यसकारण मच्चायो हावाहुरीले कैलाली र कञ्चनपुरमा ‘बबण्डर’


२४ जेष्ठ २०७६, शुक्रबार
huri 1

काठमाडौं, २४ जेठ । पश्चिममा विकास भएको न्यूनचापीय प्रणाली र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको संयुक्त प्रभावले बिहीबार बेलुका कैलाली र कञ्चनपुरमा भीषण हावाहुरी आएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीबार साँझ कैलाली र कञ्चनपुरमा विकसित भएको प्रणाली विस्तारै सर्दै शुक्रबार बिहान काठमाडौंसम्म आइपुगी हावाहुरीसहित वर्षा भएको महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले बताए ।

bara

उक्त प्रणाली विस्तारै मध्य क्षेत्र हुँदै पूर्वतिर सर्दै गइरहेकाले क्षमता कमजोर भई घाम लागेको मौसमविद् पौडेलले जानकारी दिए । बेलुका पख भने पुनः प्रि–मनसुनको गतिविधि दोहोरी हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

मनसुन सक्रिय भएपछि मात्र प्रि–मनसुन कमजोर हुँदै जाने मौसमविद्को भनाइ रहेको छ । मौसमविद् पौडेलकाअनुसार यस वर्ष मनसुन एक साता ढिलो गरी भित्रिने भएको छ ।
जलवाष्पयुक्त हावाको वायुमण्डलको माथिल्लो सतहसम्म प्रभाव कायम रहेमा मनसुन सुरु हुने गर्छ । हालसम्म यो प्रणाली विकसित नभएकाले मनसुन ढिलो भित्रिने सम्भावना रहेको हो ।

सामान्यतया नेपालमा मनसुन सुरु हुने समय जुन १० हो । गत वर्ष जुन ८ मा भित्रिएको थियो । शुक्रबार राति देशका पूर्वी र मध्य भू–भागमा सामान्य बदली रही पश्चिमी भू–भागहरुमा आंशिक बदली रही मध्य तथा पूर्वी भू–भागका केही स्थानहरुमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार पूर्वी तथा मध्य भू–भागमा सामान्य बदली रही पश्चिमी भू–भागका स्थानहरुमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भू–भागका एकरदुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।

आइतबार देशका पूर्वी तथा मध्य भू–भागमा सामान्य बदली रही पश्चिमी भू–भागका स्थानहरुमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भू–भागका केही स्थानमा र मध्य तथा पूर्वी भू–भागका एक–दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार शुक्रबार काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम १७.० डिग्री र अधिकतम् तापक्रम २८.८ डिग्री सेल्सियस रहेको छ । त्यस्तै, सबैभन्दा धेरै दीपायलको अधिकतम् तापक्रम ४१.४ डिग्री सेल्सियस मापन गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७