पशुबली न्यूनीकरणका लागि उठ्दै आवाज, पशु कल्याण ऐन ल्याउन माग


२४ जेष्ठ २०७६, शुक्रबार
pashubali

काठमाडौं, २४ जेठ । धार्मिक कारणले हुने पशुबलीलाई न्यूनीकरण गर्नुपर्नेमा सचेतना बढ्दै गएको पाइएको छ ।

अन्तर्राष्ट्रिय क्षेत्रमा सरकारले गरेका पशुमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता पूरा गर्न धार्मिकस्थलमा हुने पशुबलीलाई निरुत्साहित गर्नुपर्नेमा पशुअधिकारका क्षेत्रमा क्रियाशील विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले माग गरेका छन् ।

हिन्दू, इस्लामलगायत केही तान्त्रिक विद्यामा आस्था राख्ने समूहले धर्मका आधारमा पशुबली दिइरहेको पाइन्छ । धार्मिक गतिविधि हुने मन्दिर सबैको आस्था केन्द्र भएका कारण यस्ता स्थानमा शान्त र आनन्दको अनुभूति हुनुपर्ने हुँदा पशुबली हुन दिन नहुने आवाज उठ्न थालेको छ ।

पशु कल्याण सङ्घ एवं स्नेहाज केयरका अध्यक्ष स्नेहा श्रेष्ठले हाल मौजुदा नियम कानूनले पशुको अधिकार संरक्षण गर्न नसकेका कारण पशु कल्याण ऐन ल्याउनुपर्ने बताइन् । धर्म संस्कृतिका आधारमा मन्दिर परिसरमा हुने काटमारले सम्बन्धित क्षेत्रका मानिसको र समाजको सभ्यतामा आँच आउने उनको भनाइ छ ।

हिन्दू धर्मलाई वेदकालभन्दा पनि अगाडि अस्तित्वमा रहेको मानिन्छ । वैदिककाल र वेदहरूको रचनाको काल अलग–अलग मानिएको छ । हिन्दू धर्मशास्त्रमा हिंसालाई कहीं पनि महत्व दिइएको छैन । हिंसाबारे शास्त्रमा लामो व्याख्या छ । पशुबली भनेको पशुताको बली हो ।

मानिसमा विश्वशक्तिलाई बुझ्न सक्ने गुण आर्जन गरी पाशविक गुणहरु हटाउँदै जाने विश्वास जोडिएको छ । त्यसैगरी इस्लाम धर्ममा पनि हिंसालाई नभएर शान्ति र प्रेमलाई महत्व दिइएको छ । मानिसमा आउने गलत विचार तथा दुर्गुणलाई समाप्त गरी असल भावनाको विकास गर्न धार्मिक शिक्षाको खाँचो छ ।

एनिमल नेपालका अध्यक्ष प्रमदा शाहले पशुलाई पनि पीडा र खुशीको बोध गराउनका लागि पशु अधिकारको रक्षा हुनुपर्ने विचार व्यक्त गर्दै पशुकल्याणका लागि ऐन ल्याउनुपर्ने बताइन् । पशुप्रति हुने कुनै पनि किसिमको दुव्र्यवहार घटाउनका लागि पशु कल्याणको अवधारणालाई सर्वसाधरण मानिसले बुझ्न जरुरी छ ।

पशु कल्याणको सवलीकरणका लागि सरकार तथा गैरसरकारी क्षेत्रको सहकार्य र भूमिका महत्वपूर्ण हुने मानिएको छ । नेपाल सरकारका पूर्वसचिव कृष्णचन्द्र पौडेलले पशुपक्षी र मानवबीच सकारात्मक सम्बन्ध विकास गर्न जरुरी रहेको बताए । अधिवक्ता पद्मप्रसाद श्रेष्ठले मन्दिरमा हुने पशुबलीको अन्त्य गर्नपुर्ने भएकाले पशु ढुवानी मापदण्ड–२०६४ ले पशु कल्याणसम्बन्धी कार्य गर्न नसकेको जानकारी दिए ।

उनका अनुसार पशुप्रति गरिने दुव्र्यवहारलाई अब बन्ने कानूनमा मानवीय अपराधसरह दण्ड सजायको व्यवस्था हुनुपर्छ । ऐनमा पशुको कल्याणका साथै उपभोक्ताको हितमा व्यवस्था गरिनुपर्ने देखिएको उनको भनाइ छ ।

पशु चिकित्सा परिषद्का रजिष्ट्रार नारायणप्रसाद घिमिरेले भने, ‘मन्दिरमा हुने हिंसाले केही मानिसलाई सूक्ष्मरूपमा हिंसा पुगेको हुन्छ, कसैलाई चोट पु¥याउँदा पनि हिंसा हुन्छ, चित्त दुःखाउँदा, दुःख दिँदा हिंसा हुन्छ ।’

पशुसेवा विभागका अनुसार व्यवस्थित वधशाला र स्वस्थ मासु उपभोगको अवस्थामा सुधार ल्याउनका लागि पशुपक्षी बधशालाको प्रभावकारी व्यवस्था गरिने भएको छ । स्थानीय तह, प्रदेश र सङ्घको सहकार्यमा त्यो काम अघि बढाउने योजना विभागको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७