अभिनय मात्र गर्दैनन् अभिनेतृहरू


१८ जेष्ठ २०७६, शनिबार
Keki adhiri

काठमाडौं, १८ जेठ । अभिनेतृ श्वेता खड्कालाई दरबारमार्गस्थित राइजिङ मलको भुइँतलामा देख्नुभयो भने उनी त्यहाँ कुनै भेटघाटका लागि पुगेकी होलिन् भनेर नझुक्किनु होला । श्वेता प्रायः त्यहीँ भेटिन्छिन् ।

अझ भनौं, चलचित्रमा व्यस्त नभएका बेला उनलाई सधैं त्यहीँ फेला पार्न सकिन्छ । करिब साढे दुई वर्षअघि श्वेताले उक्त मलमा हिमालयन जाभा क्याफे सञ्चालनमा ल्याएदेखि नै उनलाई अधिकांश समय त्यहीँ भेटिन थालेको हो । दिवंगत अभिनेता तथा आफ्ना श्रीमान् श्रीकृष्ण श्रेष्ठको निधनपछि झण्डै एक वर्ष गुमनाम जीवन बाँचेकी श्वेताले आफूलाई व्यस्त राख्न उक्त क्याफे सञ्चालन गरेको सहजै अनुमान लगाउन सकिन्छ ।

क्याफे सञ्चालनमा आएको केही महिनापछि नै श्वेताले चलचित्र निर्माणको क्षेत्रमा पनि हात हालिन् । त्यसो त श्रीकृष्ण छँदै उनीहरूले सहकार्यमा चलचित्र कोहिनूरको निर्माण गरेका थिए । यद्यपि पछिल्लो चलचित्र ‘कान्छी’ मा श्वेताले अभिनय मात्र गरिनन्, सोलो निर्मातृका रूपमा समेत आबद्ध भइन् । कान्छी व्यावसायिक रूपमा सफल भयो । यतिबेला उनी आफ्नो होम प्रोडक्सनभन्दा बाहिरको एउटा चलचित्रमा व्यस्त छिन् । निर्देशक सूर्य बोहोराको चलचित्र ‘हेल्लो जिन्दगी’ मा उनी मुख्य अभिनेतृका रूपमा अनुबन्ध भैसकेकी छिन् ।

‘म प्रायः अन्तरवार्ता, भेटघाटदेखि बिजनेस मिटिङसम्मका लागि आफ्नै क्याफे रोज्छु,’ श्वेता भन्छिन्–उक्त क्याफे उनका लागि घरजस्तै हो । हिमालयन जाभाको यो फ्रेन्चाइज खोल्नुअघि श्वेताले कफी बनाउने कोर्स गरेकी थिइन् ।

चलचित्रको अभिनय तथा निर्माणलाई पार्ट टाइम बनाउने सम्भावना देखाइसकेकी श्वेताले काठमाडौंका अन्य स्थानमा समेत क्याफे सञ्चालन गर्ने योजना बनाएकी छिन् । क्यापेचिनो र अमेरिकानो कफीकी पारखी श्वेता चलचित्र निर्माण र कफीको व्यापारमा मात्र सीमित छैनन्, त्यससँगै उनले होटल, इन्टेरियर डिजाइनर तथा हेल्थ क्लबसमेत सञ्चालन गरिरहेकी छिन् ।

अभिनेतृ वर्षा राउत केही महिनाअघि वैवाहिक जीवनमा प्रवेश गरिन् । अभिनेता तथा युवा व्यवसायी सञ्जोग कोइरालासँग विवाह गर्नुभन्दा अघिदेखि नै उनीहरू सहकार्यमा विभिन्न व्यवसायमा आबद्ध भैसकेका थिए । संजोगसँग बिजनेस पार्टनरका रूपमा वर्षाले सिभिल मलमा आइसक्रिम लाइभ सिभिल मल नामको आइसक्रिम पार्लर सञ्चालनमा ल्याएकी थिइन् भने त्यसअघि नै उनीहरूले ठमेल नजिकै क्याफे पनि सञ्चालन गरेका थिए ।

उनीहरूकै लगानीमा दरबारमार्गमा ह्यासट्याग लाउञ्ज पनि सञ्चालनमा छ । केही समयअघि मात्र वर्षा र संजोग मिलेर नयाँबानेश्वरमा चियाका विभिन्न स्वाद चाख्न पाइने चिया अड्डा खोलेका छन । नाम चिया अड्डा भए पनि उक्त रेस्टुराँमा ब्रेकफास्ट र लन्चसमेत सर्भ गरिन्छ ।

अभिनेतृ राउतले यी सबै व्यवसायमा आफ्नो प्रत्यक्ष संलग्नता दर्शाएकी छैनन्, यद्यपि संयोजसँग विवाह हुनुअघिदेखि नै उनी यी व्यवसायमा जोडिँदै आएकी छिन् । विवाहपछि भने उनले अभिनयबाट बचेको समय यिनै व्यवसायलाई दिन थालेकी छिन् । वर्षाका अनुसार अभिनय बाहेकका यी कार्यले उनलाई एकातिर व्यस्त बनाउँछ भने अर्कातिर आत्मनिर्भर समेत बनाइरहेको छ ।

कुनै बेलाकी सफल अभिनेतृ कृति भट्टराई अहिले सञ्चारकर्मी तथा क्याफे सञ्चालिकाका रूपमा चिनिन्छिन् । जनता टेलिभिजनसँग आबद्ध कृतिले नयाँबानेश्वर (थापागाउँ) मा केही वर्षअघिदेखि एउटा क्याफे सञ्चालन गरिरहेकी छिन् । अर्गानिक एस्प्रेसो नाम राखेर कृतिले अर्का एकजना व्यवसायीसँगको साझेदारीमा उक्त क्याफे सञ्चालनमा ल्याएकी हुन् ।

कृतिले अभिनयलाई भने करिब–करिब बिटै मारिसकिन् भन्दा फरक पर्दैन । यद्यपि उनी टिभिसीहरूमा भने देखिइरहन्छिन् । कृति क्याफेको व्यवसायलाई बिल्कुलै नौलो बाटो बताउँछिन् र उनी यसमा रमाउन थालिसकेकी छिन् । लामो समयदेखि सञ्चार माध्यमहरूमा सक्रिय कृतिले न्यूजरुम बाहिर निस्केर नयाँ व्यवसाय थाले पनि यतिबेला उनी पुनः न्यूज रुममा फर्किइसकेकी छिन् भने उनको क्याफे पनि निरन्तर चलि नै रहेको छ ।

अभिनेतृ नम्रता श्रेष्ठ पनि लामो समयदेखि रेस्टुराँ व्यवसायमा छिन् । वर्षमा एक–दुईवटा सेलेक्टेड चलचित्रमा मात्र अभिनय गर्ने नम्रता चलचित्रमा आउनुअघि रेडियो जक्कीका रूपमा रेडियो कान्तिपुरमा सुनिन्थिन् । रेडियोबाट चलचित्रको यात्रा प्रारम्भ गरेकी नम्रताले अभिनयमा पनि सफलता हासिल गरिसकेकी छिन् ।

महँगो पारिश्रमिक लिने अभिनेतृहरूको सूचीमा रहेकी नम्रताले काठमाडौंको टंगालमा एटिक बार सञ्चालनमा ल्याएकी छिन् । उनी प्रायः त्यही रेस्टुराँमा भेटिन्छिन् । त्यसो त नम्रताले चलचित्रको निर्माणमा समेत हात हालेकी छिन् । यद्यपि उनले निर्मातृका रूपमा सफलताको स्वाद भने चाख्न पाएकी छैनन् ।

अभिनेतृ केकी अधिकारी अब कलाकार मात्र रहिनन् । अघिल्लो वर्ष चलचित्र कोहलपुर एक्सप्रेसमार्फत उनले आफूलाई निर्मातृका रूपमा समेत अघि बढाएकी छिन् । व्यावसायिक रूपमा सफल नै मानिएको कोहलपुर एक्सप्रेसपछि केकीले भविष्यमा थप चलचित्र बनाउने सम्भावना छ ।

चलचित्रको अभिनय बाहेक म्युजिक भिडियो तथा टिभिसीमा समेत उक्तिकै सत्रिय केकीले दोस्रो चलचित्रको निर्माणको तयारी थालिसकेको बताइन्छ । ‘अभिनेतृका रूपमा अभिनय गर्ने समय निश्चित हुन्छ, त्यसैले हामीले अहिलेदेखि नै वैकल्पिक बाटो पहिचान गर्दै जानुपर्छ केकी भन्छिन्–अधिकांश कलाकारले अभिनयबाहेक अन्य वैकल्पिक बाटो खोज्न थालिसकेका छन् । केकीले व्यवस्थापन विषयमा स्नातकोत्तर उत्तीर्ण गरेकी छिन् ।

अभिनेतृ रेखा थापाले चलचित्र निर्मातृ तथा निर्देशकको छवि बनाएको धेरै भैसकेको छ । रेखा लामो समयदेखि चलचित्रको अभिनयका साथै निर्माण एवं निर्देशनमा समेत सक्रिय छिन् । पछिल्लो समय उनले निर्माण गरेका चलचित्र व्यावसायिक रूपमा सफल नभए पनि रेखाले चलचित्र निर्माणको कार्यलाई भने निरन्तरता दिइरहेकी छिन् ।

रेखा समाजसेवा तथा राजनीतिमा समेत आबद्ध छिन् । रेखा थापा फाउन्डेसनमार्फत रेखाले सामाजिक कामहरूलाई निरन्तरता दिइरहेकी छिन् । उनको राजनीतिक यात्रा भने माओवादीबाट प्रारम्भ भएको हो । अहिले उनी राष्ट्रिय प्रजातन्त्र पार्टीसँग आबद्ध छिन् । रेखाले अभिनय, चलचित्र निर्माण, समाजसेवा, राजनीति एवं खेलकुदमा समेत रुचि देखाएकी छिन् ।

रेखाले एउटा महिला क्रिकेट क्लब खरिद गरेर त्यसको मालिक बनेकी छिन् । नेपालमा आयोजना हुने पहिलो महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको टोली, मालिक र मार्की प्लेयर सार्वजनिक समारोहमा रेखा थापाले आफूलाई टिम मालिकका रूपमा प्रस्तुत गरेकी हुन् । अभिनेतृ इच्छा कार्की कुशल महिला व्यवसायी हुन् भन्दा फरक पर्दैन ।

उनी चलचित्रमा आउनु अघिदेखि नै सौन्दर्य व्यवसायमा आबद्ध छिन् । केही वर्षअघि प्यासिफिक इभेन्टले काठमाडौंमा आयोजना गरेको सुपर मोडल नेपालकी विजेता इच्छा कुशल मेकअप आर्टिस्टसमेत हुन् । उनले काठमाडौंको नक्सालमा गुणस्तरीय सेवासहित मेकअप स्टुडियो नै सञ्चालनमा ल्याएकी छिन् । चलचित्र द ब्रेकअपमार्फत रजतपटमा आएकी इच्छाले आफ्नो मेकअप स्टुडियो तथा चलचित्रको अभिनयलाई सँगसँगै अघि बढाउने बताएकी छिन् ।

पुरानी अभिनेतृ क्षितिजा शाक्य अहिले अभिनयमा खासै देखिन्नन् । उनले आफूलाई कुशल फेसन डिजाइनरका रूपमा स्थापित गरिसकेकी छिन् । क्षितिजाले काठमाडौं मलमा आफ्नै बुटिक समेत सञ्चालनमा ल्याएकी छिन् ।

अभिनेतृ करिश्मा मानन्धर पनि अभिनयमा मात्र सीमित छैनन् । विगतमै केही चलचित्र निर्माण गरेकी करिश्मा पछिल्लो समय सक्रिय राजनीतिमा छिन् । उनी डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टीकी सक्रिय कार्यकर्ता थिइन् । जुन पार्टी उपेन्द्र यादवको पार्टीसँग एकीकरण भएको छ ।

अभिनेतृ दीपाश्री निरौला अहिले अभिनयभन्दा चलचित्र निर्देशकका रूपमा बढी प्रख्यात छिन् । उनले निर्देशन गरेका छक्का पञ्जाका शृंखलाले नेपालमा कीर्तिमानी व्यवसाय गरेका छन् । पछिल्लो समय सामाजिक कार्यमा समेत उक्तिकै सत्रिय दीपाश्री विभिन्न उत्पादनका विज्ञापनका साथै नेपाल टेलिभिजनबाट प्रसारण भैरहेको जितु नेपालको कार्यक्रम मुन्द्रेको कमेडी क्लबसँग पनि आबद्ध छिन् ।

अभिनेतृ पवित्रा आचार्य कुशल कोरियोग्राफर (नृत्य निर्देशक) पनि हुन् । उनी नृत्य निर्देशकका रूपमा केही शैक्षिक प्रतिष्ठानमा कार्यरत छिन् भने चलचित्रदेखि म्युजिक भिडियोसम्म नृत्य कोरियोग्राफी गर्छिन् । यसबीच उनी चलचित्र निर्माणमा समेत आएकी छिन् । पवित्राले निर्माण गरेको चलचित्र मेला व्यावसायिक रूपमा औसत साबित भएको थियो ।

अभिनेतृ दिया मास्के कुशल रंगकर्मीका साथै नृत्यांगनासमेत हुन् । उनको अभिनय चलचित्रमा भन्दा नाटकमा अझ बढी खुलेको दर्शकहरूको प्रतिक्रिया छ । दिया आफ्ना श्रीमान् अनुप बरालसँग अभिनयको प्रशिक्षणमा समेत व्यस्त छिन् । त्यसबाहेक उनी हिमालय टेलिभिजनबाट प्रसारण हुने रियालिटी शो ‘हिमालय रोडिज’ को निर्णायक पनि हुन् ।

अभिनेतृ रिमा विश्वकर्मा अहिले अभिनयभन्दा बढी रियालिटी शोहरूमा सक्रिय छिन् । नेपाल आइडलका दुई सिरिजमा उद्घोषिकाका रूपमा आबद्ध भैसकेकी रिमाले म्युजिक भिडियो तथा स्टेज कार्यक्रमहरूलाई पनि उत्तिकै समय दिइरहेकी छिन् । अभिनेतृहरू बेनिशा हमाल, अनु शाह, शिल्पा पोखरेल आदिले पनि चलचित्र तथा म्युजिक भिडियोलाई भ्याएसम्म समय दिइरहेका छन् । नारी मासिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७