विश्वकप क्रिकेट : जोगियो श्रीलंका, आज दुई खेल हुँदै


२२ जेष्ठ २०७६, बुधबार
spo

काठमाडौं, २२ जेठ । श्रीलंकाले इङ्ल्याण्डमा जारी एक दिवसीय विश्वकप क्रिकेटमा पहिलो जित दर्ता गरेको छ ।

गए राति भएको खेलमा अफगानिस्तानलाई डीएल पद्दतिमा ३४ रनले पराजित गर्दै श्रीलंकाले पहिलो जित निकालेको हो । वेल्सको कार्डिफमा वर्षाले प्रभावित खेलमा श्रीलंकाले दिएको १७८ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ३२ ओभर ४ बलमा अलआउट हुँदै १५२ रन मात्र बनाउन सक्यो ।

उसका लागि नाजिबउल्लाह जाद्रनले ४३ रन बनाए पनि टोलीको हार जोगाउन सकेनन् । अफगानिस्तानलाई सस्तैमा रोक्न श्रीलंकाका नुवान प्रदीपले ४ तथा लसिथ मालिंगाले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ३६ ओभर ५ बलमा अलआउट हुँदै २ सय १ रन बनाएको थियो ।

वर्षाको कारण ४१ ओभरमा झारिएको खेलमा अफ्गानिस्तानलाई डि.एल पद्दतिको आधारमा १७८ रनको नयाँ लक्ष्य दिइएको हो । जितसँगै श्रीलंकाले २ खेलबाट २ अंक जोडेको छ । यसअघि पहिलो खेलमा श्रीलंका न्यूजिल्याण्डसँग १० विकेटले पराजित भएको थियो ।

जारी विश्वकपमा अफगानिस्तानको भने यो लगातार दोस्रो हार हो । अफगानिस्तान पहिलो खेलमा अस्ट्रेलियासँग ७ विकेटले पराजित भएको थियो । विश्वकप क्रिकेटमा आज दुई खेल हुनेछन् । आज भारत र दक्षिण अफ्रिका भिड्दा बंगलादेशले न्यूजिल्याण्डसँग खेल्नेछ ।

विश्वकप क्रिकेटको जारी १२ औं संस्करणमा भारतको यो पहिलो खेल हो भने दक्षिण अफ्रिकाको तेस्रो खेल हो । सुरुवाती दुई खेलमा दक्षिण अफ्रिकालाई इङ्ल्याण्ड र बंगलादेशले हराएका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७