मेयर द्वारिकलाल चौधरीलाई खुलापत्र


२४ जेष्ठ २०७६, शुक्रबार
dwarika 1

इटहरीका मेयर द्वारिकलाल चौधरी ज्यू
यो प्रवासी इटहरीवासीको मलेशियादेखि नमस्कार ।

वैचारिक हिसावले तपाई र मेरो आस्था फरक छ । तपाई जुन पार्टीको नेता हो म फरक पार्टीको कार्यकर्ता । तर, तपाईलाई म लामो समयदेखि चिन्छु र तपाईका गतिविधिलाई तपाई शिक्षक हुँदैदेखि नियाल्दै आएको छु । त्यहि भएर अहिले तपाई देशैभर चर्चाको शिखरमा रहेका बेला मैले पनि केहि नलेखी रहन सकिनँ ।

मैले जतिबेला तपाईलाई चिने त्यतिबेला तपाई गाईगोठ छेउछाउ गाँउका केटाकेटी बोलाएर विहान–विहान निःशुल्क पढाउने गर्नु हुन्थ्यो र बालबालिकालाई स्कुल पठाउनै पर्छ भनेर छरछिमेकीलाई कन्भिन्स गर्नु हुनुथ्यो । तपाईको निर्भिक र हक्की स्वभावलाई मैले पनि नजिकबाट नियाल्ने अवसर त्यहि बेलादेखि पाएको हो ।

कहीं कतै अन्याय अत्याचार र थिचोमिचोमा पर्न लागेको छ भने सहनु हुन्नथ्यो बरु जाई लाग्नु हुनथ्यो । कसैको दुःख देख्न सक्नु हुन्नथ्यो बरु सहयोग गर्न तम्सिनु हुन्थ्यो । गाउँ–गाउँबाट जागरण ल्याउन युवाहरु जुटनु पर्छ भनेर युवा वर्गलाई प्रोत्साहित गर्नु हुन्थ्यो ।

तपाई लोकप्रिय भएकै कारणले होला तपाई शिक्षक भएकै बेला २४ बर्षकै उमेरमा तपाईलाई तपाईको पार्टीले तत्कालीन हाँसपोसा गाविसको अध्यक्षमा टिकट दियो । एक पटक होइन दुई–दुई पटक जित्नु भयो । चुनाव मात्र जित्नु भएन निर्भिक, निडर र निष्ठावान स्वभावका साथ विकासको लहरले जनताको मन पनि जित्नु भयो । त्यहि बेलादेखि तपाईलाई चिन्ने जान्नेहरु भन्थे द्वारिकलाल आर्थिक रुपमा पारदर्र्शी ब्यक्ति हुन्, आफू पनि भ्रष्टाचार गर्दैनन् अरुलाई पनि गर्न दिंदैनन । भ्रष्टाचार गर्नेहरु जो हुन् छोडदैनन् ।

जनताको त्यो विश्वास र तपाईको निष्ठा र इमान्दारिता अहिलेसम्म पनि निरन्तर देखियो । जनताको त्यो विश्वास र तपाईको निष्ठा तपाईको ठूलो सम्पति हो । त्यहि इमान्दारिता र पारदर्र्शिताकै कारण होला हाँसपोसा समेत गाभिएर बनेको इटहरी उपमहानगरपालिकाको ऐतिहासिक प्रथम मेयरका रुपमा पनि जनताले तपाईलाई नै जिताए । चुनावताका तपाईले भाषण गर्दा भन्नु भएको थियो, ‘म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न, खोलामा डोजर चलाउँछु, सार्वजनिक जग्गा मिचेर बनाएका संरचना हटाउछु, सार्वजनिक जग्गा खोजी अभियान चलाउँछु ।’

तपाई निर्वाचित हुनुभयो, निर्वाचित हुने वित्तिकै ठूलो बाढीको सामना गर्नु प¥यो, नौ जना इटहरीवासीले त ज्यान नै गुमाए । त्यो बेला तपाईलगायत जनप्रनिनिधिहरु रात–दिन नभनी उद्धार र राहत वितरणमा खटनु भएको भनेर अझै पनि इटहरीवासीले प्रशंसा गर्दै आएका छन् । केहि समयपछि सिएफएल प्रकरणले इटहरीलाई देशैभर चर्चाको शिखरमा ल्यायो । तपाई भन्दै आउनु भएको छ, म जे होइन त्यो प्रकरणमा त्यहि देखाउन खोजियो ।

त्यो बेला तपाई पुरै तनावमा रहनु भएको सुनिएको थियो । तर, द्वारिकलाल चौधरीलाई मज्जाले चिनेका इटहरीवासीले सिएफएल काण्डमा द्वारिकलाल चौधरीले एक पैसा पनि भ्रष्टाचार गर्नै सक्दैन भन्ने कुरामा इटहरीवासी ढुक्क थिए । आखिरमा तपाईले अख्तियारबाट क्लिन चिट पाउनु भयो । अहिले तपाईले अन्तरवार्तामा भनेका कुरा मननीय छन् । त्यो बेला लामो समयसम्म मैले खेप्नु परेको मानसिक तनावको क्षतिपूर्ति कसले दिन्छ ?

संघीय सरकारले यो बर्ष मात्र सार्वजनिक जग्गा खोजी अभियान चलाएको छ । जुन तपाईले निर्वाचित भए लगत्तैदेखि शुरु गर्नुभयो । यो अभियानका क्रममा तपाईले हरेक दवाव र प्रभावमा नपरिकन निर्भिकतापूर्वक अघि बढनु भयो । म तपाईको पार्टी भन्दा फरक पार्टीको ब्यक्ति भए पनि तपाईको त्यो निडरतालाई मलेशियाबाटै सलाम गरें ।

एक निजी विद्यालय जसको सञ्चालकहरु तपाईकै पार्टीमा राम्रै प्रभाव पार्न सक्ने र अन्य पार्टीका गन्यमान्य प्रभावशाली ब्यक्तिहरुसहित इटहरीका ४१ जना ब्यक्तिहरु छन, त्यो विद्यालयले ओगटेको सार्वजनिक जग्गामा जनता पार्क शिल्यान्यास गर्न तपाईले जुन शाहस र हिम्मत गर्नुभयो त्यो हिम्मतको इटहरीवासीले मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

तपाईले त्यो बेला थेग्नु भएको दवाव जोसुकै ब्यक्तिले थेग्नै नसक्ने किसिमको थियो रे भनेर छरछिमेकले हामीलाई फोनमा सुनाउँथे । चुनावताका भन्नु भएको थियो–खोलामा डोजर चलाएर खोलालाई आफनो बाटोमा सललल बग्ने बनाउछु, डोजर चलाउनु पनि भयो । खोला सफाई अभियान, खोलामा बनाएका संरचना हटाउने अभियान र सार्वजनिक जग्गा खोजी अभियान जोसुकै जनप्रतिनिधिले गर्नै नसक्ने अभियान तपाईले चलाउनु भयो ।

अहिले पुनः तपाई चर्चाको शिखरमा हुनुहुन्छ । हो अन्तरवार्ताका क्रममा तपाईले प्रयोग गरेका शब्दहरु र शैलीप्रति मेरो पनि विमति छ । तपाई जस्तो जिम्मेवार मान्छे त्यसरी प्रस्तुत हुनु हुँदैनथ्यो । त्यसका लागि तपाईलाई सार्वजनिक रुपमा आत्मालोचना गर्न तपाईकै पार्टीका नेताहरुले पनि सार्वजनिक रुपमा आग्रह गरेका छन् । तपाई कम्युनिष्ट पार्टीको कार्यकर्ता पक्कै पनि त्यो काम गर्नुहोला भन्ने हामी प्रवासीको विश्वास छ ।

लोकतन्त्रमा प्रेस स्वतन्तताको सम्मान गर्नुपर्छ । म पत्रकारिता क्षेत्रलाई नजिकबाट नियाली रहेको ब्यक्ति पनि हुँ । धेरै साथीहरु पत्रकार हुनुहुन्छ । नेपालको राजनीतिक परिवर्तनमा सञ्चार जगतले खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंशा गर्न चाहन्छु । तर, पत्रकार मित्रहरुले पनि एक पटक आत्मसमीक्षा गर्नुपर्छ कि भन्ने मेरो आग्रह हो । पत्रकार र पत्रकारिता जगतलाई सर्वसाधारणले हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन पनि जरुरी देखिन्छ । ब्यक्तिलाई चिड्याउने किसिमले प्रश्न गर्ने समाचार लेख्ने शैलीमा परिवर्तन गर्दा समाजलाई नै फाइदा पुग्छ भन्ने लाग्छ ।
मलेशियाबाट
अर्पण उपाध्याय

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७