सबै मिस इण्डिया प्रतियोगी किन उस्तै देखिन्छन् ?


१९ जेष्ठ २०७६, आईतवार
miss india

काठमाडौं, १९ जेठ । मिस इण्डिया प्रतियोगिताबाट नै प्रियङ्का चोपडाले बलिउड सुपरस्टारको यात्रा आरम्भ गरेकी थिइन् । त्यसैले यस वर्षका प्रतियोगीहरूको सामूहिक तस्बिरमा व्यापक मुस्कान देखिनु अनौठो होइन । मिस इण्डिया जीवन परिवर्तन गरिदिने प्रतिष्पर्धा हो ।

तर अन्तिम चरणमा पुग्न सफल भएकोमा उत्साहित हुनुको साटो प्रतियोगीहरूले आफूलाई एउटा बहसको केन्द्रमा पाएका छन् । टाइम्स अफ इण्डिया पत्रिकामा छापिएको सबै प्रतियोगीको तस्बिरमा आलोचकहरूले ‘आयोजकको गोरो छालाप्रतिको मोह’ देखेका छन् ।

miss

उक्त पत्रिका पनि प्रतियोगिताको एउटा आयोजक हो । भारतमा सर्वाधिक बिक्री हुनेमध्येको एक सो अङ्ग्रेजी दैनिकमा प्रकाशित तस्बिरमा एक ट्वीटर प्रयोगकर्ताले ‘यो तस्बिरमा के गलत छ ?’ भन्दै प्रश्न गरेपछि यो बहस शुरु भएको हो ।

चम्किलो अनुहार, काँधसम्म आउने केश र एकैखालको छालाको रङ्गले उनीहरूलाई लगभग समान देखाउँछ । रमाइलोकै लागि भए पनि केहीले भनेका छन्– वास्तवमा ती सबै एकै व्यक्ति थिए कि ?
ट्वीटरमा उक्त तस्बिरको चर्चा हुन थालेपछि आलोचकहरूले तस्बिरमा नभएर सहभागीको वर्णमा विविधता नभएको औँल्याएका छन् । उनीहरूका अनुसार यसबाट एकपटक फेरि भारतको गोरो छालाप्रतिको अत्यधिक मोहलाई उजागर गरिदिएको छ । आयोजकहरूले यसबारे कुनै पनि प्रतिक्रिया जनाएका छैनन् ।

सुन्दरी प्रतियोगिताको व्यवसाय
सन् १९९० को मध्यदेखि नै सुन्दरी प्रतियोगिता भारतको व्यवसाय बनेको छ । मिस इण्डियाको उपाधि जितेका ऐश्वर्या राय, सुस्मिता सेन र प्रियङ्का चोपडाजस्ता सुन्दरीहरू विश्व सुन्दरी बन्न सफल भए । धेरै सुन्दरी प्रतियोगिता विजेताहरूले बलिउडमा आकर्षक नाम, दाम र काम पाएका छन् ।
पछिल्ला वर्षहरूमा सुन्दरी प्रतियोगितामा सहभागी हुन चाहनेहरूका लागि तालिम दिन भारतभर च्याउ उम्रेझैँ संस्थाहरू खुलेका छन् । तर पनि धेरै सफल महिलाहरूमा गोरो छाला भएकाहरू नै छन् । तर यो अनौठो होइन ।

Aaiswarya

विशेषतः महिलाका सन्दर्भमा गोरो छालाप्रतिको अत्यधिक मोह भारतमा चीर परिचित छ । धेरैले गोरो वर्णलाई कालो वर्णभन्दा उच्चकोटीको मान्छन् । उदाहरणका लागि विवाहका लागि गोरो वर्णलाई सधैँ राम्रो मान्ने गरिएको छ ।

सन् १९७० ताका भारतको पहिलो छाला गोरो बनाउने क्रीम फेयर एन्ड लभ्ली बजारमा आएपश्चात् छाला सेतो बनाउने सो उत्पादन धेरै ब्रिक्री हुने सौन्दर्य प्रसाधनमा पर्छ । बलिउडका कतिपय चर्चित र प्रसिद्ध अभिनेता अभिनेत्रीहरू त्यस्ता सामग्रीको विज्ञापन गर्न देखा परिसकेका छन् । यस्ता क्रीम र जेलका विज्ञापनमा छाला सेतो बनाउने मात्र होइन, आकर्षक जागिर र प्रेम पाइने तथा विवाह हुने प्रचार गर्ने गरिन्छ । अनि एउटा विशेष खालको वर्णलाई महत्व दिने यस्ता सुन्दरी प्रतियोगिताहरूले त्यस्तै चल्तीका धारणालाई कायम राख्न सहयोग पु¥याउँछन् ।

पुरुषको गोरोपन
सन् २००५ मा केही व्यक्तिहरूले गोरोपन महिलाका लागि मात्र नभए पुरुषलाई पनि आवश्यक भएको निष्कर्ष निकाले । त्यसपछि आयो पुरुषलाई गोरो बनाउने पहिलो क्रीम– फेयर एन्ड ह्यान्डसम ।

health

अभिनेता शाहरुख खानले समर्थन गरिदिएको उक्त क्रीमले पनि ठूलो सफलता पायो ।
केही वर्षयता ‘कालो नै सुन्दर’ र ‘अश्वेत र प्रेमिल’ जस्ता अभियान चलेका छन् । ती अभियानले कालो वर्णमा पनि गर्व गर्नुपर्छ भन्दै रङ्गभेदमाथि प्रश्न गरिरहेका छन् । तर त्यसले काखीमुनिका रौँ हटाउनेदेखि जननेन्द्रिय गोरो बनाउनेसम्म दाबी गर्ने क्रीम र जेलको बाढीलाई रोक्न सकेको छैन ।

करोडौँको व्यापार
भारतमा गोरोपन बढाउने क्रीम र ब्लीचको लोकप्रियता कति छ भन्ने कुरा यस्ता सामग्रीको प्रत्येक वर्ष हुने करोडौँ डलरको व्यापारबाट पनि अनुमान लगाउन सकिन्छ । एउटा अनुमानका अनुसार सन् २०२३ सम्ममा महिलालाई गोरो बनाउने सामग्रीको बिक्री ५० अर्ब भारतीय रुपैयाँ पुग्नेछ ।

गोरोपन बनाउने सामग्रीको प्रतिरक्षा गर्नेहरूले भने यसलाई व्यक्तिगत चाहना बनाउने गरेका छन् । उनीहरूका अनुसार आफ्नो ओठ रातो बनाउन महिलाले लिपस्टिक लगाउँछन् भने छाला गोरो बनाउन कुनै क्रीम वा जेल लगाउनु ठूलो कुरा होइन । यो तार्किक लाग्छ तर अभियन्ताहरू चाहिँ गोरो छालाप्रतिको अत्यधिक चाहना विभेदयुक्त रहेको औँल्याउँछन् ।

उनीहरू गोरो छालालाई उच्चकोटीको ठान्ने सोचले सामाजिक पूर्वाग्रहलाई सूक्ष्म ढङ्गले बढाउने र कालो छाला हुनेहरूलाई अपहेलित महसुस गराउने बताउँछन् । यसले कालो छाला हुनेहरूको आत्मविश्वास कमजोर हुनजान्छ । उनीहरूका भनाइमा त्यसले कालो छाला हुनेहरूको व्यक्तिगत र व्यवसायिक जीवनमा पनि असर गर्न सक्छ । कालो वर्णका थोरै अभिनेत्रीहरूले मात्र बलिउडमा मुख्य भूमिका पाएको देखिन्छ ।

hoading

सुन्दरी प्रतियोगिताहरूलाई विशेष खालको वर्णलाई मात्र महत्व दिने गरेको आरोप लाग्ने गरेको छ । विज्ञापनकर्ताहरूको स्वनियमन निकाय विज्ञापन मापदण्ड परिषद् भारत (एएससीआई)ले सन् २०१४ मा एउटा मार्ग निर्देशिका जारी गरेको थियो । उक्त निर्दे्शिकामा विज्ञापनहरूमा कालो वर्णका व्यक्तिहरूलाई कुरूप, निराश र चिन्तित देखाउनलाई बन्देज लगाइएको छ ।

त्यस्तै त्यस्तो वर्णका व्यक्तिहरूलाई विवाह, जागिर वा पदोन्नतिका लागि पछाडि पारिएको जस्तो देखाउनु हुँदैन भन्ने पनि उसको निर्देशन छ । यद्यपि केही संवेदनशील देखिए पनि यस्ता विज्ञापनहरू आउने क्रम जारी छ । लोकप्रिय चलचित्र कलाकारहरूले त्यस्ता सामग्रीको प्रवर्धन पनि जारी राखेका छन् । हिन्दी बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७