मुख्य न्यायाधीवक्ताको राजीनामा


२४ जेष्ठ २०७६, शुक्रबार
Suryachandra

काठमाडौं, २४ जेठ । प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलसँगको असमझदारी पश्चात् मुख्य न्यायाधीवक्ता सूर्यचन्द्र न्यौपानेले राजीनामा दिएका छन् ।

नेपाल रेडक्रस सोसाइटी प्रदेश–३ को चुनाव र केन्द्रीय महाधिवेशनमा नेकपाको आधिकारीक उम्मेद्वारलाई सहयोग नगरेको भन्दै मुख्यमन्त्री पौडेल र मुख्यन्यायाधीवक्ताबीच असमझदारी बढेको जनाइएको छ ।

पार्टीको नेतृत्व तहले तत्काल मुख्यन्यायाधीवक्ताबाट राजीनामा नदिएको खण्डमा कार्बाही गर्ने चेतावनी दिएसँगै न्यौपानेले राजीनामा दिएका हुन् । उनले बिहीबार प्रदेश–३ का प्रमुख सचिव आनन्दराज ढकाललाई राजीनामा पत्र बुझाएका हुन् ।

मुख्यमन्त्री उपचारको क्रममा रहेका कारण प्रमुख सचिव समक्ष राजनीनामा बुझाएको उनले बताएका छन् । वरिष्ठ अधिवक्ता न्यौपानेले मुख्यन्यायाधीवक्ताबाट राजीनामा दिएर आफूले मुख्यमन्त्रीलाई काम गर्ने बाटो खोलिदिएको प्रतिक्रिया दिएका छन् ।

कानूनी व्यवस्था अनुसार मुख्यन्यायाधीवक्ताको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गर्नुपर्ने हुन्छ । रेडक्रसले प्रदेश र राष्ट्रिय अविधेशनमा आधिकारीक उम्मेद्वार तोकेको थिएन ।

उनका अनुसार नेकपाका जिल्ला नेताहरुले आफूलाई जिम्मेवारी दिएको भन्दै मनोमानी गर्न थालेपछि आफूले रेडक्रस विपद् र द्वन्द्वमा काम गर्ने संस्था भएको कारण राजनीति गर्न नहुने तर्क गरेपछि विवाद थियो । न्यौपानेले २०७५ साल फागुन २३ गते मुख्यन्यायाधीवक्ताको पदभार ग्रहण गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७