विप्लव नेकपामा जिम्मेवारी हेरफेर, कसलाई के जिम्मेवारी ? (सूचीसहित)

नयाँ सैन्य भर्नाको तयारी, हेड क्वार्टरको प्रत्यक्ष निगरानीमा मध्यकमाण्ड


२४ जेष्ठ २०७६, शुक्रबार
Netra bikram chand and nepal communist party

काठमाडौं, २४ जेठ । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ ।

विप्लव नेकपाले पार्टीको कमाण्ड र ब्युरो नेतृत्व फेरबदल गरेको हो । महासचिव विप्लवले हेड क्वार्टरको प्रत्यक्ष निगरानीमा मध्यकमाण्डलाई राखेका छन् । त्यसको जिम्मेवारी खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई दिइएको स्रोतले जानकारी दिएको छ ।

हेमन्तप्रकाश ओली ‘सुर्दशन’ पक्राउ परेपछि बलियो मानिएको मध्यकमाण्ड कमजोर बनेको विश्लेषण पार्टीले गरेको छ । प्रकाण्डलाई तत्काल कमाण्ड सुम्पन नहुने विश्लेषण गर्दै उनलाई हेड क्वार्टरको प्रत्यक्ष निगरानी रहने ठाउँमा जिम्मेवारी दिइएको स्रोत बताउँछ ।

प्रहरीले २२ साउन २०७५ मा पक्राउ गरेका प्रकाण्ड केही महिनापछि सर्वोच्चको आदेशले रिहा भएका थिए । पक्राउ पर्नुअघि उनी पार्टीको अर्थ विभाग प्रमुख थिए । व्यापारीबाट उठाएको चन्दाको सबै हिसाब किताब उनले राख्ने गर्थे । हाललाई यो जिम्मेबारी उनी एक्लैलाई छोडिएको छैन । ‘आर्थिक विभागमा प्रकाण्डसहित अर्का एक जना हेड क्वार्टरले तोकेका व्यक्ति रहने निर्णय भएको छ’, स्रोतले जानकारी दियो ।

पूर्वी कमाण्डमा रहेका अनिल शर्मा बिरहीलाई प्रकाशनको जिम्मेबारी दिँदै कमाण्डको नेतृत्व सन्तोष बुढामगर ‘विषम’ लाई दिइएको जनाइएको छ । पार्टीको पूर्वी कमाण्डको मुख्यालय भोजपुरलाई तोकिएको छ । पूर्वी कमाण्डका लागि बिषमसहित उमा भुजेललाई जिम्मेवारी तोकिएको छ ।

प्रकाशन, प्रशारण तथा सम्बन्ध बिस्तारसहित रातोखबर पत्रिका र अनलाइनलाई अझै प्रभावकारी बनाउने जिम्मेबारी बिरही र गुणराज लोहनीसहितको टोलीलाई दिइएको जनाइएको छ । मध्य तथा सुदुपश्चिम कमाण्ड तथा अन्तर्राष्ट्रिय विभागमा धर्मेन्द्र बास्तोला ‘कञ्चन’ यथावत छन् ।

विप्लवले लुम्बिनी–गण्डकी ब्युरो बनाएर त्यसको जिम्मेबारी पोलिट्ब्युरो सदस्य समेत रहेका चन्द्रबहादुर चन्द ‘बीरजंग’ लाई दिएका छन् । यस्तै सेती महाकाली ब्युरोको जिम्मेबारी ओमप्रसाद पुनलाई दिइएको हो ।

पार्टीमा विप्लवसहित ५ स्थायी समिति सदस्य रहेकोमा सुर्दशन पक्राउपछि ४ जना मात्र बाँकी छन् । १३ सदस्यीय रहेको पोलिट्ब्युरोको आकार समेत घटेको छ । जनवर्गीय संगठन र प्रवाससहित २० वटा ब्युरो रहेकोमा कमाण्डरहरु पक्राउ परेपछि ब्युरो समेत गाभिएका हुन् । महासचिव विप्लवले कतिपय कमाण्ड र ब्युरो गाभेको स्रोतले बतायो ।

नयाँ सैन्य भर्ना
हेड क्वार्टर सेक्रेटरीमा भेषराज भुसाल ‘धु्रब्र’ लाई नै निरन्तरता दिइएको छ । पार्टी महासचिव विप्लवले सैन्य विभागको जिम्मेबारी आफू मातहत नै राखेका छन् । यसलाई संगठित र शक्तिशाली बनाउन नयाँ भर्नालाई व्यापकता दिने निर्णय पार्टीले गरेको स्रोत बताउँछ । प्रतिबन्धित नेकपासँग हाल ४ कम्पनी जनसेना रहेको सरकारी अनुमान छ । केहि समयअघि गृहमन्त्री रामबहादुर थापा बादलले समेत विप्लव समूहको चार कम्पनी रहेको बताएका थिए ।

स्रोतका अनुसार पार्टीले पूर्वी कमाण्डमा शक्ति केन्द्रित गरेर चन्दा संकलनलाई तीब्रता दिएको छ । मध्य कमाण्डका सम्पूर्ण गतिविधि प्रहरीको निशानामा परेपछि पार्टीले पूर्वी कमाण्डमा केन्द्रित भएको हो ।

२८ फागुन २०७५ देखि सरकारले विप्लव नेतृत्वको पार्टीका सम्पूर्ण गतिविधिमाथि प्रतिबन्ध लगाएको छ । त्यसयता प्रहरीले ५ सय जना पार्टीका जिम्मेवार नेता तथा कार्यकर्ता पक्राउ गरेको छ । केही अदालतको आदेशबाट छुटेका छन् ।

हेर्नुस् सूची

get img

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७