सकियो पेट्रोलियम पाइपलाइन बिछ्याउने काम, तेल आयातमा दुई अर्ब जोगिंदै


२२ जेष्ठ २०७६, बुधबार
petroliyam pipe 1

काठमाडौं, २२ जेठ । राष्ट्रिय प्राथमिकता प्राप्त मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजनाको ९९ प्रतिशत काम सकिएको छ ।

बहुप्रतिक्षित उक्त परियोजनाका जनशक्तिका लागि आठ दिने तालीम दिइएपछि आउँदो असारभित्र सञ्चालनमा आउने भएको छ ।

पाइपलाइन सञ्चालनमा आएसँगै नेपाल आयल निगमलाई इन्धन ढुवानीमा भाडा वार्षिक झण्डै दुई अर्ब रुपैयाँ कम हुनेछ । भारतीय आयल कर्पोरेशन (आइओसी) सँगको सम्झौताअनुसार परियोजनाको सञ्चालन, मर्मत र अद्यावधिक राख्ने जिम्मेवारी निगमको भएकाले कर्पोरेशनले यही जेठ २३ गतेदेखि निगमका २५ जना प्राविधिक जनशक्तिलाई भारतको लखनउमा आठ दिने तालीम दिनेछ ।

नेपालतिर ३६ र भारततिर ४२ किलोमिटर पाइप बिछ्याइने उक्त परियोजनालाई गति दिन निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले सक्रियता देखाएपछि काम सम्पन्न भएको हो । निगमका उपनिर्देशक पुष्कर कार्कीका अनुसार तालीमपछि परियोजना हस्तान्तरण भई सञ्चालनमा आउने छ ।

पाइपलाइन सञ्चालनमा आएसँगै ढुवानी लागतको न्यूनीकरणले उपभोक्ता मूल्य समेत समायोजन हुनेछ । देशभित्र खपत हुने डिजेलमध्ये ७० प्रतिशत अमलेखगञ्जबाट आपूर्ति हुँदै आएको छ । मोतिहारी–अमलेखगञ्ज पाइपलाइन निर्माणसँगै उक्त पाइपलाइनलाई चितवनको लोथरसम्म विस्तार गर्ने निगमको योजना छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७