर पनि मम्मी मम्मी भनेको छ । कानको जाली अब च्यातिन मात्र बाँकी छ भनेको ।

राजा हजुर भनिसिन्छ, ‘एक महिना जति कुरौं’ तर मलाई यो हप्ता पनि कटाउन गाह्रो भइसक्यो ।
मैले हप्ता दिनमै यसलाई वाक्क पारिसकेकी छु । सायद आफै चाँडै फर्किन्छु जस्तो कुरा गरिराखेको सुनेकी थिएँ अघि । राजा, यो विदेशमा चाँडै गएमा हाम्रा योजना सफल हुनुलाई झन् सजिलो हुने भयो ।

राजा मेरो शरीर यो नर्कमा भए तापनि मेरो बाँकी सबै हजुरकैमा छ । म सुलभको मात्र हुँ ।
“राजा, म मङ्गलबारको बिहानको फ्लाइटमा आउने भएँ । म अब सब छोडेर मात्र हजुरको हुनलाई आउने भएँ । मङ्गलबारबाट मेरा बाबुआमा सबै हजुर नै । हजुरलाई अँगालो हालेर धेरै रुन मन छ मलाई । अब हाम्रा सपनाको स्निग्धा र सुभानलाई वास्तविकतामा ल्याउन म आउँदै छु राजा । मैले यसलाई पनि कुरा मिलाइसकेँ । अब केही बाधा अड्चन रहेन राजा मलाई अब पूर्ण रूपमा हजुरको हुनलाई ।” मेसेज पठाउँछु ।

अरू दिनको तुलनामा यो आज खुशी देखिन्छ । मेरा आँखामा छाइएको खुसीले गर्दा पो हो कि यसलाई पनि खुसी देखेको मैले ।
बिहानको साढे चार बजेको छ । यो आफैँ मेरो लुगामा आइरन लगाइदिँदै छ । मलाई बाटामा खानुपर्छ भनेर स्न्याक पनि ब्यागमा हालिदिएको छ । हिजै यो आफैँ मलाई नेल आर्ट गर्न पनि लगेको थियो ।
कति खुशी छु आज म । नौ वर्षदेखिको हाम्रो सपना आज पूरा हुँदै छ । हतारहतार लुगा लगाएर भर्‍याङ ओर्लिन्छु ।
तलसम्म मेरो ब्याग बोकेर मलाई छोड्न आउँछ ।
‘होइन, यसलाई थाहा त छ, जसलाई बिहे गर्न विदेशबाट आएर बिहे गरेकी स्वास्नी आज कहाँ जाँदै छ र के गर्न जाँदै छ भनेर पनि ?’ मनमनै सोच्छु ।
यो भर्‍याङमा बसेर मलाई हात हल्लाइराखेको हुन्छ । म चाँडोचाँडो गाडी चढेर आफ्नो सपना साकार पार्नतिर लाग्छु ।
अर्जुन थापा (समकालीन साहित्य डटकमबाट)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७