आइजिपीबाट हटाइएको बदला लिन खरेलले मेरो चरित्र हत्या गर्न खोजे : वामदेव गौतम


२३ आश्विन २०७५, मंगलवार
Bamdev Gautam


प्रश्न, ‘मैले कुन पत्रकार पठाएर २० लाख मागें ?’ 

काठमाडौँ, २२ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक अच्युतकृष्ण खरेलद्वारा प्रकाशित ‘आत्मकथा’मा आफ्नो चरित्र हत्या गर्न खोजिएको बताएका छन् ।

Bamdev Gautam

आफ्नै निवासमा आज पत्रकारसँग कुराकानी गर्दै पूर्वउपप्रधान तथा गृहमन्त्री गौतमले खरेलले प्रकाशन गरेको ‘अच्युतकृष्ण खरेल आत्मकथा’मा आफूलाई इङ्गित गरी एक पत्रकारमार्फत रु २० लाखको आफूले प्रस्ताव पठाउँदा खरेलले अस्वीकार गरेको भन्ने जस्ता झूटा कुरा लेखेर चरित्र हत्या गर्न खोजेको बताए ।

“खरेलको आत्मकथामा मैले कुन पत्रकार पठाएर २० लाख रुपैयाँ प्रस्ताव गरेँ ? २० लाखको प्रस्ताव लिएर आउने त्यो पत्रकार को थियो ? त्यो खरेलले पुष्टि गर्नुपर्दछ”, उनले भने, “आफ्नो आत्मकथामा मेराबारे तथानाम जे पायो त्यही झूटा असत्य कुरा लेखेर चरित्र हत्या गर्न खोज्ने ? ”


नेता गौतमले खरेलले आइजिपीबाट आफूलाई हटाइएको बदला आफ्नो आत्मकथामार्फत सार्वजनिक गरेको जिकिर गरे ।

खरेलले लेखेका कुरामा कुनै सत्यता नभएको उल्लेख गर्दै नेता गौतमले स्थानीय निर्वाचन गर्न नसक्ने भएपछि पार्टीको निर्देशनमा खरेललाई प्रहरी प्रमुखबाट हटाइएको स्पष्ट पारे । “मलाई खरेललाई हटाउने चाहना थिएन । म गृहमन्त्री भइसकेपछि तत्कालीन पार्टी अध्यक्ष मनमोहन अधिकारी र महासचिव माधव नेपालले पहिलो काम स्थानीय निर्वाचन गर्नुपर्दछ भन्नुभएको थियो”, उनले भने, “तर खरेलबाट स्थानीय निर्वाचन हुने सम्भव देखिएन । अनि बाध्य भएर पार्टीकै निर्देशनमा तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सहमतिमा खरेललाई हटाएको हुँ ।” खरेललाई नहटाएको भए स्थानीय तहको निर्वाचन हुनै नसक्ने उनको जिकिर छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७