दस लाख घुस प्रकरणमा एसपी पनि तानिंदै


२८ जेष्ठ २०७६, मंगलवार
Nepal police

नवलपुर, २८ जेठ । इलाका प्रहरी कार्यालय नवलपुर, गैंडाकोटका प्रहरी निरीक्षक लोकबहादुर जीसी १० लाख रुपैयाँ घुस रकमसहित पक्राउ परिसकेपछि उनको बयानका आधारमा एसपी रमेश थापा पनि छानबिनमा तानिने भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जीसीलाई १० लाख घुससहित २०७६ जेठ २२ मा पक्राउ गरेको थियो । गएको वैशाख ११ गते गैंडाकोटमा भएको सवारी दुर्घटनामा नक्कली चालक खडा गरी घुस लिएको अभियोगमा उनलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।

नवलपुरका व्यवसायी बोदराज पाण्डेले चलाएको गाडीको ठक्करबाट मोटरसाइकलमा सवार व्यक्तिको मृत्यु भएपछि उपचारका लागि काठमाडौंमा ल्याइएको थियो । दुर्घटनामा परेका ब्यक्तिको उपचारका क्रममा मृत्यु भएपछि पीडितका तर्फबाट काठमाडौंको महराजगंज प्रहरी बृत्तमा जाहेरी दर्ता गरिएको थियो ।

महाराजगंजमा जाहेरी दर्ता भइसकेको अवस्थामा किसनु महतोलाई चालकका रुपमा खडा गरी परासीमा अर्को जाहेरी दर्ता गरी प्रहरीमा सेटिङ गरी मिलाउन लामो समयदेखि प्रयास भइरहेको थियो । यसै क्रममा घुससहित इन्स्पेक्टर जीसी पक्राउ परेका थिए । इन्स्पेक्टर जीसीले एसपी थापाको निर्देशनमा आफूले त्यस्तो गरेको बयान दिएपछि अख्तियारले उनलाई पनि छानबिनका लागि बोलाएको समाचार छ । एसपी थापाकै दबाबमा नक्कली चालक खडा गरेको बयान दिएका छन् । एसपी थापा  प्रहरी प्रधान कार्यालयमा सरुवा भइसकेका छन् । घुस प्रकरणमा सरकारी वकिलसमेतको मिलेमतो भए पनि जीसी फन्दामा परेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७