‘हिम्मतवाली’ का हिरो सुदर्शनलाई पक्रिन क्यानेडियन प्रहरीलाई पत्राचार


२४ जेष्ठ २०७६, शुक्रबार
sudarshan

काठमाडौं, २४ जेठ । मानव तस्करी र ठगी आरोप लागेका कलाकार सुदर्शन गौतमलाई प्रकाउ गर्न नेपाल प्रहरीले क्यानेडा प्रहरीसँग समन्वय अगाडि बढाएको छ ।

गएको महिना अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) ले उनलाई प्रक्राउ गर्न रेडकर्नर नोटिस जारी गरेको थियो । तर, उनी हालसम्म पक्राउ पर्न सकेका छैनन् । त्यसैले प्रहरीले पत्राचार नै गरेर सहयोगका लागि क्यानेडियन प्रहरी समक्ष अपिल गरेको हो ।

विगत १० महिनादेखि नेपाल प्रहरीको फरार सूचीमा रहेका सुदर्शनले नेपालबाट थुप्रै युवा–युवतीलाई अवैद्य बाटोबाट अमेरिका पुर्‍याउँदै आएको आरोप लागेको छ । उनले नेपाली फिल्म ‘हिम्मतवाली’ मा नायिका रेखा थापासँग अभिनय गरेका थिए ।

गौतमको गिरोहले दुई वर्षअघि तीन युवतीलाई अमेरिका लैजानै भन्दै हाइटी पुर्‍याएको थियो । त्यहाँबाट सामुद्रिक यात्राको क्रममा सुमित्रा कुँवर कटुवालको मृत्यु भएपछि घटना सार्वजनिक भएको थियो ।

फर्किएका दुई युवतीले घटनाबारे प्रहरीमा जाहेरी दिएका थिए । यसअघि प्रहरीले सो प्रकरणमा संलग्न बाग्लुङका सागर श्रीशसहित ४ जनालाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाइसकेको छ । गौतम टोरन्टो बसोबास गर्छन् । त्यहाँ उनको रेष्टुराँसहितको व्यापार रहेको छ । उनी क्यानेडियन नागरिक भइसकेकाले पक्राउपछि नेपाल ल्याउने सम्भावना भने कम छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७