ज्यानको सुरक्षा माग्दै कलाकार सरिता लामिछानेद्वारा पत्रकार सम्मेलन


२२ जेष्ठ २०७६, बुधबार
sarita

काठमाडौं, २२ जेठ । कलाकार सरिता लामिछानेले आफ्नो ज्यानको सुरक्षाको माग गर्दै आज पत्रकार सम्मेलन गरेकी छन् ।

उनले पत्रकार सम्मेलनमार्फत आफूले कलाकार संघको अधिवेशनमा अध्यक्ष पदका लागि उम्मेद्वारी दिएपछि धाकधम्कीहरु बढेको बताएकी छन् । आउँदो जेठ २५ गते शनिबार हुन लागेको चलचित्र कलाकार संघको निर्बाचनमा अध्यक्ष पदका लागि उम्मेद्वारी दिएकी कलाकार सरिता लामिछानेले आफ्नो पीडा दुखेसो, एजेण्डा र गुनासो पत्रकार सम्मेलनमा सार्वजनिक गरेकी हुन् ।

उनको पत्रकार सम्मेलनमा नायिकाहरु गौरी मल्ल, करिश्मा मानन्धर र रेखा थापा समेत उपस्थित थिए । तीनै जना नायिकाले महिला नेतृलाई साथ दिन आग्रह गरे भने सहि व्यक्तिलाई नेतृत्वमा ल्याउन समेत आग्रह गरेका छन् ।

पत्रकार सम्मेलनमा सरिताले आफ्नो एजेण्डा भन्दा बढी आफूले उम्मेद्वारी दिएपछि भोगेको पीडा प्रस्तुत गरिन् । २० बर्ष भन्दा लामो समयदेखि कलाकारिता क्षेत्रमा लागे पनि आफूलाई गैरकलाकारको आरोप लगाइएको बिषयमा मन दुःखेको बताइन् ।

उनले भनिन्, ‘नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा उम्मेद्वारी दिने निर्णय लिएपछि मैले धेरै किसिमका धाकधम्की सहिरहनु परेको छ । अझ विभिन्न घटनाक्रमहरुले आफ्नो ज्यान नै असुरक्षित भएको महसुस गर्न थालेकी छु ।’ उनले आफ्नो गाडी नम्बर टिप्ने, घर अगाडि आएर घर देखाउने, घर न टिप्ने जस्ता कार्य भईरहेको उनले बताइन् ।

पत्रकार सम्मेलनमा आफूलाई धाकधम्की आइरहेको बताए पनि उनले कसले धम्की दिएको भन्ने कुरा भने खोलिनन् । पत्रकार सम्मेलनमा उनले प्रश्न गरिन्, ‘तीन बर्ष संघमा म के हैसियतले महासचिव भएँ ? देश वा विदेशमा जाँदा मलाई तमाम नेपालीहरुले सरिता लामिछाने भनेर के आधारमा चिन्नु हुन्छ ? म ती मुद्दावालाहरुलाई सोध्न चाहन्छु ।’

उनले चुनावमा हार वा जीत हुने भन्दै आफ्नो प्रतिष्पर्धा गर्न पाउने अधिकार कसैले पनि खोस्न नपाउने बताइन् । उनले भनिन्–‘मलाई भोलिका दिनमा काम नै गर्न दिइएन भने म पत्रकारहरुको अगाडि नै आएर माफी माग्नेछु । तर, मैले काम गर्ने वातावरण पाएको खण्डमा चलचित्र संघको आफ्नै भवन हुनेछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७