आँखै अघि दाजुको गोली हानी हत्या गरिएको पीडा भोगेका ओशानेको यस्तो छ क्रिकेट संघर्ष र करिअर


१८ जेष्ठ २०७६, शनिबार
osane

काठमाडौं, १८ जेठ । वेस्ट इण्डिजका २२ वर्षीय तीव्र गतिका बलर ओशाने थोमसले पहिलो विश्वकपमै सनसनी मच्चाएका छन् । उनको बलिङ सामु पाकिस्तानी ब्याट्स म्यानहरु टिक्न धौ–धौ हुँदा चार जना मुख्य खेलाडी उनकै बलमा आउट भए ।

तीव्र गति र सर्ट पिच बलमा पाकिस्तानी ब्याट्स म्यानहरुले इंग्ल्याण्डको पिचमा रन बनाउन सकेनन् । विश्वकपको डेब्यू खेलमा उनले जम्मा ५ दशमलव ४ ओभर बलिङ गर्दै २७ रन खर्चिएर ४ विकेट लिए । उनको कसिलो बलिङकै कारण पनि पाकिस्तान १०५ रनमा अल आउट हुन पुग्यो ।

os

थोमसले पाकिस्तानका मुख्य ब्याट्सम्यानहरु बाबर आजम, मोहम्मद हफीज, शदाब खान र वहाब रियाजलाई पेभेलियनको बाटो देखाएका थिए । १६ वर्षको उमेरमा थोमसको जीवनमा ठूलो घटना घटेको थियो । उनका २० वर्षीय दाजुको उनकै आँखा अगाडि गोली हानेर हत्या गरिएको थियो ।

संघर्षको कहानी

उनी २० वर्षको उमेरमा जमैकाको राजधानी किंग्सटन गए जहाँ उनीमाथि सांघातिक हमलासमेत भएको थियो । उनी सुपर मार्केट जाँदा एटिएम बाहिर तीन जना गुण्डाले पैसा, घडी र चेन लुटेर लगेका थिए ।

थोमसले वेस्ट इण्डिजका लागि सन् २०१८ मा डेब्यू गरेका थिए । उनी अहिले टिमका मुख्य बलरसमेत हुन् । जमैकाका तीव्र गतिका बलर थोमसमा १४०–१५० किमिको गतिमा बल फाल्ने क्षमता छ । राष्ट्रिय टिममा पुग्न थोमसले आफ्नै अगाडि दाइको हत्या देख्नु र आफैँ लुटिएपछि पनि हिम्मत नहारी क्रिकेटमा लागेका थिए ।

ओशानेको क्रिकेट करियर

सन् २०१८ मा भारतविरुद्ध डेब्यू गरेका थोमसले सबैको ध्यान केन्द्रित गर्न सफल भए । उनले पाँचमध्ये तीन खेलमा शिखर धवनको विकेट लिएका थिए । पहिलो टी–२० मा एकै ओभरमा रोहित शर्मा र शिखरलाई आउट गरेका थिए । उनले अहिलेसम्म १० एक दिवसीय र ७ टी–२० खेलेका छन् ।

क्रिकेट यात्रा

क्यारेबियन प्रिमियर लिगका लागि भएको ट्रायलमा क्रिस गेलले उनलाई ल्याएका थिए । त्यसको प्रदर्शनका कारण उनी वेस्ट इण्डिजको टिममा परे । आईपीएलमा राजस्थान रोयल्सबाट खेलेका उनी पहिलो पटक विश्वकपको टिममा परेका हुन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७