लोकसेवाका आयुक्त फटाहा हुन् : मुख्यमन्त्री राउत


२१ जेष्ठ २०७६, मंगलवार
raut

धनुषा, २१ जेठ । प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले लोकसेवा आयोगको कर्मचारी भर्ना विज्ञापनप्रति आक्रोश व्यक्त गरेका छन् ।

संविधानको व्यवस्था र भावना विपरीत विज्ञापन गर्ने लोकसेवा आयुक्तलाई मुख्यमन्त्री राउतले फटाहा र बेइमानको संज्ञा दिंदै आक्रोश पोखेका छन् । जनकपुरमा दलित सम्बद्ध संघ संस्थाहरुले मंगलबार आयोजना गरेको प्रदेशस्तरीय दलित अगुवा भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले पैसा कमाउनलाई आयुक्त पदमा बसेको आरोप लगाए ।

‘आयोगका आयुक्त फटहा र बेइमान छन् । पैसा कमाउन पदमा बसेका छन्’, मुख्यमन्त्री राउतले आक्रोश पोख्दै भने, ‘प्रदेश र प्रदेशभित्रको स्थानीय तहमा कर्मचारी पठाउने अधिकार हाम्रो हो । संविधानको धारा २२७ मा यो अधिकार ग्यारेन्टी गरेको छ । तर लोकसेवाका आयुक्त पैसा कमाउन र एउटा जाति र समुदायलाई कर्मचारीमा भर्ती गर्न बसेका छन् ।’

यो लोकसेवा आयोगको ट्रेलर मात्र भएको भन्दै मुख्यमन्त्री राउतले अधिकार प्राप्तिका लागि दलितहरुलाई आफै सशक्त हुनु पर्ने बताए । दलितहरु आफै सशक्त नभएसम्म अधिकार प्राप्त गर्न नसक्ने मुख्यमन्त्री राउतको भनाइ छ । प्रदेश सरकार दलितमैत्री रहेको दाबी गर्दै उनले दलितहरुको, दलित सशक्तिकरण ऐन, छात्रवृत्ति योजना, दलित छात्रावासको निर्माण जस्ता कार्यहरुलाई अघि बढाइसकेको उल्लेख गरे ।

सदनमा छलफलको क्रममा रहेको दलित सशक्तिकरण ऐन विश्वकै नमुना रहेको दाबी गर्नु हुँदै मुख्यमन्त्री राउतले ऐन पारित भएपछि दलितहरुको स्वास्थ्य, शिक्षाको ग्यारेन्टी प्रदेश सरकारले दिने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७