कमरेड प्रचण्डसँगै देखेको सपना साकार पार्न नेकपा आएको हुँ : पदम राई


१९ जेष्ठ २०७६, आईतवार
Padam Rai nepal communist party

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य पदम राई आज सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । विप्लव समूहका निकै प्रभावशाली नेताका रुपमा चिनिएका राई एका-एक सत्तारुढ नेकपामा प्रवेश गरेपछि राजनीति क्षेत्रमा निकै चासो बढेको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका शीर्ष नेताले आज एक कार्यक्रमबीच राईलाई नेकपा प्रवेश गराएका हुन् । नेकपा प्रवेशपछि राईले विप्लव समूह छाडेर नेकपा प्रवेश गर्नुको गरेकाे विषयमा पदम राईसँग गरिएको कुराकानीको अंश :–

नेकपा विप्लव समूह किन छोड्नु भयो ?
मैले जे सोचेर, बुझेर कम्युनिष्ट पार्टीमा लागेपछि अगाडि बढ्ने सन्दर्भमा अध्ययन अनुभव गर्दै जाँदा अहिलेसम्मको कम्युनिष्ट इतिहासलाई हेर्दाखेरी ठूला-ठूला संघर्ष भए । तर, जनता र राष्ट्रलाई फाइदा भन्दा पनि बेफाइदा भइरहेकाे पाएँ । लड्ने र लडाउने कुरा भन्दा आफ्नै एजेण्डा र राजनीतिक मुद्धाहरुलाई टेबलबाट कुरा अगाडि बढाउँदा जनता र राष्ट्रलाई फाइदा होला भन्ने उद्देश्यले मैले वार्ताको पहल गरेको थिएँ । सरकारतर्फ पनि मेरो अनुरोध थियो र पार्टीमा पनि थियो । निषेध र प्रतिरोधको स्थितिले देशलाई फाइदा होइन घाटा लाग्छ भन्ने मैले बुझे ।

मैले वार्ताको कुरा गर्दै जादाँ मलाई एकाङ्कीरुपमा वार्ताको कुरा गरेको हुनाले नीति विपरीत भन्दै निलम्बनको कुरा आयो । त्यो भइसकेपछि राष्ट्र र जनताको हितका लागि बनाइएको पार्टी राष्ट्र र जनताकै लागि निलम्बनमा पर्ने भएपछि मलाई त्यति राम्रो लागेन । अर्को कुरा लडाई, युद्ध धेरै पटक भएको छ । जनता र राष्ट्रले केही पाएका छैन । त्यसैले मेरो उद्देश्य कुनै पार्टीलाई ठूलो बनाउने थिएन । अहिले पनि छैन । ठूलो पार्टी बनाउने होइन देश र जनतालाई फाइदा हुनुपर्‍यो । देशका जनता स्वाभिमान हुनुपर्‍यो, स्वतन्त्र हुनुपर्‍यो, समृद्धि हुनुपर्‍यो । यो बाटोबाट हुँदैन भन्ने कुरा भइसकेपछि मैले नेकपामा आउने निर्णय गरे ।

दोस्रो, कमरेड प्रचण्ड पहिल्यै हाम्रो नेता नै हुनुहुन्थ्यो । पछिल्लो चरण दुई मुहारलाई आरोप लगाएको थियौँ । उहाँहरुलाई मैले छेउमा पुगेर भाव बुझदा, अझ भेटेरै कुरा गर्दा निकै ठूलो आकांक्षा, सपना पाएँ । यो सपनालाई साकार पार्ने एक कम्युनिष्ट क्रान्तिकारीबाट साथ पो पाउनु पर्ने हो भन्ने भाव बुझेपछि मैले साथ दिनुपर्छ भनेर नेकपा प्रवेश गरे ।

वार्ताको पहल चाहीँ कहिलेदेखि गर्नु भयो ?
कहिलेदेखि भन्ने कुरा महत्वपूर्ण होइन् । नीतिगत, सैद्धान्तिक रुपमा भन्दा लडाई गरेर युद्ध गरेर सत्ता आउँछ भन्ने पक्षमा छैन । मुख्य उद्देश्य भनेको जनताको सत्ता हो । जसलाई नेकपाले बैज्ञानिक समाजवाद नाम दिएको थियो । त्यो साध्य हो । साध्यमा कसरी पुगिन्छ त्यो मुख्य कुरा हो । साधनलाई प्रयोग गर्ने भन्दा साध्यमा कसरी पुग्ने भन्ने कुरा हुन्छ । साध्य पुग्न साधनको कुरा मिलेन भन्ने हो ।

विप्लव वार्ताविरोधी हुनुको कारण के हो ?
मैले भन्न सक्ने कुरै छैन । आधिकारिक रुपमा त मलाई केही आएको छैन । पहिलो पार्टीको आठौँ महाधिवेशनले वार्ताको कुरै नगर्ने, भूमिगत हुने कहीं लेखेको छैन । तर, किन त्यसो गर्नु भयो म अचम्मित छु । महाधिवेशनले पारित गरेको दस्तावेज अनुसार बोलेको छु भन्ने दावी छ ।

निलम्बित नहुनु भएको भए विप्लवमै हुनुहुन्थ्यो ?

त्यस्तो होइन । म निलम्बित भएको कारणले यहाँ आएको होइन । प्रचण्ड कमरेडलाई भेटें, पछिल्लो चरण बादल कमरेडलाई भेटे । भेट्ने क्रममा उहाँहरुलाई अबका योजना र सपना के छ भनेर सोधें । त्यो सपना भनेपछि किन उहाँहरूलार्इ साथ नदिने भनेर यता आएको हो ।

कम्युनिष्ट दृष्टिकोणले तपाईलाई विप्लव पार्टीकाे नीति विपरीत काम गर्दा कारबाही गर्नु उचित थियो कि थिएन ?

एदकम ठिक हो । पार्टीको नीति विपरीत काम गर्नेको लागि । पार्टीको अनुशासनभित्र बस्नुपर्छ । तर, मेरो दावी के थियो भने–उहाँ चाहीँ पार्टीको नीति विपरीत चलिरहनु भएको छ । वार्ताको टेबलबाट पनि आफ्नो कुरा त भन्न सक्नुहुथ्यो नि । अर्को कुरा अहिले आम मान्छेहरु वार्ताकै पक्षमा देख्छु । एकचोटी आम मानिसहरुको, मध्यम वर्ग, बुद्धिजीवि, राष्ट्रवादी, परिवर्तनकामी शक्तिहरुको वार्ताप्रतिको जिज्ञासा चासो थियो । त्यसलाई पनि सम्बोधन गर्नुपर्छ भनेर वार्ताको कुरा गरेको थिएँ । तर एकाक्सी निलम्बन गरियो भनेर मिडियाबाट समाचार आयो । मेरो शैली नमिलेको होइन पार्टीको नमिलेको हो । मलाई स्पष्टिकरण लिने काम पनि भएन ।

दकम ठिक हो । पार्टीको नीति विपरीत काम गर्नेको लागि । पार्टीको अनुशासनभित्र बस्नुपर्छ । तर, मेरो दावी के थियो भने–उहाँ चाहीँ पार्टीको नीति विपरीत चलिरहनु भएको छ । वार्ताको टेबलबाट पनि आफ्नो कुरा त भन्न सक्नुहुथ्यो नि । अर्को कुरा अहिले आम मान्छेहरु वार्ताकै पक्षमा देख्छु । एकचोटी आम मानिसहरुको, मध्यम वर्ग, बुद्धिजीवि, राष्ट्रवादी, परिवर्तनकामी शक्तिहरुको वार्ताप्रतिको जिज्ञासा चासो थियो । त्यसलाई पनि सम्बोधन गर्नुपर्छ भनेर वार्ताको कुरा गरेको थिएँ । तर एकाक्सी निलम्बन गरियो भनेर मिडियाबाट समाचार आयो । मेरो शैली नमिलेको होइन पार्टीको नमिलेको हो । मलाई स्पष्टिकरण लिने काम पनि भएन ।

तपाईलाई आर्थिक चलखेलको आरोप पनि लागेको छ नि ?

मन नपरेपछि के–के भन्छन् भन्छन् नि । स्पष्टिकरण दिइराख्नु आवश्यक छैन । कति आर्थिक चलखेल गरेको छ दुनियाँलाई थाहा हुने कुरा हो । पदम राईले भ्रष्टाचार गर्‍यो भन्ने कतै सुनियो भने मान्छेहरु अचम्मित हुन्छन् । म भ्रष्टाचार, तस्करी र आर्थिक अनियमिता गर्ने मान्छे होइन ।

तपाईले आत्मसमपर्ण गर्नु भयो भन्ने पनि आरोप छ नि ? तपाईलाई गिरफतार गरेको हो कि होइन ?

गिरफतार गरेको छैन । कुनै पनि पार्टीमा संघ संस्थामा बस्ने काम गर्ने भनेको आफू खुशी हुनुपर्‍यो । आफू नै खुशी हुन नसक्ने काम गरेर केही काम छैन । यसरी काम गरेपछि म नै खुशी थिइन् । मैले बुझेको पार्टीको कार्यदिशा अनुसार कमरेडहरु नै चल्नु भएको छैन् भन्ने मेरो दावी हो । भूमिगत हुने, बन्दुक बोक्ने, वार्ताको कुरै नहुने, खरानी हुने भन्ने कुरा मलाई अचम्म लागेको छ । हामीले भनेको देशभक्त, वामपन्थी, राष्ट्रवादी, मध्यम वर्गको साथ सहयोग लिने, अगाडि बढ्ने, जनताको सहभागितासँगै शहरसँगै राजधानीमा एकीकृत क्रान्ति गर्ने वर्गीय समाजवाद ल्याउने भन्ने कुरा हो ।

तर उहाँहरु त्यतातिर गएर भूमिगत हुनु भयो । उहाँहरुले के भन्नु होला भने राज्यले धरपकड गरेपछि भूमिगत नभई के हुने भन्ने होला । हिजो स्टालिनले आफ्नै सहयोद्धालाई लाइन लगाएर गोली हानेर आम नरसंहार गरेको इतिहास पनि छ । सत्ताको कुरा हो । विप्लवले नेतृत्व गरेको पार्टीले बैज्ञानिक समाजवाद ल्याएपछि त्यहाँ पनि मान्छे असन्तुष्ट त बन्लान् । असन्तुष्ट भने त्यहाँ नि विद्धोह होला । त्यतिखेर उहाँहरु टुँडिखेलमा आएर मादल बजाएर त नाच्दैनन् । मंसिर ८ मा निर्मला पन्तको हत्यारालाई एक हप्ताभित्र प्रचण्ड–केपी ओलीको अगाडि ल्याउँछु भन्नु भएको थियो । खै ल्याएको ?

विप्लवमा पनि स्टालिन प्रवृत्ति हावी भएको हो ?

स्टालिन प्रवृत्ति हावी भएको भन्न सकिंदैन । कतिपय कुराहरु चाहीँ उद्देश्य अनुसार काम भएको छैन भन्दै आएको थिएँ । अहिले पनि भन्छु । भोलि पनि भन्छु । सच्चिन पर्छ । उद्देश्य चाहीँ महान राख्ने गतिविधि चाहीं निच गरेपछि हुँदैन ।

विप्लवको राजनीतिक कार्यदिशा नै गलत छ भन्न खोज्नु भएको हो ?

कार्यदिशा गलत भनेको छैन । ‘देशको विकासका निम्ति, समृद्धिका निम्ति, बैज्ञानिक समाजवादका निम्ति देशभक्त, वामपन्थी, राष्ट्रवादी, मध्यम वर्गहरुको (अहिले मध्यम वर्गको घेरा फराकिलो भएको छ) साथ सहयोग र समर्थनमा जनताको सहभागितामा शहर पनि नछोडी राजधानी पनि नछोडी एकिकृत जनक्रान्ति गर्ने, वैज्ञानिक समाजवाद ल्याउने, जनातालाई समृद्धि बनाउने, जनतालाई मुक्ति गराउने, राष्ट्रलाई मुक्त गराउने’ नीति थियो । नीति ठिक छ । मैले दावी गरिहेको छु । बरु गलत उहाँले गरिहरनु भएको छ ।

त्यो भए नेकपा चाहीँ किन आउनु भएको त ?

उहाँहरुले पार्टीको कार्यदिशा अनुसार काम नगर्नु भएपछि मैले सच्चाउनु पर्छ भनेर वार्ताको कुरा गरेको थिएँ । त्यो पार्टीको नीति विपरीत भयो । वार्तामा जाउँ भनेकै आधारबाट स्पष्टिकरण नलिइकन निलम्बन गरियो । मलाई स्पष्टिकरण नदिई निम्बनको कारणले नभई लक्ष्य, कार्यदिशा, सपना अनुसारको गतिविधि नगरेका हुनाले नेकपामा आए । राजनीति गर्ने मान्छेलाई ठाउँ त जहाँ पनि हुन्छ । महत्वपूर्ण कुरा भनेको लक्ष्य, उद्देश्य हो ।

विप्लवकाे पोलिटब्यूरो सदस्य हुनुहुन्थ्यो । विप्लवविरुद्ध बैठकमा बोल्न पाइँदैन्, पार्टी छोडेर जा भनियो भन्ने कुरा सुनिन्थ्यो नि ?

त्यस्तो होइन । मैले मेरो पार्टी मेरो नेता भनेर भेट्न खोजें । उहाँहरुले भेट्ने इच्छा नै राख्नु भएन । बरु तैंले भन्न खोजेको के भनेर स्पष्टिकरण सोध्नुको सट्टा निम्बन गरियो । म त एउटा पात्र भएँ तर यो प्रवृत्ति, संस्कार संस्कृति भएन । अर्को कुरा निलम्बन गरिसकेपछि प्रचण्डले भन्नु भयो, ‘हामीले निकै ठूलो लगानी गरेका छौँ, माया छ भन्नु भयो, माया त जहाँ पनि माया थियो । त्यसपछि उहाँको सपना सुनिसकेपछि साथ दिनुपर्छ भन्ने लाग्यो ।

जुन सपना साकार पार्न एउटा इँट्टाको काम गर्नुपर्छ भन्ने लाग्यो । इँट्टाको काम गर्न आएको छु । म उताको डर र त्रासले सुरक्षित हुनुका लागि आएको हो । कतिपय साथीहरुले वार्ताको कुरा गरिरहेका छन् तर, त्यो प्रशासनले निगरानी नगरोस् भनेर मात्र हो । तर मैले चाहीँ देश र जनतालाई केन्द्रमा राखेर वार्ता गर्नुपर्छ भनेको थिएँ । राज्यले प्रतिबन्ध लगायो त्यसको प्रतिकार गर्ने दुई शक्तिको टकरावको कुरा भयो । यसमा राष्ट्र र जनताले के पाउँछन् ? पटक–पटक क्रान्ति त हुँदै आएको छ । यसरी हुँदै गर्दा पनि राष्ट्र र जनताले केही नपाउने भएपछि वाक्क भएको थिएँ ।

अब विप्लव पक्ष र राज्य पक्षबीचको समाधान बाटो के देख्नुहुन्छ ?

म अहिले पनि के भन्छु भने राज्यले पनि दमन गरेर सकिन्छ, भन्ने सोच्नु हुँदैन । अहिले म राज्यको पक्षमा आए पनि मेरो अनुरोध छ, तीतो अनुभवबाट क्रान्तिको नाममा युद्ध र द्वन्द्वले नेपाली जनतारा राष्ट्रलाई घाटा नै गर्छ । बरु सबै एक चोटी बसौँ । देश परिवर्तन गर्नुपर्छ भन्ने कम्युनिस्टहरु बसौँ, नारायणमान विजुक्छेलाई बोलौँ, मोहन वैद्यलाई बोलौँ, मोहन विक्रमलाई बोलौँ, सीपी मैनालीलाई बोलौँ भने, बाबुरामलाई नै बोलौँ र विप्लवसँग बसौँ । समीक्षा गरौँ र अगाडि बढौँ । के हो त कहाँ कमी कमजोरी छन्, समीक्षा गरौँ । त्यति मात्र होइन, कम्युनिस्ट वृत्त बाहिर पनि बुज्रुक र बहादुरहरू छन् । देश बिग्रेको देखेर चिन्ता गर्ने र छाती पोल्ने मान्छेहरु छन् । किन हामी एक ठाउँमा नआउँने ? मैले गरेको सबै कुरा ठीक हो, अरूले गरेको सबै कुरा बेठीक हो भन्ने तर्क र बुझाइ अत्यन्तै गलत हो ।

विप्लवले नेकपा नेताहरुको हत्या गर्ने योजना बनाएका थियो भन्ने कुरा मिडियासँगै अध्यक्ष प्रचण्डले पनि बताउनुभएको थियो । त्यो योजना हो वा होइन् ? तपाईं पार्टी पोलिटब्युरो सदस्य हुनुहुन्थ्यो, बैठकमा त्यो कुरा आयो कि आएन ?

अब त्यो कुरा त मिडियाकर्मीलाई थाहा हुनुपर्ने हो । प्रचण्डलाई मार्ने योजना विप्लवको थियो भन्ने पनि सुनिन्थ्यो । मैले पनि सुनेँ । मैले नपत्याएर भनेको थिएँ विप्लवले प्रचण्डलगायतका नेताहरुलाई मार्ने योजना बनाएको छ भने पुष्टि भयो भने पार्टीबाट राजीनामा दिन्छु । मलाई लाग्छ विप्लवको कमरेडको प्रचण्डलगायतका नेताहरुलाई मार्ने योजना थिएन । नत सरकारले पूरा व्यवस्था गरेर विप्लवको हत्या गर्ने भन्ने कुरा आएको थियो नि ? तर अहिले पछिल्लो चरण मैले वार्ताको पहल गर्दै गर्दा विप्लव कमरेडले मलाई निलम्बन गर्नु भयो । यता मैले वार्ता हुनुपर्छ भनेको कारणका राज्यले मलाई धरपकड गरेन । पहिले त म सरकारको पार्टीमा आएको थिएन । मैले वार्ताको कुरा नगर्ने भनेर, विप्लवले भने जस्तै गरेको भए सरकारले मलाई समाएर लगिसक्नु पर्नेे थियो । म सरकारको पार्टीमा आज पो आएको छु । यस्तो मार्ने कुरा त माघ र फागुनदेखि हुँदैछ ।

१३. तपाईं वैशाख ९ गते नै नेकपा प्रवेश गर्ने भन्ने थियो नि त ? वैशाखमा के कारणले रोकिनुभयो ?

मलाई थाहा छैन, वैशाख ९ गते कसले कहाँ भन्यो ? मैले अस्तिको दिन मात्र कमरेड प्रचण्डसँग कुरा भयो । अनि उहाँले बोलाउनुभयो, म गएँ । विप्लवले निलम्बन गरेपछि मलाई अब के गर्र्ने भन्ने थियो । म त राजनीतिक मान्छे परेँ । सच्चिए राम्रो हुन्थ्यो । विप्लव नसच्चिएपछि सोच्नै पर्यो । अनि मैले काम गरेपछि जहिले नि देश र जनता असन्तुष्ट हुने काम गर्नु हुन्न भन्ने हो । अरुले सम्मान गर्छन् कि, हाइहाइ गर्छन् भनेर काम गर्ने होइन । आफूले केही गर्दैछु भन्ने क्लियर हुनुपर्यो् नि ? आफ्नो कामप्रति र उद्देश्यप्रति आफू नै क्लियर हुनुपर्यो ।

१४. तपाईं उता पोलिटब्युरो सदस्य हुनुहुन्थ्यो । अब यता के जिम्मेवारी रहन्छ ? जिम्मेवारीको कुरा के भएको छ ?

म पद बार्गेनिङ नगर्ने मान्छे हो । फेरि अघि अध्यक्ष कमरेड प्रचण्डले भनिसक्नुभयो, कस्तो हो पदम राई भनेर बुझिराख्नु भएको छ । यसमा म विश्वास छु कि मेरो सम्मान हुन्छ । अर्काे कुरा, म उताबाट यता कुनै ठूलो पदका लागि आएको होइन । मेरो जे सपना छ, त्यसलाई पूरा गर्नु हो । मैले कम्युनिस्ट राजनीति गरेको ३४ वर्ष भयो । त्यो पनि माओवादीबाट हो, अरूबाट होइन । मेरो ३४ वर्षको राजनीतिक अनुभवबाट हेर्दा मेरो सपना पूरा भएकै छैन् । मलाई कुनै जिन्सी, भौतिक सुख सुविधा चाहिँदैन । देश, जनता, राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, समानता र परिवर्तन मात्र मेरो दिमागमा आइरहेको छ । त्यो मैले काम गर्दैगर्दा खेरी सन्तुष्ट हुन सकिनँ । अब म आशा र अपेक्षा गर्छु, यो पार्टीमा ठूलो आशा गरेर आएको छु । मैले काम पाउँछु । म परिमाण निकालेर यस्तो गर्न चाहान्छु काम त पहिले नै गर्नुपर्ने रहेछ ढिलो भएछ भन्ने बनाउन चाहन्छु ।

१४. तपाईंलाई पदको अपेक्षा त होला नि ?

मेरो पदको अपेक्षा होइन । उद्देश्यसँग सम्बन्धित छ । म जहाँसुकै हुँ । मेरो अभावमा सपना पूरा भयो भने हास्ने र रमाउने मान्छे हो । म पदको पछाडि लाग्ने मान्छे होइन । पद सँगसँगै जिम्मेवारी पनि हुन्छ । बेकार पद किन चाहियो । मैले ठूलो डोको बोकेपछि डोकोभरी सामान बोके राम्रो हो । खालि डोको बोकेर केही हुँदैन ।

१५. अन्तिममा विप्लव नेतृत्वको एकीकृत जनक्रान्तिको भविष्य के होला ?

विप्लवले जित्दैन हार्छ भन्ने कुरा त हो । मैले अस्ति पनि भने ठूलो पार्टी त बन्ला तर जित्दैन भनेर लेखेको पाऊँ । त्यसमा मैले आपत्ति पनि जनाएँ । मेरो अहिले पनि एउटै कुरा छ । हार छ कि जित छ भन्ने कुरा होइन नि ? जित छ । १ सय ४ वर्षीय राणाशासनमा राणाहरुले, गङ्गालाल श्रेष्ठ, दशरत चन्द र शुक्रराज शास्त्रीको हत्या गरे । राणाशासन टिक्यो त ? राणाशासन मात्र ढलेको होइन । राणाहरु खै अहिले ? केही जीवित हुनु होला राजनीतिमा खै त ? त्यसैले त्यो तरिकाले हुँदैन भनेर मैले राज्य पक्षलाई भन्ने गरेको छ । अनि विप्लवमा त्यसको प्रतिकार गरेर विद्रोह गरेर सत्ता आउँछ भन्ने सपना छ नि ? हिजो १० वर्ष लड्दा १७ हजार मान्छे मारिए । परिवर्तनका लागि न लडेको हो र ?

अहिले विप्लव नै अन्तिम बहादुर र बुज्रुक होइन नि ? हिजो प्रचण्ड नहुँदा केही पनि नहुने र आज विप्लव नहुँदा केही पनि नहुने भनेर त हुँदैन नि ? परिवर्तन, क्रान्ति, स्वतन्त्र र स्वाधीनता चाहने मान्छे त अरू पनि छन । समयले त्यस्ता धेरै मान्छे जन्माउन सक्ला तर यस्तो समस्या त आइराख्छ । जबसम्म समाजामा समस्या रहिरन्छ । समस्याको समधान गर्नुपर्यो ।

नेपालमा समाजमा क्रान्ति भएकाले समस्या आएको होइन् । समस्याका कारण क्रान्ति जन्मेको हो । त्यसलाई सबै पक्षले बुझ्न जरुरी छ । त्यसैले दीर्घकालीन रूपमा समस्याको समाधानका लागि एजेन्डामा जानुपर्यो । मलाई खुसी लागेको छ । एमालेका झापा आन्दोलनका कर्मठ र अनुभवी नेताहरु हुनुहुन्छ । हिजो प्रचण्ड कमरेड मूलधारमा आएँ भनेर खुसी हुनुभयो । मान्छे र दललाई ल्याएर हुँदैन । अहिले विप्लव आएर के हुन्छ ? विप्लवका एजेन्डा सम्बोधन भएन भने त अर्को विप्लवको जन्मन्छ फेरि । मेरो अनुरोध यही छ, एजेन्डाका जानुपर्छ । ठूलो पार्टी बनाउँदा केहीलाई सत्तामा पुगेर खान त होला । तर जनता र राष्ट्रलाई धोका हुन्छ । अनि आन्दोलन र युद्ध रोकिँदैन नि ? समस्या हल हुँदैन् । कसले एजेन्डा उठायो । हिजो प्रचण्ड नेतृत्वमा सबै एजेन्डा हल भएको भए अहिले विप्लवको कुरा कसैले सुन्ने थिएन, केही बाँकी रह्यो ।

यद्यपी मैले अस्ती भेट्दा प्रचण्डले त्यो बाँकी कुरा पनि पूरा गर्छु भन्नुभयो । त्यसो हुँदा अब छुट्टै किन गर्ने त ? हामीले जे गरियो ठिक छ भन्नुभएको छैन् । केही नमिलेको छ, हाम्रो लक्ष्य उद्देश्य अझै छ, निरन्तर छौँ भनेपछि साथ र सहयोग दिनुपर्छ भन्ने लाग्यो । त्यसो हुँदा कुनै दल, कुनै व्यक्ति मिसिन्दैमा सबै सकिन्दैन् । अब हिजो प्रचण्डको नेतृत्वमा बाँकी रहेका कुराहरु गर्न जरुरी छ । त्यसैले म यता आाएको हो । त्यसका लागि मैले पनि प्रयास गर्छु, साथ सहयोग दिन्छु ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७