आँचल फेरि हिस्सै !


२५ जेष्ठ २०७६, शनिबार
Aanchal Sharma 2

काठमाडौं, २५ जेठ । नेपाली फिल्ममा केही अभिनेत्रीको निकै राम्रो डिमाण्ड छ । साम्राज्ञी आरएल शाह, जसिता गुरुङ, पूजा शर्मापछि डिमाण्डेड अभिनेत्रीको लिस्टमा आउने नाम हो– आँचल शर्मा ।

‘नाईं नभन्नू ल ४’ बाट सुखद डेब्यू गरेकी उनले ‘जोनी जेन्टलम्यान’, ‘शत्रु गते’, ‘ब्ल्याक’ र हालसालै प्रदर्शनमा आएको फिल्म ‘दाल भात तरकारी’ गरी पाँच फिल्ममा अभिनय गरिसकेकी छन् । तर, दुर्भाग्य ! उनको अभिनयको प्रशंसा कुनै फिल्मबाट भएन । फिल्म सफल हुँदा पनि श्रेय पाउनबाट उनी बञ्चित भइन् ।

उनले पाँच फिल्ममध्ये तीन अभिनेता पल शाहसँग गरेकी छन्, जसमा दुई फिल्म हिट भए–‘शत्रु गते’ र ‘नाईं नभन्नू ल ४’ । ‘जोनी जेन्टलम्यान’ भने बक्सअफिसमा टाँट पल्टियो । यस्तै, ‘ब्ल्याक’ मा उनले अभिनेता आकाश श्रेष्ठ र ‘दाल भात तरकारी’ मा पुष्प खड्कासँग रोमान्स गरेकी थिइन् ।

‘ब्ल्याक’ ले हलमा पानी भन्न पाएन । ‘दाल भात तरकारी’ ले घरेलु बजारबाट मुश्किलले लगानी उठायो, तर तारिफ बटुलेन । अहिले फिल्मवृतमा आँचललाई पलसँगको सहकार्य नै फापेको चर्चा हुन थालेको छ ।

अभिनयको दमले दर्शक रिझाउन नसकेकी उनी प्रायः चर्चामा भने आइरहेकी हुन्छिन् । कहिले कसैलाई घोच पर्ने गरि अभिव्यक्ति दिएर त कहिले अभिनेता पलसँग नाम जोडिएर, बजारमा उनको चर्चाको कमी हुँदैन ।

विभिन्न कारणले दर्शकको ध्यान आफूतिर तानिरहेकी हुन्छिन्, उनी । प्रायः दैनिक युट्युबमा रिलिज हुने भिडियोले पनि उनलाई राम्रै चर्चा दिलाउने गरेका छन् । तर, एक कलाकारको अभिनयको चर्चा हुनुपर्छ भनिन्छ । आँचलको हकमा भने यो हुन सकेको छैन ।

‘शत्रु गते’ मा काम गरेर पछुताएको अभिव्यक्ति दिएकी उनलाई मल्टिस्टारर फिल्म ‘दाल भात तरकारी’ मा काम गरेर पनि कुनै फाइदा भएन । किनकी उनको अभिनय नै रुचाइएन । फेरि एक पटक आँचल हिस्सै हुनुपर्‍यो ।

यो फिल्म समीक्षकलाई मात्र नभई दर्शकलाई पनि बेस्वादको लागेको थियो । धन्न फिल्मले लगानी भने उठायो । नभए, आँचलको खातामा अर्को फ्लप फिल्मको नाम जोडिन्थ्यो । उनले, अब अभिनय सुधार्न आवश्यक रहेको कतिपयको टिप्पणी छ ।

‘दाल भात तरकारी’ रिलिज अगावै उनले ‘दुई रुपैयाँ’ टिमको नयाँ फिल्म ‘डामाडोल’ साइन गरिसकेकी छन् । यसमा उनले अभिनेता असिफ शाह र निश्चल बस्नेतसँग रोमान्स गर्दै्छिन् । तर, यो फिल्मको छायांकन कहिलेबाट शुरु हुन्छ अत्तोपत्तो छैन ।

यसमा उनी सोलो हिरोइनको रुपमा छिन् । कामना गरौं, यो फिल्मबाट उनी ‘हिस्स बुढी खिस्स दाँत’ हुनुपर्ने छैन । यसका लागि उनले अभिनयमा निखारता ल्याउन पनि जरुरी छ । आत्मरतीमा रमाउने हो भने त बेग्लै कुरा ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७